८ बैशाख २०८१, शनिबार 1713593200
पालिका

पुर्वमेयर विद्यासुन्दर शाक्यको अवधारणमा निर्णय भएको ‘नो हर्न’ अभियान आजदेखि पुनः सुचारु

काठमाडौं । काठमाडौं महानगरपालिकाका पुर्वमेयर विद्यासुन्दर शाक्यले निर्णय गराएको ‘नो हर्न ’ अभियान आजदेखि पुनः सुचारु भएको छ। आईतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमा मेयर बालेनले डीआइजीको गाडीमा नो हर्नको स्टीकर टास्दै अभियानको पुनः शुभारम्भ गर्नुभएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटल सँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो ।

ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताउनुभयो । नो हर्न अभियान पहिल्यैबाट सञ्चालन गरिएपनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको उहाँले बताउनुभयो ।

पुर्व मेयर शाक्यले गरेका राम्रा कार्यको मेयर शाहले कार्यान्वयन गर्दै आईरहनुभएको छ ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताउनुभयो ।

काठमाडौं महानगरपालिकाले वि.सं.२०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।