२०७९ आश्विन १६ आईतवार 1664773201
Banner

प्रचण्डको द्वैध चरित्र र उपयोगितावादमा रूमल्लिएको राजनीति

नेपालको राजनीतिमा पछिल्लो समय अर्थात २०६२/६३ को जनआन्दोलनपछि प्रचण्डको उपयोगितावाद र द्वैध चरित्रले राजनैतिक तथा संवैधानिक अस्थिरता चाहने पक्षहरूको स्वार्थलाई बलियो बनाउने काम गरेको छ। साझा चुनावी घोषणापत्र देखाएर नेपाली कांग्रेसका विरूद्ध चुनाव जित्ने अनि त्यहि जनमतलाई खण्डित गरेर नेपाली कांग्रेसकै नेतृत्वमा कम्फर्टेबल सरकार बनाउने कामको नेतृत्व प्रचण्डले नै गरे। जसका कारणले केन्द्र र प्रदेशमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो। यो प्रचण्डको राजनीतिक बेईमानी थियो। प्रचण्डलाई यो खालको बेईमानी गर्न माधव नेपाल र झलनाथ खनालहरूले ढाडस दिएका थिए।

माधव, झलनाथ र प्रचण्ड (माझण्ड) हरूले केपी ओलीको बढ्दो प्रतिष्ठामा आफ्नो प्रगति देख्न नसकेर शेरबहादुर देउवाको दौराको फेर समातेर राजनीति गर्न नेकपा हुँदै नेकपा एमालेमा विभाजन गराए। त्यसैले त उनीहरू तिनवटै चुनावमा गठबन्धन बनाएर जान्छौं भन्दैछन्। तर नेपाली कांग्रेसभित्र चुनावी गठबन्धन बनाउनु हुँदैन भनेर शेखर कोइरालाले औपचारिक रूपमा पार्टीमा प्रस्ताव राखेका छन्। तैपनि माझण्डहरू चुनावी गठबन्धनको नारा लगाउँदैछन्।

अहिले एमसीसीलाई संशोधनसहित अनुमोदन गर्ने कि जस्ताको तस्तै भन्ने विवादमा कम्फर्टेबल गठबन्धनभित्र विवाद बढेको छ। प्रम देउवा छिटो अनुमोदन गरौं भन्दैछन् भने माझण्डहरू संशोधन गर्नैपर्छ भनेर सार्वजनिक रूपमा बोल्दैछन्। तर यसबीच एमसीसीलाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा प्रम शेरबहादुर देउवा र पुष्पकमल दाहाल (प्रचण्ड) ले पठाएको संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक भएपछि एमसीसीका बारेमा माझण्डहरूको खासगरी प्रचण्डको द्वैध चरित्र उदांगो भएको छ। हुनत त्यस्तो खालको पत्र लेख्न माधव नेपालको पनि अनौपचारिक सहमति थियो नै।

“जब सत्यको मुख बन्द हुन्छ तब झुठो थुतुनो चल्न थाल्छ। (विपी कोइराला) विपी कोईरालाले भने जस्तै अहिले एमसीसीका बारेमा सत्यको मुख बन्द भएको अनि प्रचण्डको झुठो थुतुनो चलेको छ। त्यसले वामपन्थी र देशभक्त जनमत भ्रमित हुन पुगेको छ।

तर प्रम देउवा र प्रचण्डले पठाएको संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक भएपछि नेता तथा कार्यकर्ता र जनस्तरबाट अहिले प्रचण्डमाथि नै प्रश्न गर्न थालिएको छ। प्रचण्ड एण्ड कम्पनी विषयान्तर गरेर एमसीसीका सम्बन्धमा फेरि अर्को भ्रम छर्ने प्रयासमा देखिएका छन्। एमसीसी र केपी ओलीलाई लिएर प्रचण्डको सचिवालयले जारी गरेको पछिल्लो विज्ञप्ती त्यसको प्रमाण हो।

यदि माझण्डहरू राजनीतिक रूपमा इमानदार हुने थिएभने यतिखेर एमसीसी ठीक कि बेठीक, चाहिन्छ वा चाहिंदैन्, संशोधन गर्ने कि नगर्ने भनेर व्यर्थको बहस गर्दैनथे। बरू नीतिगत त्रुटी सच्याउने पैरवी गर्थे, तर त्यसो गरेनन् किनभने उनीहरूलाई राष्ट्रिय स्वार्थको कुनै मतलब छैन। व्यक्तिगत लाभहानी हेरेर एमसीसीलाई राजनीतिक मुद्दा बनाएर चुनावमा जान खोज्दैछन्। त्यसैले त माझण्डहरू तिनै तहको चुनावसम्मलाई एमसीसी त्यत्तिकै थाती राखौं भन्दै त्यहिबमोजिम आफ्ना कार्यकर्ताहरूलाई सडकमा नारा लगाउन प्रेरित गर्दैछन्।

अहिले प्रचण्डको द्वैध चरित्र र उपयोगितावाद नांगो भएको छ। “हिजो अन्तरविरोधहरूमा खेल्दाखेल्दै नेता भएका थिए, प्रचण्ड। आफ्नो पार्टीभित्रको अन्तरविरोधहरूमा खेलेर तिसौं वर्षसम्म पार्टीको सुप्रिमो बनिरहे, अन्य पार्टीहरूबीचको अन्तरविरोधमा खेलेर आफूलाई किङमेकरको भूमिका निर्वाह गर्दैछन्। अहिले एमसीसीमा विवाद सिर्जना गरेर अमेरिका र चीनबीचको अन्तरविरोधमा खेलेर भारतको स्वार्थ पूरा गर्न खोज्दा एकाएक नराम्ररी पछारिए।” तैपनि देशको आन्तरिक राजनीति अस्थिर बनाउन प्रचण्डले कम्फर्टेबल सत्ता गठबन्धनको उपयोग गर्न खोजिरहेका छन्। जसलाई प्रम देउवाको मौनता र माधव नेपालको कुण्ठाले साथ दिइरहेको छ। त्यसैले त आज देशमा यस्ता खलपात्रहरूको व्यापक भण्डाफोर अनिवार्य भएको छ।