१९ माघ २०७९, बिहीबार 1675326792
Banner

खुला स्थान हरण : मानव जीवन मरण

क्र्सवादी दार्शनिक तथा समाजशास्त्री फ्रान्सेली नागरिक हेनरी लिफेब (सन् १९०१–१९९१) ले माक्र्सवादको व्यावहारिक व्याख्या गर्ने सन्दर्भमा दैनिक जीवनलाई उपलब्धीमूलक बनाउनका लागि ‘पब्लिक स्पेस’ का बारेमा विषद् विश्लेषण गरेका छन् । उनले मानव जीवनलाई ‘भर्चुअल स्पेस’ जस्तो कि अनलाइन र सामाजिक सञ्जाललाई मात्र औचित्यपूर्ण ठानेनन् बरु मानिसहरू भौतिक रूपमा जम्मा हुने शहरी चोक, उद्यान र सार्वजनिक स्थलहरूलाई पनि त्यत्तिकै जोड दिनुपर्ने दृष्टिकोण अगाडि सारे । यस्ता सार्वजनिक स्थलहरूले सामाजिक जीवनलाई जीवन्त तुल्याउन र व्यक्तिगत तथा समुदायिक जीवनलाई उल्लासमय बनाउन ठूलो मद्दत पु¥याउने तर्क अगाडि सारेका छन् । यसरी उनले ‘मेन्टल स्पेस’ र ‘फिजिकल स्पेस’ को तादात्म्यतामा नै मानव सुखी हुने दृष्टिकोण प्रस्तुत गरे । उनको यो कालजयी प्रस्थापना कहिँ कतैबाट पनि खण्डित हुन सक्दैन ।

सार्वजनिक खुला स्थल सामाजिक मूल्य हो । सामाजिक जीवनका विभिन्न व्यक्तिहरू जम्मा हुने वा विचरण गर्ने स्थानलाई सार्वजनिक खुला स्थल भनिन्छ । बाटो, सडक पेटी, चोक, उद्यान, सरकारी भवन, सार्वजनिक पुस्तकालय, वाचनालय, संग्रहालय, खेलमैदान, रङ्गशाला, विश्वविद्यालय तथा प्राज्ञिक केन्द्र आदि सार्वजनिक स्थलको कोटीमा पर्दछन् । सार्वजनिक स्थानलाई ‘मानिस जम्मा हुने स्थान’का रूपमा पनि लिन सकिन्छ । त्यस्तो ठाउँ सबैले साझा रूपमा प्रयोग गरेका हुन्छन् र भावनात्मक रूपमा त्यस्तो स्थानले सबैलाई बाँधेर राखेको हुन्छ । यस्ता सार्वजनिक सुन्दर खुला परिदृष्यहरूले मानिसको मनलाई खिचिरहेको हुन्छ र मोहित तुल्याइरहेको हुन्छ ।

सार्वजनिक खुला स्थान मानिसको दैनिक जीवनसँग अभिन्न रूपमा गाँसिएको छ । हिँडडुल, उठबस, खानपान, मनोरञ्जन, आराम र आनन्दसँग खुल्ला स्थानको सम्बन्ध गहिरोसँग जोडिएको छ । सार्वजनिक खुला स्थानले गुणस्तरीय जीवन, अर्थतन्त्र, नागरिक सहकार्य अभिबृद्धि, साँस्कृतिक अन्तरक्रिया, सामाजिक चहलपहल र स्वच्छ वातावरण प्रवद्र्धनमा योगदान पु¥याउँछ । यसरी मानिसमा उल्लास एवं उमङ्ग छर्नका लागि सार्वजनिक खुला स्थानको कति धेरै महत्व रहेको हुन्छ भन्ने विषय स्पष्ट हुन्छ । स्वच्छ हावा लिन र शारीरिक व्यायामद्वारा शरीरलाई चुस्तदुरुस्त राख्न मात्र खुल्ला स्थान चाहिने होइन बरु खुला स्थानले मानिसलाई सौन्दर्यबोधको अनुभूति दिइरहेको हुन्छ । यसबाट एकातिर मनोरञ्जन र अर्कातिर सिर्जसिलताको अभिबृद्धि भइरहेको हुन्छ । त्यहि भएर विविधि धार्मिक साँस्कृतिक परम्पराहरूले समेत सार्वजनिक खुला स्थानको प्रवद्र्धन हुनुपर्ने कुरामा जोड दिएका हुन् । हाम्रो समाजमा खुला ठाउँमा बरपिपल रोपेर पार्टी तथा चौतारा बनाउनु त्यही सार्वजनिक खुला स्थान प्रवद्र्धनको द्योतक हो ।

