८ बैशाख २०८१, शनिबार 1713614172
Banner

आजदेखि जनकपुर–जयनगर रेल चल्ने

जनकपुरधाम– आजबाट बिनायात्रु जनकपुर–जयनगर रेल चल्ने भएको छ ।

उद्घाटन नभएसम्म ‘ड्राई रन’ अर्थात् खाली रेल सञ्चालनमा ल्याउन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो । उहाँले फागुन १० गतेभित्र उद्घाटनको तयारी गरेको पनि बताउनुभयो । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेलको उद्घाटन गर्ने अहिलेसम्मको कुरा छ ।

रेल अब नियमित चल्ने र यसका लागि ट्रयाकनजिक रहेका हाट बजारहरूसमेत खालि गराइसकेको उहाँले बताउनुभयो। आइतबारदेखि नियमित रूपमा दैनिक एक पटक जनकपुरधामको मुख्य स्टेशन कुर्था जयनगरसम्म रेल ओहोरदोहोर गर्नेछ । रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारीका लागि भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जीटूजी सम्झौता भएको पनि महाप्रबन्धक झाले बताउनुभयो । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ कर्मचारी भर्ना गरी तालिमसमेत दिई सकिएको उहाँले बताउनुभयो।

नेपाल सरकारले दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको ईनर्वा स्टेशनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो । कम्पनीले कुर्थादेखि जयनगरसम्मको जेनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगरसम्म ५ स्टेशन र ३ वटा हल्ट रहेका छन् । रेल्वेको टिकट स्टेशन र हल्ट दुवै स्थानमा उपलब्ध हुनेसमेत महाप्रबन्धक झाले बताए ।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँको सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको हो ।