१२ बैशाख २०८१, बुधबार 1714006943
Banner

फागुन १ गतेदेखि गण्डकी यातायातमा नयाँ भाडादर

कास्की– गण्डकी प्रदेश सरकारले सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ ।

कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै फागुन १ गतेदेखि नयाँ भाडादर लागू हुने जनाएको हो । भाडा बढाउनका लागि सरकारले सिफारिस समिति नै गठन गरेको थियो । गाडीको प्रकृति अनुसार भाडादर फरक छ ।

एक जिल्लाबाट अर्काे जिल्ला चल्ने बसमा प्रतिकिलोमिटर ३ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । जीपमा प्रतिकिलोमिटर साढे पाँच रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११ रुपैयाँ ७२ पैसा लाग्ने छ ।

सिटी बसमा चढ्दा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ र तीन किलोमिटरपछि प्रतिकिलोमिटर साढे दुई रुपैयाँ भाडा दर तोकिएको छ ।

२० किलोमिटरभन्दा बढी यात्रा गरेमा भने प्रतिकिलोमिटर साढे दुई रुपैयाँको हिसाब हुनेछ ।

ट्याक्सीमा चढ्दा फ्ल्यास डाउनमा ८० रुपैयाँ तिरेर दुई सय मिटरभित्र चल्दा थप शुल्क लाग्दैन । दुई सय मिटर कटेपछि प्रति पल्स (प्रत्येक दुई सय मिटर) मा थप १० रुपैयाँ थपिन्छ भने १५ किलोमिटर कटेपछि प्रतिकिलोमिटर ३७ रुपैयाँ ५० पैसा भाडा तिर्नुपर्छ ।

संघ सरकारले २८ प्रतिशत भाडा बढाएपछि आफ्नो अधिकार क्षेत्रभित्र प्रदेशले भाडा समायोजन गरेको हो ।