७ बैशाख २०८१, शुक्रबार 1713513835
विश्व

ट्विट गरेको आरोपमा साउदीमा एक महिलालाई चौतीस वर्षको जेल सजाय

ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधीका विद्यार्थीलाई चौँतीस वर्षको जेल सजाय सुनाएको छ । बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो ।

साउदी अदालतको यो निर्णयबाट विश्वसमुदाय स्तब्ध भएको छ भने त्यसको विश्वव्यापीरूपमा निन्दा भएको छ । वासिङटनस्थित मानवअधिकार समूह फ्रिडम इनिसिएटिभका अनुसार बिदामा स्वदेशमा रहेकी उनलाई बेलायत फर्कने तयारीमा रहेका बेला गत वर्षको जनवरी १५ मा हिरासतमा राखेर साउदी प्रशासनले कारबाही थालेको थियो । एसोसिएटेड प्रेसले प्राप्त गरेको कानुनी कागजातहरूले उनको मुद्दा अदालतमा पठाउनु अघि अल–शेहाबले न्यायाधीशहरूलाई दुई सय ८५ दिन भन्दा बढी एकान्त कारावासमा राखिएको बताएकी थिइन् । फ्रिडम इनिसिएटिभले अल–शेहाबलाई साउदी अरबको शिया मुस्लिम अल्पसङ्ख्यकको सदस्यको रूपमा वर्णन गरेको छ जसले लामो समयदेखि सुन्नी–शासित राज्यमा व्यवस्थितरूपमा भेदभाव गरेको गुनासो गरेको छ । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले अल–शेहाबको मुद्दालाई ‘घोर अनुचित’ र उनलाई सुनाइएको सजाय ‘क्रुर एवम् गैरकानूनी’ भएको भन्दै आलोचना गरेको छ । न्यायाधीशहरूले अल–शेहाबलाई ‘सार्वजनिक व्यवस्थामा गडबडी’ र ‘सामाजिक संरचनालाई अस्थिर’ गरेको आरोप लगाएका छन् भने आधिकारिक आरोपपत्रमा पनि सामाजिक सञ्जाललमा पोष्ट गरिएका उनका विषयवस्तुले झूटा अफवाह सम्प्रेषण गरेको दाबी गरिएको छ । उनले असन्तुष्ट व्यक्तिका खातालाई फलो र रिट्विट गरेको आरोप लगाइएको छ ।

दुई हजारभन्दा बढी फलोअर नभएको व्यक्तिगत खाताबाट जिज्ञासावस आफूले ट्विट र रिट्विट गर्नु र उनीहरूका दृष्टिकोढा नियाल्नु आतङ्वाद हो भन्ने आफूलाई नलागेको अपीलका क्रममा न्यायाधीशसमक्ष अल–शेहाबले बताएकी छन् । विशेष फौजदारी अदालतले उनलाई प्रतिआतङ्कवाद र साइबर अपराध कानुनअन्तर्गत ३४ वर्षको यात्रा प्रतिबन्धसहित ३४ वर्षको असाधारण कठोर सजाय सुनाएपछि उनले आफ्नो बचाउमा उक्त दलील पेश गरेकी हुन् । रासस