१३ बैशाख २०८१, बिहीबार 1714039883
Banner

बालेनले काठमाडौं महानगरमा राम्रो काम गर्न सकेनन् : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दलीय प्रणालीलाई बलियो बनाउनुपर्ने बताएका छन् । उनले भूपरिवेष्टित मुलुक नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नका लागि पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्नेमा जोड दिएका हुन् । 

नेपाल प्रेस युनियन कैलाली शाखाले नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा नेता महतले नेपालमा अहिले स्वतन्त्र बन्ने प्रवृत्ति मौलाइरहेको बताए । उनले मुलुकको दीर्घकालीन विकासका लागि स्वतन्त्र प्रवृत्ति घातक सावित हुनसक्ने खतरा औँल्याए । 

प्रवक्ता महतले काठमाडौं महानगरको नगरप्रमुखमा स्वतन्त्र उमेदवारको सफलतापछि देशैभर स्वतन्त्र बन्ने प्रवृत्ति मौलाएको बताए । स्वतन्त्र व्यक्ति महानगरको नगरप्रमुख हुँदा प्रभावकारी काम गर्न नसकेको उदाहरण काठमाडौंमै देखिएको भन्दै उनले कतिपय जिल्लामा स्वतन्त्र नेतृत्वले कुरा गरेअनुरुप काम गर्न नसकिरहेको जिकिर गरे । 

काठमाडाैं महानगरका नगरप्रमुख बालेन शाहलाई पनि चुनावका बेला प्रतिबद्धता जनाएबमोजिम काठमाडौंको फोहाेर व्यवस्थापन गर्न निकै कठिन परिरहेको उनको भनाइ थियो । रासस