१३ बैशाख २०८१, बिहीबार 1714109698
पर्यटन

५० लाखले गरे पनौतीको बाह्रवर्षे मकर–स्नान र अवलोकन

काभ्रेपलाञ्चोक,- ऐतिहासिक, धार्मिक–साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीको बाह्रवर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरेका छन् । मकर सङ्क्रन्तिबाट सुरु भएको मेलाको मकर–स्नान तथा अवलोकन शनिबारसम्म एक महिना चलेको थियो ।

मेला समापनका दिन शनिबार राजधानी काठमाडौँको पूर्वतर्फ अर्थात् अरनिको राजमार्ग तथा बनेपा–पनौती सडकमा ‘ट्राफिक’ व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे नै परेको थियो । बिहानैदेखि सडक जाम हुँदा बनेपादेखि पनौतीसम्मको छ किलोमिटर सडकमा सवारी निषेधसमेत गरिएको थियो ।

काठमाडौँबाट पनौतीसँग जोडिएका अन्य वैकल्पिक सडकसमेत दिनभरजसो जाम नै थिए । मेला सुरुवातको हप्ता कोरोना सङ्क्रमणको जोखिमका कारण मकर–स्नान मात्र गर्न दिइएको थियो । त्यसयता कोरोना सङ्क्रमण मत्थर हुँदै जाँदा पनौती नगरपालिका– ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाटमा भक्तजनको भीड लाग्दै गएको थियो ।

शनिबारसम्म करिब ५० लाख भक्तजनले मकर–स्नान तथा अवलोकन गरेको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ । समितिका सचिवालय संयोजक ईन्द्रप्रसाद अधिकारीले एक महिनाको अवधिमा ५० लाख दर्शनार्थीले मेला अवधिभर पनौतीको अवलोकन, मठ–मन्दिरको दर्शन तथा स्नान गरेको जानकारी दिनुभयो ।