१३ बैशाख २०८१, बिहीबार 1714100345
समाज

न्याय सेवा आयोगको बैठक स्थगित

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशनका सम्बन्धमा बोलाउनुभएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । 

आयोगको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहनुभएको हुनाले बैठक स्थगित भएको हो । उहाँ आयोगमा सदस्य हुनुहुन्छ ।   

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा लोक सेवा आयोगका अध्यक्ष उपत्यका बाहिर रहनुभएको र बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गर्नुपरेको उल्लेख छ ।

उक्त आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानुनी व्यवस्था छ ।

आयोगले २०७८ साउन १९ गते आन्तरिक, महिला, खुला, आदिवासी जनजाति र मधेसी गरी १८ जिल्ला न्यायाधीशको विज्ञापन गरेको थियो । 

लोकसेवा आयोगले लिएको उक्त परीक्षाको लिखित परिणामपछि मौखिक अन्तर्वार्तासमेत लिनुपर्ने भएकाले परिषद्को बैठक बोलाइएको थियो ।