८ बैशाख २०८१, शनिबार 1713614071
Banner

आमनिर्वाचनलाई निष्पक्ष, भयरहित, विश्वसनीय र मितव्ययी बनाइनेछ– प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट आमनिर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आयोगद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन, २०७९ निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्नेक्रममा आयोगले निर्वाचनका क्रममा यसअघि प्राप्त रायसुझाव, प्रतिक्रिया र असल अभ्यासलाई समेटेर ऐतिहासिकरूपमा निर्वाचन सफल बनाउने दृढता व्यक्त गरेको हो ।

आयोगले गत स्थानीय तहको निर्वाचनमा दुर्गम गाउँबस्तीका अशिक्षित जनताको तुलनामा सहरी क्षेत्रका शिक्षित जनताबाट मतदान कम भएकामा चिन्ता व्यक्त गर्दै त्यसतर्फ  जिम्मेवार आमसञ्चार माध्यमको ध्यान जानुपर्नेमा जोड दिएको छ ।

 प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समयावधि कम भएकाले गत स्थानीय तहको निर्वाचनमा सोचेजति काम गर्न नसकिएको स्पष्ट गर्दै यसअघिका राम्रा पक्षलाई समेत समेटेर आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सरल, सहज र मितव्ययी ढङ्गबाट सम्पन्न गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनको सर्वमान्य सिद्धान्त अवलम्बन गरी सबैलाई समान व्यवहार गर्ने गरी कामकारवाही हुनेछ, बढीभन्दा बढी जनताको सहभागितमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध आयोगले सम्बद्ध सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छ ।”

 प्रमुख निर्वाचन आयुक्त थपलियाले आमसञ्चार माध्यमसहित राज्यका जिम्मेवार सबै निकायसँग साझेदारी र सहकार्य गरी आसन्न आमनिर्वाचन सम्पन्न गर्ने पक्षमा आयोग रहेको स्पष्ट गर्नुभयो । निर्वाचन प्रचारप्रसारका क्रममा राज्यद्वारा सञ्चालित आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले आफ्नो स्रोतसाधनको अधिकतम सदुपयोग गरी निर्वाचन प्रक्रियामा सरिक हुन सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो ।