१३ बैशाख २०८१, बिहीबार 1714079792
प्रदेश

प्रतिवेदनसहित दुई विधेयक प्रदेशसभामा

गण्डकी प्रदेश सभाको आजको बैठकमा विभिन्न दुई विधेयक विधायन समितिको प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत भएको छ । बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले विधायन समितिको प्रतिवेदनसहित गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गर्नुभयो ।

बैठकको विशेष समयमा प्रदेशसभा सदस्य आशा कोइरालाले आव २०७८÷०७९ मा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम प्रभावकारीरुपमा सम्पन्न भएको बताउनुभयो । उक्त कार्यक्रमअन्तर्गत उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका ४० प्रतिशत योजनाको अझै पनि भुक्तानी हुन नसकेकोप्रति प्रदेश सरकार र भौतिक पूर्वाधार विकास मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । अर्का सदस्य खिमविक्रम शाहीले बागलुङबाट बुर्तिवाङ जाने करिब १० किमि बाटो वर्षौंदेखि बिग्रेको बताउँदै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य रामशरण बस्नेतले सदन जनताको आवाज उठाउने थलो भए पनि शून्य तथा विशेष समयमा उठाएका आवाजलाई सरकारले सुनुवाइ नगरेको बताउनुभयो । संसद्मा उठेका विषयलाई गम्भीरताका साथ हेर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो । आजको बैठकको विशेष तथा शून्य समयमा सदस्य मायानाथ अधिकारी, राजीव पहारी, भागवतप्रकाश मल्ललगायतले समसामायिक विषयमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।