२५ माघ २०७९, बुधबार 1675876899
Banner

सम्वृद्धिको आधारः जनताको बहुदलीय जनवादको जगमा जनगठबन्धन

सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्न जनताको बहुदलीय जनवादको जगमा जनगठबन्धन बनाएर आगामी चुनावमा जान सकियोभने नेपालमा वामपन्थीको नेतृत्वमा एकल बहुमतको सरकार बन्न सक्छ। वामपन्थी नेता तथा कार्यकर्ताहरूले बुझ्नुपर्छ, उपयोगितावाद र कुण्ठाको पछि लागेर न राजनीतिक भविष्य सुरक्षित र बलियो हुन्छ न त देशमा देखिएका समस्याहरूको दिगो समाधान। त्यसैले ज–जसले आफूलाई कम्तिमा वामपन्थी ठानेका छन्, ति सबैले विगतबाट सिकेर वर्तमानमा क्रियाशील हुँदै भविष्य निर्माणमा आ–आफ्नो क्षमतानुसारको योगदान दिन र त्याग गर्न तयार हुनुपर्छ।

७१औं मदन जयन्तीको अवसरमा विराट अनुपमले लेखेका थिए, “जनताको बहुदलीय जनवादमा उल्लेख भएका कुराहरू लागु हुने होभने नेपालमा समाजवाद स्थापनाका लागि अरू कुनै क्रान्ति आवश्यक पर्दैन् र अरू कुनै सिद्धान्त चाहिंदैन्। नेकपा एमालेमात्र होइन नेपाली कांग्रेस वा अन्य कुनै दलले पनि जनताको बहुदलीय जनवादको अक्षरसः पालना गर्ने होभने समाजवादको आधार तयार गर्न सक्छन्।” तर दुर्भाग्य नै भन्नुपर्छ, माधव, झलनाथ र प्रचण्ड अर्थात माझण्डहरू जनताको बहुदलीय जनवाद अर्थात नेकपा एमालेलाई कमजोर बनाउने लक्ष्य लिएर दक्षिणपन्थी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अघि लगाएर समाजवादको यात्रा गर्ने उद्घोषका साथ एमालेका विरूद्ध संयुक्त चुनावी मोर्चा बनाउने संकल्प गरेर त्यसको प्रतिबद्धता भारतलाई पनि सुनाएका छन्।

प्रचण्डले भारत भ्रमणपछि कान्तिपुरमा दिएको अन्तर्वार्तामा वेटिङ प्रधानमन्त्री र भारतको साथ भन्ने प्रश्नको उत्तर दिंदै भनेका छन्, “मैले भारत भ्रमणलाई त्यसरी नै भन्नु उचित हुँदैन् र त्यो होइन पनि। तर म ‘वेटिङ प्रधानमन्त्री’ हुन थालेको धेरै वर्ष भइसक्यो। म वेटिङ, वेटिङ, वेटिङ जस्तो भइराख्या छ। त्यो वेटिङ फेरि मेरो आफ्नै कारणले हो। मलाई चाहिएन भन्ने नै गरेको छु, मैले। किनभने लोकतन्त्रको सुदृढीकरण, संविधान कार्यान्यवयनको वातावरण र जनताको आकांक्षानुसार विकास निर्माणको गतिविधि होस् भन्नेतिर मेरो ध्यान छ। मानिसले ‘वेटिङ प्रधानमन्त्री’ भन्छन्। तर त्यसबारेमा मैले धेरै सोच्नुपर्ने ठानेको छैन्।”

त्यस्तै प्रचण्डले कान्तिपुर कै अन्तर्वार्तामा सरप्राईज गठबन्धनको बारेमा सोधेको प्रश्नमा उत्तर दिंदै भनेका छन्, “मैले देशभित्र कांग्रेससँग या कांग्रेसभित्रका विभिन्न प्रवृत्तिसँग कुरा गर्दा वा अरूसँग पनि भनेको छु। भारतीय नेताहरूसँग पनि अहिले कुनै सरप्राईज हुँदैन् भनेको छु। संविधान र लोकतन्त्रको रक्षा तथा जनताको विकासको आकांक्षालाई सम्बोधन गर्ने दिशामा अहिले कै गठबन्धनले काम गर्छ।”

माझण्डहरूका गतिविधिहरूले नेपालको राष्ट्रिय आकांक्षा बलियो हुन नदिन हिजो जनादेश प्राप्त केपी ओली नेतत्वमा रहेको वामपन्थी सरकारलाई परमादेशमार्फत विस्थापित गरेर संविधान र लोकतन्त्र जोगाउन भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर दक्षिणपश्चिमको रणनीतिअनुसार एकातिर वामपन्थी आन्दोलन कमजोर बनाउने राजनीति गरिरहेका छन् भने अर्कोतिर बाह्य स्वार्थअनुसार गठबन्धन कायम गर्ने संकल्प गरिरहेका छन्। तर अचम्मको कुरो “जनादेशअनुसार एउटा पूरा कार्यकाल सरकार चलाउँछु भन्दा दक्षिणपन्थी भनेर केपी ओलीको विरोध गरियो भने जनादेश खण्डित हुने अवस्था आउँदा नयाँ जनादेश लिन जान्छु भन्दा प्रतिगमन भयो भनियो। आज तिनै माझण्डहरू जनादेश विपरीत दक्षिणपन्थी दलको नेतृत्वमा रमाएर हामी सच्चा वामपन्थी हौं भन्दै जनता झुक्याउन खोज्दैछन्।”

