७ बैशाख २०८१, शुक्रबार 1713534190
खेलकुद

साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित

नेपालले साफ यू-२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता बनाएको थियो ।

अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत गोल गरे । खेलको ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।

कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा सुन्दर गोल गरे । त्यसपछि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३-० को जित दिलाए ।जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।