१२ बैशाख २०८१, बुधबार 1713976940
अर्थ

नेपालले भारतलाई दियो दुई ठूला जलविद्युत आयोजना, देउवाकै उपस्थितिमा सम्झौता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपालका २ ठूला जलविद्युत आयोजन श्वेतपत्र जारी गरेर भारतलाई दिएको छ । लगानी बोर्डको निर्णयानुसार बिहिबार साँझ उक्त सम्झौतामा हस्ताक्षर भएको छ ।

इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना र इन्डिकेटिभ जडित क्षमता ४५० मेगावाटको सेती नदी– ६ जलविद्युत परियोजना निर्माणको जिम्मा भारतको कम्पनी एनएचपीसीलाई दिने लगानी बोर्डको ५१औं बैठकले निर्णय गरेको थियो । सो निर्णय अनुसार नै सम्झौता भएको हो । मन्त्रिपरिषदबाट स्वीकृति लिएर बोर्डले सम्झौता गर्न लागेको हो । बोर्डका सीईओ सुशील भट्टको संयोजकत्वमा अध्ययन समिति बनेको र त्यही समितिको प्रतिवेदनअनुसार बिहीबार सम्झौता भएको हो ।

समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्ट र एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका हुन् ।

सम्भौता कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले चाडैनै काम सुरु गर्नु पर्ने बताए । उनले भने, ‘ एनएचपीसीसँग भएको सम्झौताले देशलाई नै राम्रो गर्ने छ । अझ सूदुरपश्चिकमा प्रभावितले धेरै फाइदा पाउने छन् । आयोजन निर्माणका लागि सरकारले के गर्न पर्छ । त्यो गर्न नेपाल सरकार तयार रहेको छ ।’

एनएचपीसी लिमिटेड भारतीय ऊर्जा मन्त्रालयको स्वामित्वमा रहेको जलविद्युत बोर्ड हो । जुन सन् १९७५ मा स्थापना भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाबारे सम्झौताको तयारी थियो । तर, तयारी पूरा नभएको भन्दै सम्झौता पछि सरेको थियो । सम्झौता कार्यक्रममा अर्थमन्त्री, उर्जा मन्त्री र उद्योग मन्त्रीको समेत उपस्थिती रहेको थियो ।