१४ बैशाख २०८१, शुक्रबार 1714132724
फिचर

९६ वर्षको उमेरमा नागरिकता

लमजुङ – पहाडी जिल्ला लमजुङस्थित मध्यनेपाल नगरपालिका२ तान्द्राङटक्सारका कृष्णबहादुर गुरुङले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । एकचालीस वर्षीय कान्छो छोरा श्रीप्रसाद गुरुङले सनाखत गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालय लमजुङबाट उहाँले नागरिकता प्राप्त गर्नुभएको हो।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गुरुङलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको थियो । नागरिकताका बारेमा ज्ञानको अभाव भएका वृद्धले नागरिकता नबनाएको र अहिले ढिलै भए पनि नागरिकता प्राप्त गरेको उहाँको भनाइ छ । बेलायती सेनाबाट सेवा निवृत्त गुरुङ विसं १९८२ चैत ५ गते जन्मनुभएको थियो । उहाँ सन् १९४८ मा कुनै पनि कागजातबिना बेलायती सेनामा भर्ती हुनुभएको थियो ।

बेलायती सेनामा भर्ती भएपश्चात् मलेसिया र सिङ्गापुरमा १५ वर्ष सेवा गरी निवृत्त भएपछि आफ्नै घर फर्कनुभयो । उहाँ करिब ४० वर्षदेखि घरमै बस्दै आउनुभएको छ । दुई छोरालाई अंश दिने कुरामा समस्या आएपछि बल्ल नागरिकता बनाएको उहाँले बताउनुभयो । यतिका वर्षपछि नागरिकता पाउँदा उहाँ दङ्ग पर्नुभएको छ ।

कृष्णबहादुरकी श्रीमती विजयामा गुरुङको नागरिकता भने बनिसकेको थियो । कृष्णबहादुर पति कायम गरी नागरिकता बनेकाले छोराछोरीको नागरिकता पनि बनिसकेको छ । गुरुङकी श्रीमतीको २० वर्षअघि निधन भइसकेको परिवारले जनाएको छ ।