२० माघ २०७९, शुक्रबार 1675455578
Banner

‘जातको होइन राष्ट्रको शहिद हुन्छ ,जो पहिलो मारियो उही पहिलो शहीद हो’ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शहिदलाई जातीयकरण गर्न नहुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहिद मान्नु पर्ने बताउनुभयो । “म इतिहासकारलाई अनुरोध गर्दछु । शहिद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो । जातीय शहीद नबनाउन”, उहाँले भन्नुभयो, “जातको होइन राष्ट्रको शहिद हुन्छ । जो पहिलो मारियो उही पहिलो शहीद हो ।”

अध्यक्ष ओलीले भन्नुभयो, ‘मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भिमदत्तलाई सहिद मान्दैन ।’ प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरुलाई कांग्रेसले उचित सम्मान दिन नसकेको अध्यक्ष ओलीको टिप्पणी थियो । भिमदत्त र विद्यार्थी नेता चिनिया काजीको नाम लिँदा कांग्रेस सिरिंग हुने गरेको उहाँले बताउनुभयो । ओलीले दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा कांग्रेसले जिम्मेवारी नलिएको र सहिद पनि नमानेको बताउनुभयो । ‘उनले बम हानेका थिए भने कांग्रेसकै कार्यकर्ताका रुपमा परिवर्तनका लागि हानेका थिए । तर कांग्रेसले त्यसको ओनरसीप लिएन । दुर्गानन्दलाई सहिद मानेनन,’ ओलीले भन्नुभयो ।

सत्ता स्वार्थका कारण कांग्रेसले विगतमा आन्दोलन गर्नेहरुलाई सम्झिँन नसकेको बताउनुभयो ।