२२ माघ २०७९, आईतवार 1675581963
समाचार

जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि त्रास

सिन्धुली- कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । रातका समयमा तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बस्नुपरेको थियो । कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जङ्गली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरिएको बताए।

ती हात्ती राति १० बजे कमलामाई– ९ काउछे, अमाहा हुँदै कमलामाई –१० तर्फ लागेको जनाइएकोे । सो क्षेत्रमा हरेक वर्षको हिउँद महिनामा जङ्गली हात्ती देखा पर्ने गरेका छन् । तर यस वर्ष चाँडै नै हात्ती गाउँमा प्रवेश गरेको उनको भनाइ छ ।

यसअघि पनि जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरी घर भत्काउने, अन्नपात खाने, नष्ट गर्ने गरेको जनाउँदै हात्ती देखिए प्रहरीलाई खबर गर्न र संयमित रही सुरक्षित भएर बस्न नगर उपप्रमुख देवकोटाले आग्रह गरे।

राति जङ्गली हात्ती निस्किएको र भर्खरै थाहा भएकाले त्यस क्षेत्रमा बुझ्न प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मानवीय क्षति नभएको र अन्य क्षतिको अवस्था भने प्रहरी पुगेपछि मात्र भन्न सकिने कार्यालयले जनाएको छ ।