१३ बैशाख २०८१, बिहीबार 1714104650
Banner

डायलायसिस मेसिन आयो, जडान भएन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन् । साउन १३ गते डायलायसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन ।

जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलायसिस प्रमुख लीना बडेलले बताउनुभयो । मेसिन आएपनि अन्य सामग्री नआएको उहाँले बताउनुभयो । रगत सफा गर्ने उपकरण आउनुपर्ने उहाँको भनाइ थियो । “मेसिन त आए, तर अन्य सामग्री आउनुपर्छ”, उहाँले भन्नुभयो, “प्राविधिक आउनुपर्छ, प्राविधिक नआउँदासम्म जडानको काम अघि बढ्दैन ।” अहिले राप्ती प्रादेशिक अस्पतालमा पाँच डायलायसिस मेसिन छन् जसबाट २३ जनाले सेवा लिइरहेका छन् । थप आठ मेसिन जडान भएमा ६० जनासम्म बिरामीले सेवा पाउने उहाँले बताउनुभयो । त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच मेसिन छन् ।

पाँच मेसिनबाट अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेसिन थपिएसँगै यस क्षेत्रका धेरै बिरामीले सेवा पाउने सूचना अधिकारी निशानदाजु भट्टराईले बताउनुभयो । उहाँका अनुसार अहिले दुई चरणमा मात्रै सेवा दिने गरिएको छ । अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ । अहिले करिब ४० बिरामी उपचारको प्रतिक्षामा छन् । उनीहरुलाई पनि सेवा दिन सकिन्छ । लमही रोटरी क्लबको पहलमा डायलायसिस सेन्टर सञ्चालनमा छ । त्यहाँ अहिले ३० बिरामीले सेवा लिइरहेका छन् । रासस