८ बैशाख २०८१, शनिबार 1713631770
Banner

खराब पात्र र प्रवृत्तिको पछि लागेर अपेक्षित गन्तव्यमा पुगिन्न

मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणापछि एकाएक राजनीतिक चर्चा चुलिएको छ। एकथरी पुरानालाई हराऔं भन्दै नुनको सोझो गर्दैछन् भने अर्काथरि एक्लाएक्लै चुनाव लडेर नेकपा एमालेलाई हराउन सकिन्न भन्दैछन्। फेरि अर्को जमात कुहिने नकुहिने फोहोर छुट्याउने दिन – मंसिर ४ भन्दै सामाजिक सञ्जालमार्फत अभियान चलाउन खोज्दैछन्। तर यी सबैले राजनीतिलाई विचार, नीति र कार्यक्रमसँग जोडेर हेर्न सकेको देखिएन किनभने उनीहरू आफ्नो असल र सबल पक्षको जगमा राजनीति गर्न खोजिरहेका छैनन्, कारण उनीहरू आफैमा असल र सबल पक्ष नै छैन्। त्यसैले उनीहरू अरूको विरोध गरेर आफू राम्रो देखिने प्रतिस्पर्धामा देखिएका छन्।

भ्रामक नारा, नकारात्मक विश्लेषण र समाचारहरू अनि पूर्वाग्रहपूर्ण अभिव्यक्तिहरूले जनमन भ्रमित पार्न खोजिदैछ। ‘इतिहास रच्ने कि इतिहास बन्ने’ भन्ने विश्लेषण संप्रेषण गरेर जनताको मनस्थिति नकारात्मक बनाउने र देशको राजनीतिक परिस्थितिलाई अन्यौलपूर्ण बनाउँदै देशमा नियन्त्रित अस्थिरता कायम राख्ने प्रयास हुन थालेको छ। तर हामीले बुझ्नुपर्छ, “राजनीतिमा नेतृत्वको उमेर होइन, दलको विचार, नीति र कार्यक्रम अनि नेतृत्वको इतिहास, सक्रियता, नियत र प्रतिबद्धता हेरेर उसको मुल्यांकन गरिनुपर्छ। सचेत र देशभक्त नागरिकहरू भ्रामक नाराको पछि(पछि लाग्दैनन्, सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय संकल्प पूरा गर्ने क्षमता भएको दल र त्यो दलले उठाएको असल उम्मेदवारको पक्षमा उभिने छन्।”

नयाँ पुस्ताको विदेश पलायनमा लोकतान्त्रिक गणतन्त्रको मुख्य भूमिका छ भनेर राजतन्त्र फर्काउने लक्ष्यका साथ ‘विचारभन्दा माथि देश’ भन्दै देशको मुख्य समस्या राजनीति भनेर शिक्षाको दार्शनिक, नीतिगत र व्यावहारिक पक्ष, प्रशासनिक र न्यायिक संरचना अनि खराब आर्थिक नीति र अभ्यासलाई छाँयामा पारेर लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्र नै प्रगतिशील भन्न थालेका छन्। यसले आमनागरिकलाई देशको मुख्य समस्या र मुद्दाबाट टाढा बनाउने लक्ष्य लिएको छ।

राजनैतिक तथा संवैधानिक रूपमा फड्को मारेपछि शैक्षिक, आर्थिक, न्यायिक र सामाजिक रूपमा पनि फड्को मार्नुपर्थ्यो। तर मारिएन किनभने केही राजनीतिक, प्राज्ञिक, न्यायिक, प्रशासनिक र सामाजिक नेतृत्वहरूले त्यसमा आफ्नो भविष्य देखेनन्। जसले गर्दा अस्वभाविक रूपमा दक्षिणपन्थी अवसरवादीहरूको मनोबलमात्र बढेन देशमा संकट पनि बढ्दैछ। विभाजन र शासनको रणनीतिअनुसार हिजोसम्म कम्न्युनिष्ट पार्टीमा विभाजन ल्याउने प्रयासहरू भएका थिएभने अहिले नयाँ पुस्तालाई पनि भ्रमित बनाउँदै विभाजित गरेर राजनीतिक अन्यौलता सिर्जना गर्ने प्रयास भइरहेको छ।

रवीन्द्र मिश्रको नेतृत्वमा पहिलो ईनिङ अनपेक्षित रूपमा सफल नभएपछि रवी लामिछानेको नेतृत्वमा दोस्रो ईनिङ सुरू भएको छ। हिजो रवीन्द्र मिश्रलाई लगानी गर्नेहरू आज रबी लामिछानेलाई लगानी गर्दैछन्। यसको लक्ष्य नेपालमा राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गर्दै नेपालमा नियन्त्रित अस्थिरता बढाउने नै हो। तर हामीभने कुरै नबुझी पात्रहरूको चरित्र र प्रवृत्तिको ख्यालै नगरी भ्रममा परी पछि(पछि लाग्दैछौं। भ्रमले खडा गरेको विरासत जति चाँडो भव्य देखिन्छ, यसको ढल्ने क्रमको सुरूवात पनि त्यति छिटो हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ।

