१९ माघ २०७९, बिहीबार 1675323120
Banner

जनार्दन शर्मा फेरि अर्थमन्त्री नियुक्त, साढे ५ बजे सपथ

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुन:अर्थमन्त्रीमा नियुक्त हुनु भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनु भयो ।

२९ असार २०७८ मा अर्थमन्त्री बनेका शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो। अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिनु भएको थियो ।

संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुन: अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।