विज्ञान तथा प्रविधिको विकासद्वारा भएको सूचना तथा सञ्चार एवं सामाजिक सञ्जालको क्रान्तिले सूचना र सम्पत्तिमा पहुँच हुने मानिसको जीवनलाई कोभिड–१९ को कारण लगाइने लकडाउनले खासै असर नगर्नु पर्ने हो, तर त्यसो भएको छैन । सार्वजनिक खुला स्थानमा विचरण गर्न पाउँदाको क्षण कति आनन्ददायक हुन्छ भन्ने कुरा कोरोना महामारीका कारण लकडाउनमा घरको चारदिवार भित्र रहँदा दिक्क भएको र लकडाउन खुलेपछि टोल, छिमेक, सडक, हाटबजार, सार्वजनिक स्थलमा जान पाउँदाको क्षणको तुलना गरौँ त !

जे होस् मानिसलाई घर बाहिर नै निस्किनु परेको छ र खुल्ला आकाशमुनी नै विचरण गर्नुपरेको छ । यसले नै उसलाई ताजापन महसुस गराएको छ र आनन्द दिएको छ । निश्चित रूपमा खुला ठाउँमा हिँड्दा डुल्दा मानिस खुशी हुन्छ । सरुवा रोगका कारणले सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले र कामको चापाचाप नहुँदा केही हदसम्म अतिरिक्त समय पनि निकाल्न सकिने भएकाले राजनीतिक दलका नेता तथा कार्यकर्ता, सामाजिक जीवनका लब्धप्रतिष्ठित व्यक्ति, खेलकूद तथा पर्यटन आवद्ध समूह र सर्वसाधारणसमेत पदयात्राका लागि सानासाना पहाड, नदी तथा खोला किनार, उद्यान तथा खोँचमा हिँडेका तस्बीरहरू सामाजिक सञ्जालका पर्खालहरूमा आजकल बगे्रल्ती देखिन्छन् । यसरी मानिस हिँडडुल गरेर उकुसमुकुसपूर्ण वातावरणबाट मुक्त हुन कोसिश गरेको देखिन्छ ।

संयुक्त राष्ट्रसंघ मानव आवास कार्यक्रमले सार्वजनिक खुला स्थान प्रवद्र्धनका लागि कार्य गर्न, सार्वजनिक स्थान विकासका लागि नीति निर्माण गर्न र यस्तो आवास क्षेत्र विकास गर्न ज्ञान विस्तार गर्ने दृष्टिकोण अगाडि सारेको छ । यस कार्यक्रम अन्तर्गत विश्वव्यापीरूपमा ठूला शहरहरूमा उक्त कार्यक्रमलाई प्रभावकारी तुल्याउन विभिन्न निकायहरूसँग समन्वय र सहकार्य पनि गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत विश्वका चिन्तक, प्राज्ञ, नीति–निर्माता, अभ्यासकर्ता, सञ्चार जगत, स्थानीय समुदाय र निजी क्षेत्रका बीचमा छलफल र अन्तरक्रिया गरेर सार्वजनिक स्थानको विश्वव्यापी महत्वका बारेमा अभियान सञ्चालन भइरहेको छ । अनि खुला स्थानमा रहन पाउने मानव अधिकार क्रमिकरूपमा विस्तारित र प्रवद्र्धित हुँदैछ ।

नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था गरेको छ र यसको कार्यान्वयनका लागि समेत सार्वजनिक खुला ठाउँको आवश्यकता पर्दछ । यसैगरी विचार र स्वतन्त्रताको हक लागू गर्नसमेत सार्वजनिक स्थलहरूको प्रवद्र्धन जरुरी छ । हाम्रो समाज खुला समाज हो र यसले सार्वजनिक खुला स्थानको माग गर्दछ । काठमाडौँको खुला मञ्च र देशैभरीका सभा समारोह स्थलहरू लोकतन्त्रका प्रतीक हुन् । यस्ता खुला मञ्चहरुले एकातिर लोकतान्त्रिक परिपार्टिलाई टेवा दिइरहेका हुन्छन् भने अर्कातिर प्राकृतिक विपत्ति पर्दा र महामारी सल्किँदा आश्रय र ओत प्रदान गरिरहेका हुन्छन् । साथै, खुला स्थानले वातावरण प्रवद्र्धनमा योगदान पु¥याउँछ र यसबाट मानिसलाई स्वस्थ्य राख्न समेत मद्दत पुगिरहेको हुन्छ । कोभिडजस्ता सजिलै फैलिने वैश्विक सरुवा रोगले पनि खुला सार्वजनिक ठाउँको आवश्यकता हामीलाई पुनः बोध गराएका छन् ।

शहरीकरण बढेसँगै खुला स्थान साँघुरिएका छन् र भएका पनि अतिक्रमणमा परेका छन् । अनियन्त्रित र योजनाविहिन जनसंख्या बृद्धिले निजी आवासगृह र सार्वजनिक भौतिक संरचनाहरू विस्तारित हुँदा खुला स्थानको अभाव हुँदैछ । फलस्वरूप शहरमा उकुसमुकुसको वातावरण उत्पन्न भइरहेको छ । खुला ठाउँको अभावमा बिहानी हिँडाई, योगा तथा शारीरिक व्यायाम गर्न घरका कौसी र कोठाहरू प्रयोग भइरहेका छन् । यसबाट खोजेको र चाहिएको जति स्वास्थ्य लाभ लिन तथा आनन्दित हुन मानिसले सकिरहेका छैनन् । यस्ता साँघुरा र अनुपयुक्त ठाउँमा दैनन्दिनका विविध क्रियाकलापहरू गर्दा दुर्घनाबाट ज्यानै गुमाउनुपर्ने वा घाइते हुनुपर्ने अवस्थासमेत उत्पन्न भइरहेको छ ।

सार्वजनिक खुला स्थानको आवश्यकता प्राकृतिक विपत्ति तथा महामारीको बेलामा झनै अत्यधिक हुने गर्दछ । यसको औचित्यता निकट विगत–२०७२ को विनाशकारी भूकम्पका बेला स्थानीय मानिसहरू काठमाडौँको खुलामञ्च तथा टुँडिखेल, हालै सिन्धुपाल्चोकको मेलम्चिमा आएको ठूलो बाढिले सो सेरोफेरोका मानिसहरू त्यहि क्षेत्रको सार्वजनिक क्षेत्रमा आश्रय लिएको कुरा झलझलि याद भइरहेकै छ । यति मात्र होइन आगजनी, हावाहुरी, दुर्घटना हुँदासमेत खुला क्षेत्रमा नै आश्रय लिनुको विकल्प छैन । जलवायु परिवर्तनले प्राकृतिक विपत्तिहरू निम्त्याउने निश्चित प्रायः देखिएको परिवेशमा त झनै सार्वजनिक खुला स्थानको महसुस तीब्र बनिरहेको छ ।

