६ बैशाख २०८१, बिहीबार 1713461277
कला/साहित्य

खुसीको फड्को’ कथा सङ्ग्रह लोकार्पित

काठमाडौँ । कथाकार सरिता अर्यालको तेस्रो कथाकृति ‘खुसीको फड्को’ को आज लोकार्पण भएको छ । नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ, प्राज्ञ माया ठकुरीलगायतले कृति लोकार्पण गर्नुभएको हो । यसअघि सो कृतिको हवाइ यात्रामा विमोचन भएकामा आज गृह लोकार्पण र विमर्श आयोजना गरिएको हो । उपकुलपति डा गुरुङले सामाजिक परिवेशमा परिस्थितिमा निकै परिवर्तन आइसकेको र नारी जागरण तथा सशक्तिकरणको चरणका सन्दर्भमा ‘खुसीको फड्को’ सामयिक रहेको टिप्पणी गर्नुभयो ।

प्रज्ञा प्रतिष्ठानका आख्यान विभाग प्रमुख ठकुरीले पात्रहरुलाई अगाडि ल्याएर यथार्थमूलकरुपमा अर्यालले कथा लेखन गरेको बताउनुभयो । समीक्षक डा रजनी ढकालले ‘स्त्रीको चरित्र पुरुषको भाग्यमा छ’ भन्ने जस्ता पितृसत्तात्मक सोच र आडम्बरलाई अहिलेका कथा लेखनले त्याग्न सक्नुपर्ने बताउनुभयो । शिक्षाविद् रामप्रसाद दाहालले अर्यालका कथाले पाठकलाई आकर्षित गर्न सकेको जनाउनुभयो । समाजका अध्यक्ष विधान आचार्यले अर्यालको कथामा तराई, मधेस, पहाडका सामाजिक परिवेश र वैदेशिक रोजगारीका पीडा पनि अभिव्यक्त भएको बताउनुभयो । सुनसरीको रुनरुवामा जन्मिएर साहित्य, पत्रकारिता र शिक्षा सेवामा संलग्न अर्यालको यसअघि ‘फर्केर हेर्दा’—२०६८, ‘पुरुष’—२०७२ कथाकृति र ‘मेरो अपहरण’—२०७६ संस्मरण प्रकाशित छ । ‘मेरो अपहरण’ ले उक्त वर्षको उत्तम शान्ति पुरस्कारसमेत प्राप्त गरेको थियो । (रासस)