मान्छे चिन्न सजिलो छैन्। रूप पक्ष हेरेर मात्र मान्छे चिनिदैन्। व्यक्तिलाई चिन्नका लागि उसको सार पक्ष अर्थात विगत, चरित्र, प्रवृत्ति र नियत पनि चिन्नुपर्छ। हाम्रो शिक्षा तथा सामाजिक व्यवस्थाले हामीमा त्यो क्षमता विकास गर्न सकेको छैन्। व्यक्तिको मनमा लुकेको अवसरवादी प्रवृत्ति सुरूमा चिन्न नसक्दा आमनागरिक राजनीतिक र सामाजिक रूपमा ठगिन बाध्य भइरहेका छन्। अहिले त्यो प्रवृत्ति जबरजस्त भएर प्रस्तुत हुन खोज्दैछ। यही प्रवृत्तिहरूलाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा शर्मिला आचार्य लेख्छिन्,

“जसले नेपाली नागरिकता त्यागेर विदेशी नागरिक बन्यो ! 

विदेशमा अनेकन लफडा गर्यो ! 

गैर(कानुनी रूपमा नेपालमा बस्यो ! 

पछि अरूले थाहा पाएपछि फेरि नक्कली नागरिक बन्यो ! 

ऊ नै विदेशीको इसारामा ठूला(ठूला भाषण गर्दै हिंडेको छ ! 

ऊ नै महान रे ! ”

शर्मिला आचार्यले संकेत गरेको पात्र रबी लामिछाने हुन। एक समय रबीले देश सराप्दै नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बने। अमेरिका बसाईको क्रममा पारिवारिक लफडा र व्यक्तिगत चरित्रमा समस्या देखिएपछि कानुनी कारवाहीबाट जोगिन त्यहाँबाट भागेका थिए। नेपाल आएर आफ्नो परिचय लुकाएर संचार क्षेत्रमा क्रियाशील भए। त्यसबीच रबी लामिछानेले गैर(कानुनी रूपमा नेपाल बसेर काम गरिरहेको समाचारको दबाबपछि अमेरिकी नागरिकता त्याग्न बाध्य। अन्यथा त्यतिखेर प्रश्न नउठाइएको भए अमरिकी नागरिकता त्याग्ने स्थितिमा पुग्ने थिएनन्। परिवारले उसको चरित्रका बारेमा प्रश्न उठाएपछि परिवार नै त्यागे। अहिले नयाँ घरजमसहित नयाँ पार्टी चलाउन सक्रिय भएका छन्। हिजो घरपरिवार मिलाउन र चलाउन नसक्ने र चरित्रमाथि प्रश्न उठेको पात्रले आज देशलाई मिलाउँछु र चलाउँछु भन्दै अरू नेताको चरित्रमाथि प्रश्न उठाउँदैछन्।

नागरिकता र श्रीमति बदल्न संकोच नमान्ने पात्रले देश बदल्छु भन्दा त्यसलाई वाहवाही गर्ने हाम्रो चेतनामा पनि समस्या छ। आज देशमा देखिएको समस्याको जड खराब शिक्षा र शैक्षिक नीति नै हो, जसले अवसरवादी पात्र तयार गरिरहेको छ। अनि आज तिनै अवसरवादी खराब पात्रहरूले हामीलाई असल बन्ने टिप्स दिदै आदर्शवान बन्न सिकाउँदै पनि छन्। त्यसैले हामीले भन्नुपर्छ, खराब पात्र र नकारात्मक मनस्थितिले असल परिणाम ल्याउन सकारात्मक परिस्थितिको विकास गर्न सक्दैन्।

मेलिना राई भन्छिन्, “धेरै समिक्षा र आत्मसमिक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।” मेलिना राईले व्यक्तिगत जीवनका बारेमा भनेका कुरा राष्ट्रिय जीवनमा पनि मेल खान्छ र लागु हुन्छ। ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ बनाउने राष्ट्रिय संकल्प पूरा गर्न ठीक दल र ठीक नेतृत्व चयन गर्न सक्नुपर्छ। हामीले मनन गर्नुपर्छ, ‘खराब पात्र र प्रवृत्तिहरूको पछि लागेर अपेक्षित गन्तव्यमा पुग्न सकिन्न।’ त्यसैले मंसिरमा ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भ्रम, प्रभाव, प्रलोभन र भयमा नपरी विवेक प्रयोग गरेर विचारमा प्रगतिशील र व्यवहारमा लोकतान्त्रिक राजनीतिक दल र उम्मेदवार छान्ने क्षमता देखाउनुपर्नेछ। यसका लागि हरेक मतदाताले देशको दिर्घकालिन हित हेरेर निर्णयमा पुग्ने क्षमता विकास गर्नेुपर्नेछ।

