११ बैशाख २०८१, मंगलवार 1713920869
खेलकुद

आर्मीको विजयी सुरुआत

विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आज विजयी सुरुआत गरेको छ । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयल सेन्ट्रल स्पोर्टस क्लबलाई ९१–६३ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

आर्मीका आयुश सिंहले ३५ अङ्क जोडे । नखिपोटस्थित आयोजककै कभर्डहलमा भएको प्रतियोगिताको पुरुषतर्फ कै विधामा शङ्करदेव क्याम्पसले आयोजक नखिपोट ‘बी’ टोलीलाई ६२–५५ ले हरायो । प्रतियोगिताको पुरुषमा १२ टिम सहभागी छन् । सहभागीलाई विभिन्न चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । महिलामा चार टोलीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेले रु ५० हजार प्राप्त गर्नेछन भने दोस्रो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी महिलामा शीर्ष दुई स्थान हात पार्नेले क्रमश ः रु ३० हजार र १५ हजार पुरस्कार पाउने छन् । फाइनल खेल आगामी भदौ ७ गते हुनेछ ।