११ बैशाख २०८१, मंगलवार 1713916355
समाचार

नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त सैन्य अभ्यास हुने

काठमाडौँ– नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने भएको छ ।

दुई देशका सेनाबीच ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम सञ्चालन हुन लागेको हो । तालिम ३१ भदौसम्म छाउनी र नगरकोटलगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास हुन लागेकाे हाे । तालिममा नेपाली सेना ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तालिमका लागि अमेरिकी सेनाको टुकडी आवश्यक सामग्रीसहित सोमबार नेपाल आइपुगेको छ । नेपाली सेनाका अनुसार तलिम सशस्त्र द्वन्द्वको कानुन, सैन्य निर्णय निर्माण प्रक्रियालगायत विषयमा केन्द्रित हुनेछ ।

अमेरिकी सेनाको विशेष फौजसँग माओवादी द्वन्द्वकालदेखि नै नेपाली सेनाले सहकार्य गरे पनि संयुक्त सैनिक अभ्यासका रुपमा सन् २०१५ देखि ‘ब्यालेन्स नेल’ र ‘टेकनेल’ लाई अघि बढाएको हो ।