१२ बैशाख २०८१, बुधबार 1714018170
समाचार

नयाँ प्रजातिको छेपारो भेटियो

नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो । 

यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगैै नेपालमा अब छेपारो प्रजातिको सङ्ख्या ४१ पुगेको छ । परिवार पनि थपिएको छ । 

संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो । “यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवारसमेत छ बाट सात पुगेको छ”, नेपाल कन्जरभेसन एण्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भन्नुभयो । 

उहाँ हाल फेडेरेशन विश्वविद्यालय अष्ट्रेलियामा नेपालका उभयचर र सरीसृप प्रजातिबारे विद्यावारिधिसमेत गर्दै हुनुहुन्छ । यसका बारेमा खास अध्ययन नभएकाले अबका दिनमा यसका गतिविधिसहित सबै आयामबारे अध्ययन गरिने पनि उहाँले बताउनुभयो ।

विश्वमा ‘ट्याकीड्रोमस’ छेपारोको २४ प्रजाति फेला परेको छ । नेपालमा भेटिएको ‘सिक्किम छेपारो’ भने नेपाल र भारतको सिक्किममा मात्र पाइन्छ । त्यसैले यसको नाम सिक्किम छेपारो भनिएको हो । यो संसारमा सबैभन्दा पहिले सन् १८८८ मा सिक्किममा फेला परेको थियो । त्यसैले यसको नाम ‘सिक्किमेन्सिस’ भनेर नामकरण गरिएको यो छेपारो प्रजाति, दोस्रोपटक एक सय २१ वर्षपछि सन् २००९ मा सिक्किममै फेला परेको थियो ।

जैविक विविधता अनुसन्धानका क्रममा सुरुमा मोरङको मिक्लाजुङ क्षेत्रको जङ्गलमा पाइएको यो छेपारो पछिल्लो समयमा पाँचथर र इलामको चुलाचुली क्षेत्रमा समेत फेला परेको जैविक विविधता अनुसन्धान तथा संरक्षण समाजका अनुसन्धानकर्ता विवेक गौतमले जानकारी दिनुभयो । नियमित पानी छेपारोको अनुसन्धान गर्ने क्रममा त्यही आसपासको भू–भाग हेरौँ भनेर लाग्दा आफूले नयाँ छेपारो फेला पारेको उहाँले बताउनुभयो ।

“सुरुमा अलि लामो पुच्छर भएको छेपारो देख्यौँ, त्यो बेला समाउन सकेनौँ, फोटोबाट हेर्न गाह्रो हुन्छ, त्यस दिन बसेर खोज्यौँ, अर्को दिनचाहिँ फेरि फेला पा¥यौँ र नापजाँच ग¥यौँ”, गौतमले रासससँग अनुभव सुनाउँदै भन्नुभयो, “अध्येता सन्तोष सर ९सन्तोष भट्टराई०लाई जानकारी गराएँ, हामीले त्यसको एक हप्तामै अड्कलचाहिँ काटिसकेका थियौँ, अहिले जर्नलमै आयो, फेमिली नै नयाँ, प्रजाति नै नयाँ फेला पारी संरक्षणमा योगदान दिन पाइयो, खुसी छौँ ।” 

यसको शरीरको माथिल्लो भागको रङ खैरो तथा चिउँडो र छातीको भाग हल्का हरियो–पहेँलो रङ हुने यो छेपारो करिब चार सेन्टिमिटर लामो तथा पुच्छर शरीरभन्दा तीन गुणा बढी लामो हुन्छ । यो प्रजाति कटुस, चिलाउने र उत्तिस मिश्रित जङ्गलमा भेटिएको थियो । नेपालमा सन् २०२१ को सेप्टेम्बरमा फेला परेको उक्त छेपारोबारे युरोपियन जर्नल ‘हेर्पेटोजोआ’मा सोमबार प्रकाशित भएको छ । 

चुरे क्षेत्रका अनुसन्धानकर्मीहरूको नजरमा समेत ओझेलमा परेको क्षेत्र भएकाले सघन र नियमित अनुसन्धान गर्ने हो भने थुप्रै नयाँ प्रजाति भेटिने सम्भावना रहेको भट्टराईले बताउनुभयो । उहाँका अनुसार यसअघि विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनमा समेत विभिन्न नयाँ प्रजाति भेटिएको थियो ।