कुन बाटो ठीक ? तर्कको कुनै सिमा छैन्। मार्क्सवादी भन्नेहरू पनि धेरै देखिए र उनीहरूका तर्क पनि आआफ्नै खालका भेटिन्छन्। तर सच्चा मार्क्सवादी हुँ भन्नेहरूले बुझ्नुपर्छ, माझण्डहरू मार्क्सवादको बर्को ओढेका बुर्जुवा दक्षिणपन्थी अवसरवादको सेवक भइसकेका छन्। त्यसैले विविध कारणले नेकपा माओवादी र एसमा लागेका नेता तथा कार्यकर्ताहरूले समय मै माझण्डहरूलाई चिन्न सक्नुपर्छ। केपी ओलीले पनि दक्षिणपन्थीलाई हराउने र नयाँ जनादेशबाट एकल वामपन्थी सरकार बनाउने संकल्पका साथ वामपन्थी जनमत विभाजित हुन नदिन नेकपा एमालेको नेतृत्वमा वामपन्थीहरूको साझा उम्मेदवार उठाउने राजनीतिक तथा वस्तुगत आधार तयार गर्नुपर्छ। अन्यथा ‘विभाजन र शासन’ नीतिअनुसार वामपन्थी जनमत विभाजित गरेर चुनावमा दक्षिणपन्थी जिताउन माझण्डहरू सफल हुनेछन्। त्यसैले जनगठबन्धन बनाउँदै वामपन्थी सरकार बनाउने अभियानमा सबै वामपन्थीहरू एक ठाउँमा उभिनुपर्छ।

हामीले बुझ्नुपर्छ, असजिला मान्छेहरू कहिल्यै सजिला हुँदैनन्। सन्देहपूर्ण प्रश्नहरू गरिरहन्छन् अनि विवादास्पद बोली र व्यवहारबाट परिस्थिति जटिल बनाउन रमाउँछन्। हिजोआज माझण्डहरूको प्रश्न, बोली र व्यवहारहरूले उनीहरू असजिला अर्थात दक्षिणपन्थी भएको प्रमाण दिइरहेको छ।

सहर हल्लामा चलेको छ

गाउँठाउँ सुखदुखमा टिकेको छ।

जीवन हल्लाले होइन

सल्लाह र सहकार्यले टिक्ने

हामीलाई गाउँले सिकाएको छ।

भ्रमको भिंडले नेतृत्व चुन्दा

नेपालीहरूको दैनिक जीवन

बुर्जुवाहरूको नेतृत्वमा फेरि दबेको छ।

भन्छन् काम गर्न देउ उसलाई

बुझ्दिन म त्यति

भ्रमित भिंड कुन आसामा बोलेको छ ?

यही सन्दर्भलाई निर्मल प्रसाईले सामाजिक सञ्जालमा लेखेका छन्, “कुनै अदृश्य पात्र जादुगर झैं उत्पत्ति हुन्छ र सारा समस्याको समाधान मसँग छ भन्छ, पदमा पुगपछि उही समस्याको श्रोत बन्छ। प्रचण्ड र बालेन जीवन्त उदाहरण हुन्।” प्रसाईले देखेको र भोगेको कुरा प्रचण्डको सन्दर्भमा कुनै प्रमाण खोजिरहनु पर्दैन्। तर बालेनका सन्दर्भमा प्रशस्त शंका गर्ने परिस्थिति बन्दैछ, प्रमाणित भने भएको छैन्। प्रचण्डको व्यवस्थापन नहुँदा उनी अहिले देशको मुख्य समस्या बनेका छन्। आज त्यही समस्यालाई उपयोग गरेर दक्षिणले नेपालमा राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गर्ने रणनीतिअनुसार लगानी गरिरहेको छ। प्रचण्डको भारत भ्रमण त्यसकै लागि भएको कुरा हामीले बुझ्नुपर्छ।

हाम्रो चेतना पनि गजबको छ, खराबलाई असल देख्छौं, असललाई खराब भो भन्छौं। असल र खराब छुट्याउनु भन्दा भ्रमित भिंडको पछि लागेर नारा लगाउँछौं। दलीय प्रणालीमा निर्दल खोज्छौं, स्वतन्त्रको आवरणमा दल चाहियो भन्छौं। कम्न्युनिष्टको झण्डा बोकेर दक्षिणपन्थीको सेवामा रमाउँछौं। परदेशको सम्वृद्धिमा आफ्ना सामार्थ्यहरू खर्चन्छौं र परिचय पनि बदल्छौं अनि देश सम्वृद्ध बनेन भनेर रोष प्रकट गर्छौं। हामी नेपालीको यो खालको विरोधाभासपूर्ण बोली र अवसरवादी व्यवहारका कारणले विदेशीहरूलाई नेपालमा आन्तरिक मामलामा हस्तक्षेप गर्न सजिलो भइरहेको छ।

अवसरवाद ज्यादै खतरनाक हुन्छ। कहिले क्रान्तिको आवरणमा हत्याहिंसामा रमाउँछ त कहिले दक्षिणपन्थीको पाउ समाउँछ। जनमन अलमल्याउन वामपन्थीको समाजवादी केन्द्र बनाउने हल्ला चलाउँछ। फेरि एउटा पक्ष पहिले त्यो वैकल्पिक शक्ति बनाउँछौं भनेर दलीय राजनीतिमा सक्रिय हुन्छ अहिले पार्टीप्रति नकारात्मक प्रश्न उठ्न थालेपछि प्रश्न छल्न स्वतन्त्र बनेर राजनीति गर्न खोज्छ। परिस्थिति अलि फरक देखिन खोज्योभने भोलि दलको विकल्प दल भनेर राजनीतिमा दलको झण्डा बोकेर आउन सक्छ। यसर्थ सबैखाले अवसरवादबाट देश जोगाउने होभने वामपन्थीहरू जनताको बहुदलीय जनवाद जगमा एकजुट भएर सम्वृद्धिको बलियो आधार बनाउनका लागि क्रियाशील हुनुपर्छ।