१३ बैशाख २०८१, बिहीबार 1714084173
Banner

परराष्ट्र मन्त्रालयले भन्यो, ताइवान क्षेत्रमा उत्पन्न परिस्थिति नजिकबाट नियालिरहेका छौं

काठमाडौँ – अमेरिकी सभामुख नान्सी पेलोसीको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न भएको परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल शान्तिप्रेमी राष्ट्र भएकाले त्यहाँको समस्या शान्तिपूर्वक नै सामाधन हुनुपर्ने पक्षमा रहेको बताउनु भयो ।

‘पछिल्लो घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौं । नेपालले ‘एक चीन नीति’को समर्थन गर्दै आएको छ । दुवै देशले एक अर्कोको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको समर्थन गर्दै आएको छ’ लम्सालले भन्नुभयो, ‘नेपाल एक शान्तिपूर्ण राष्ट्र भएकाले अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको कुरा जानकारी गराउन चाहन्छौं ।’

परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणमा यस विवादबारे कुनै छलफल नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो विवाद हालैको हो। परराष्ट्र मन्त्रीको भ्रमण निकै अघि तय भएको हो। त्यहाँ यसबारे कुनै छलफल हुने छैन ।’

परराष्ट्र मन्त्री खड्का तीन दिन चीन भ्रमणका लागि साउन २४ मा चीन जाँदैहुनुहुन्छ ।

अमेरिका सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो सर्वभौमिकतामाथिको आक्रमण भनेको छ । ताइवानको तटको नजिकै विभिन्न ५ दिने युद्ध अभ्यास सुरु गरेको छ ।