समाजमा एउटा यस्तो लोभि तप्का छ, जसलाई सार्वजनिक जमीन हडप्न पाउँदा, राष्ट्रिय महत्वका संरचना जस्तो कि सभाहल, समारोहस्थल, नदीनाला, उद्यान, बाटो, घाट, बनजङ्गगल अतिक्रमण गर्न पाउँदा वा मानिसको धेरै आवतजावत हुने क्षेत्रमा अग्लाअग्ला टावर र ठूलाठूला भौतिक पूर्वाधार विकास गरेर त्यसको बहुउपयोग गर्दै ठूलो मात्रामा सम्पत्ति आर्जन गर्न पाउँदा आनन्द लाग्छ । यस्तो कार्य गर्ने अतिक्रमणकारीले तत्काल लाभ लिएको देखिएता पनि उसका सन्तान दरसन्तान र भावी पुस्ताको स्वास्थ्य तथा सिङ्गो समाजको हितमा प्रतिकूलता नै थप्दछ । अन्ततः ऊ कानूनको दृष्टिमा दोषी ठहरिने र लोककल्याणका निम्ति अहितकारी ठानिने निश्चित छ ।

सीमित रूपमै भएपनि कतिपय सार्वजनिक खुला ठाउँको नियमित सरसफाई नहुँदा, सौन्दर्यीकरणमा ध्यान नपुग्दा त्यस्ता स्थलहरूमा गैरकानूनी क्रियाकलापहरू बढ्ने, पशुपंक्षीको वासस्थान हुने, सामाजिक रूपले अशोभनीय र अमर्यादित क्रियाकलाहरू हुने गरेको छ । त्यसैले सार्वजनिक खुला ठाउँको भरपुर उपयोगका लागि ध्यान पु¥याउनु पर्दछ । सार्वजनिक स्थानमा ध्वनी प्रदुषण हुन दिनु हुँदैन । नवउदारवाद प्रवद्र्धित विश्वव्यापीकरण प्रक्रियाले शहरीकरणलाई तीब्रता दिएसँगै अन्तर्राष्ट्रिय चालचलन, संस्कार एवं संस्कृतिहरू विस्तारित हुँदै गएका छन् । खानपान, मनरोरञ्जन, खेलकूद, प्रविधि तथा उपकरण नयाँनयाँ किसिमका भित्रिइरहेका छन् र तिनले पनि सार्वजनिक खुला स्थानको माग गरिरहेका छन् ।

अब सामाजिक न्याय र सार्वजनिक खुला ठाउँको संरक्षणका निम्ति समाजका चेतनशील र जागरुक मानिसहरू सक्रिय बन्नुपर्ने खाँचो महसुस भएको छ । सार्वजनिक खुला स्थानको अतिक्रमण भएका र अतिक्रमणको चरणमा रहेका क्षेत्रहरूको पहिचानका लागि राज्यले प्रभावकारी छानवीन गर्ने निकाय बनाएर सत्य तथ्य पत्ता लगाउनु पर्दछ र सरकारको मातहतमा तिनलाई ल्याएर भूमाफियाहरूलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ ।

राजनीतिक अस्थिरता र संक्रमणकालमा अझ बढि सार्वजनिक सम्पत्ति, संरचना र जमीन अतिक्रमणमा पर्ने, टुटफुट हुने र लापरवाहीमा पर्ने संभावना बढेर जान्छ । खुला स्थानलाई लैङ्गिकमैत्री, जातिमैत्री र उमेरमैत्री बनाउन आवश्यक ध्यान पु¥याउनु पर्दछ । मुलुकलाई साँच्चै समृद्धिको यात्रामा अग्रसर बनाउने हो भने सार्वजनिक वा निजी प्रयोजनका भौतिक पूर्वाधार विकास गर्दा खुला स्थान छाड्ने कुरामा ध्यान दिनुपर्ने खाँचो रहेको छ । सार्वजनिक खुला स्थान संकटमा पर्दा समृद्ध मानव सभ्यता समेत संकटमा पर्ने कुरा हेक्का राख्नु पर्दछ ।