१२ बैशाख २०८१, बुधबार 1714000470
पालिका

देशभरिका महानगर प्रमुखहरू पाेखरामा

कास्की । पोखरामा शुक्रबारदेखि प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ सुरु भएको छ । सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ ।पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरासहित काठमाडौं, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ ।

सम्मेलनमा सहभागी हुन आएका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई महानगरले शुक्रबार पोखरामा स्वागत गरेको छ । सहभागीलाई पोखरेली ढाका टोपी, सल र खादा मालाबाट स्वागत गरिएको थियो । पोखराका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र वडाध्यक्षले पाहुनालाई स्वागत गरेका थिए ।

महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ । सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिने पोखरा महानगर प्रमुख आचार्यले बताए । महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न र कामलाई सहजीकरण गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको उनले बताए ।

उनले भने, “गाउँपालिका र नगरपालिकाका समस्या सुनाउने छुट्टै फोरम भए पनि महानगरको आफ्नो छुट्टै फोरम नभएकाले साझा समस्या, चुनौती र अवसर पहिल्याउन सम्मेलन आयोजना गरेका हौँ । सम्मेलनले पोखरा घोषणा जारी गर्नेछ र सम्बन्धित निकायमा सुझावका रुपमा पेस गर्नेछौँ ।”

सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले सङ्घीयता, महानगर र अबको बाटो शीर्षकमा प्रस्तुति राखे ।

यसैगरी महानगरपालिकाका प्रमुखद्वारा महानगरपालिकाका मुख्य योजना तथा कार्यान्वयनका चुनौतीहरूबारे अनुभव आदानप्रदान गरेका थिए ।

सम्मेलनमा उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान गर्नेछन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतीबारे आफ्नो अनुभव राख्नेछन् । 

सम्मेलनको दोस्रो दिन शनिबार पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यद्वारा महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा अजयचन्द्र लाल र सरोज बस्नेतद्वारा महानगरपालिकामा हरित, उत्थानशील तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीहरू, महानगरपालिकाका प्रमुखद्वारा महानगरपालिकाका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा प्यानल छलफल हुनेछ ।

सम्मेलन पोखरा घोषणा पत्र जारीसँगै आगामी वर्ष २०८० का लागि महानगरपालिका मेयर सम्मेलनको घोषणा तथा आयोजक महानगरपालिकाका प्रमुखलाई ‘मेट्रो मिट नेपाल’ अङ्कित झण्डा हस्तान्तरण गरेर समापन हुने पोखरा महानगरले जनाएको छ । रासस