४ बैशाख २०८१, मंगलवार 1713264301
पालिका

नगरका सेवा घरदैलोमा

बागलुङ नगरपालिकाले आइतबारदेखि सुरु गरेको ‘सेवा प्रवाह घुम्ती शिविर’ बाट ग्रामीण भेगका नागरिकले लाभ उठाएका छन् । पहिलो चरणअन्तर्गत वडा नं. ११ रायडाँडामा सञ्चालित शिविरमा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, माटो परीक्षणलगायत सेवा प्रदान गरिएको थियो । शिविरमा रु १० लाखभन्दा माथिका तीन र १० लाख मुनिका पाँच योजना सम्झौता गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । शिविरमा सञ्चालित निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवाबाट एक सय ४० लाभान्वित भएका छन् । जसमध्ये ४३ महिलाको पाठेघर जाँच र उपचार गरिएको जनाइएको छ ।

१७ महिलाले यौनजन्य रोगको उपचार र चारले परिवार नियोजनको सेवा पाएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य शिविरबाट अधिकांश उच्च रक्तचाप र हाडजोर्नीका बिरामीले लाभ लिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक डिल्लीप्रसाद आचार्यले जानकारी दिनुभयो । २८ जनालाई अपाङ्गता परिचपत्र वितरण गरिएको छ । जसमा ‘क’ वर्गका पाँच, ‘ख’ वर्गका १५, ‘ग’ वर्गका छ र ‘घ’ वर्गका दुई छन् । शिविरकै अवसरमा कृषि प्राविधिकले किसानको खेतबारीमै पुगेर माटोको गुणस्तर परीक्षण गरेका थिए । छ स्थानको माटाको प्राररम्भिक नमूना परीक्षण गरिएको नगरका कृषि शाखा प्रमुख राहुले केसीले बताउनुभयो । उहाँका अनुसार परीक्षणका क्रममा दोमोट प्रकारको माटो पाइएको छ । “केही ठाउँको माटोमा त रासायनिक मल नै प्रयोग नभएको पाइयो, यहाँको माटो गुणस्तरीय छ”, उहाँले भन्नुभयो । शिविरमा उपभोक्ता समिति र सर्वसाधारणलाई वित्तीय सारक्षरता अनुशिक्षण दिइएको थियो ।

नगरबाट प्रवाह हुने सेवालाई घरदैलोमा पु¥याउने उद्देश्यले घुम्ती शिविरको अभियान थालिएको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । पहिलो चरणअन्तर्गत सोमबार वडा नं. १० भकुण्डेमा शिविर सञ्चालन गरिने भएको छ । दोस्रो चरणको शिविर भदौ ८ गते वडा नं. १२ अमलाचौरबाट सुरु हुने नगरपालिकाले जनाएको छ । शिविरमा झण्डै ८० प्रतिशत योजना तथा कार्यक्रम सम्झौता गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो । वडा तहमै योजना सम्झौता गर्दा उपभोक्तालाई नगरपालिका धाउनुपर्ने बाध्यता हट्ने उहाँको भनाइ छ ।