१३ बैशाख २०८१, बिहीबार 1714072495
Banner

बञ्चरेडाँडामा फोहोर फाल्न गएको गाडीमाथि तोडफोड (तस्बिरहरू)

काठमाडौ – काठमाडौंको फोहोर बोकेर ल्याण्डफिल क्षेत्र बञ्चरे डाँडा गएका गाडीहरूमा सोमबार राति तोडफोड गरिएको छ । धादिङ र नुवाकोटको सीमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपरमा सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात समूहले फुटाई दिएको महानगरपालिकाका इन्जिनियर सरकारदिप श्रेष्ठले जानकारी दिएका छन् । नुवाकोट र धादिङको सीमाना नजिकैको कोल्पुखोला अगाडि पार्किङ गरिएका ती सवारी राति ८ बजे ५० मिनेटमा तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोड भएका सवारी साधानहरु फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन् ।

सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बञ्चरेडाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो । राति अबेर भएपछि फोहोर बोकेका टिपर सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै रहेको क्षेत्रमा पार्किङ गरेर राखिएका थिए । तोडफोड भएपछि घट्नास्थलमा प्रहरी मध्यरात १२ बजे पुगेको थियो ।

यसैबीच टिपर चालकहरूले सिसडोलमा मंगलबार बिहान नाराबाजी गरेका छन् । सशस्त्र प्रहरी पोस्ट नजिकै पार्किङ गरेर राखिएको गाडीलाई समेत सुरक्षा दिन नसकेको भन्दै उनीहरुले केही बेर नाराबाजी गरेका थिए । काठमाडौं महानगरले सिसडोलको सडक मर्मत गरेपछि फोहोर विसर्जन सहज हुने अनुमान थियो ।

नुवाकोट र धादिङका स्थानीयले फोहोर बोकेको गाडीबाट धेरै धुलो उड्यो भन्दै गाडी आवातजावतमा रोक लगाउन खोजेका थिए । उनीहरुले ढुवानीमा अवरोध गर्न खोजेपछि सोमबार काठमाडौंबाटै प्रहरी झिकाएर फोहोर विसर्जन गराइएको थियो । महानगरपालिकाका इन्जिनियर श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको बताए ।