नेता हुन पाउनुको आनन्द समाजमा उसको सफलतामा मात्र होइन, समाजका लागि प्रेरणादायी जीवनको उदाहरण पनि हो। जनताले नेता चिन्नका लागि नेताको जीवन पढ्ने र नेताहरूका बारेमा तुलनात्मक अध्ययन गरेर गुणदोषका आधारमा कम खराब वा राम्रो छ भनेर पत्ता लगाउनुपर्छ। अनि हाम्रा विगतका अनुभव र अभ्यासहरूका आधारमा एउटा उत्तम पार्टी पहिचान गरेर त्यसका उम्मेदवारहरूका पक्षमा मतदान गर्ने मन बनाउनु पर्छ। तर आमजनताका लागि पार्टी र उम्मेदवार चयन त्यति सजिलो विषय भने होइन किनभने तुलनात्मक अध्ययनमा विभिन्न कोणहरूबाट आएका भ्रमहरूले उनीहरूमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ।

नेपालको राजनीतिमा मुख्यगरी दुईवटा वैचारिक धारका राजनीतिक दलहरू प्रभावशाली देखिन्छन्। वामपन्थी धारको नेतृत्व नेकपा एमालेले गरिरहेको छभने दक्षिणपन्थी धारको नेतृत्व नेपाली कांग्रेसले गर्न खोज्दैछ। नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एस, नेकपा मसाल र जसपा सामेल भएका छन्। कांग्रेसले लोसपालाई पनि आफ्नै नेतृत्वअन्तर्गत ल्याउन खोज्दैछ। परम्परावादी पार्टी राप्रपा कुन धारको पक्षमा उभिन्छ स्पष्ट भएको छैन्। हुन त पछिल्लो समय वैकल्पिक धारको राजनीति गर्छौंभनेर नयाँ दलहरू पनि देखिएका छन्, तर उनीहरूको वैचारिक लाईन के हो स्पष्ट पारेका छैनन्। हिजो रवीन्द्र मिश्रहरू त्यही धारका हौं भन्थे, आज लोकतान्त्रिक गणतन्त्रभन्दा संवैधानिक राजतन्त्र बढी प्रगतिशील भन्न थालेका छन्। यस्तो अवस्थामा मतदातालाई ठीक दल र उम्मेदवार चयन गर्न त्यति सजिलो हुनेछैन्। त्यसैले सञ्चार जगतले दलहरूका बारेमा सार्वजनिक रूपमा दलका प्रतिनिधि राखेर खुला बहसको सुरूवात गर्नुपर्छ। निर्वाचन घोषणा भइसकेको आजको अवस्थामा निर्वाचन आयोगले पनि परम्परागत चुनाव प्रचार प्रसारको शैलीमाथि प्रतिबन्ध लगाउनुपर्छ।

पछिल्लो पुस्ताले नयाँ दल र नेता भन्ने बित्तिकै गतिलो ठान्ने र स्वतन्त्र हुन भन्ने बित्तिकै असल मान्ने, अंग्रेजी बोल्नेलाई बुद्धिमान, दूरदर्शी र ज्ञानी भन्ने, विदेशमा पढेर आएकालाई मात्र विज्ञ भनेर चिन्ने, उग्र कुरा गर्नेहरूलाई क्रान्तिकारीको रूपमा प्रस्तुत गर्ने हिजोआजको अभ्यासले उनीहरूलाई नै राजनीतिक तथा सामाजिक रूपमा समस्यामा पार्दैछ। सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूले त्यसको संकेत गरेको छ। त्यसप्रति संकेत गर्दै सूर्यराज आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, “बौद्धिकताले ज्ञान, आदर्श र निष्ठा प्रतिको तपस्या खोज्छ। एक्टिभिजम्‌को ुझिल्केु बाटोबाट बौद्धिकता हैन, सानो सर्कल बीचको लोकप्रियता चैं प्राप्त हुन्छ र त्यस्तो लोकप्रियता कुनै पनि बेला धरापमा पर्न सक्छ।”

पाँच दलीय कम्फर्टेबल सत्ता गठबन्धनका गतिविधिहरूका कारणले आमजनतामा ‘नीति विरूद्ध नेता, राज्य विरूद्ध सत्ता’ हो कि भन्ने भ्रम परेको छ। त्यो भ्रमलाई रबी लामिछानेहरूले आफू बलियो हुने माध्यम बनाएका छन्। जसले गर्दा नयाँ मतदाताहरू भ्रामक नाराको पछि देखिदा राजनीतिमा अवसरवादीहरूको मनोबल बढ्न पुगेको छ। चारित्रिक रूपमा प्रश्नहरू उठेका र चरित्रमाथि दाग लागेका पात्रहरूलाई अघि लगाएर देशको चित्र अर्थात अवस्था बदल्न सकिदैन्। त्यस्ता पात्रहरूबाट नयाँ पुस्ता जोगिनु पर्छ। नयाँ पुस्तालाई भ्रमहरूबाट जोगाउन प्राज्ञिक वर्गले इमानदार भएर परिस्थितिका बारेमा वस्तुनिष्ठ विश्लेषण सार्वजनिक गर्नुपर्छ। अन्यथा खराब पात्र र प्रवृत्तिको पछि लागेर नयाँ पुस्ता एकातिर राजनीतिलाई अस्थिर बनाउन सहयोगी हुन्छन् भने अर्कोतिर उनीहरू गन्तव्यहिन यात्रामा अलमलिन्छन्।