१३ बैशाख २०८१, बिहीबार 1714079500
प्रदेश

सामाजिक सुरक्षा भत्ता वितरण गर्न मेयर गाउँ–गाउँमा

बैतडीको मेलौली नगरपालिकामा गाउँ गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । नगरपालिकाले हाल अभियानकैरुपमा सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जान नसक्नेका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको छ । भत्ता वितरणका लागि नगरपालिकाका प्रमुख भीमबहादुर चन्द गाउँटोलमा खटिनुभएको छ । नगरका ज्येष्ठ नागरिक र अशक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू गाउँटोलमा पुगेको नगर प्रमुख चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ ज्येष्ठ तथा अशक्त नागरिकको समस्या बुझ्नकै लागि गाउँगाउँ पुगेका हौँ, उनीहरुको समस्या पहिचान गरेर नगरपालिकाले थप सहयोगका कार्यक्रम गर्नेछ ।” नगरपालिकाले अहिले गत आर्थिक वर्षको तेस्रो र चाथौ त्रैमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेका लागि गाउँटोल पुगेर भत्ता वितरण गरिरहेको हो । नगरपालिका र मेलौलीमा रहेको एनसीसी बैंकको शाखाले गाउँ टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो । वर्षादको समयमा स्तरीय बाटो नभएका कारण आवतजावत गर्न पनि समस्या भएका बेला उनीहरुलाई केही राहत पुगोस भनेर गाउँगाउँमा जाने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताउनुभयो । वडा नं १ को जर्केु टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको शुभारम्भ गरिएको र यो अभियान सबै वडामा लागु हुने नगरपालिकाले जनाएको छ । सरकारले उक्त भत्ता अनिवार्य बैंकिङ प्रणालीमार्फत वितरण गर्नुपर्ने नियम लगाएपछि धेरैजसो बैंकमा भत्ता बुझ्ने बेला ज्येष्ठ नागरिकले लामो समयसम्म लाइन बस्नुपर्ने हुँदा निकै कष्ट व्यहोर्नुपरेको थियो ।

नगरपालिकाले गाउँ गाउँमा गएर भत्ता दिन थालेपछि नागरिक पनि खुसी भएका छन् । नगरपालिकामा सामाजिक सुरक्षाभत्ता पाउने सूचीमा चार हजार ६०३ जना रहेका छन ।