१३ बैशाख २०८१, बिहीबार 1714054731
खेलकुद

सरकारले एशियाली खेलकुदको स्वर्ण विजेतालाई ३२ लाख ५० हजार प्रदान गर्ने

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले चीनको हाङझाउमा आयोजना हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई रु ३२ लाख ५० हजार प्रदान गर्ने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राष्ट्रका लागि पसिना बगाउने खेलाडीका लागि पुरस्कारस्वरूप उक्त रकम प्रदान गर्ने बताउनुभयो ।

मन्त्री गहतराजले उक्त प्रतियोगितामा रजत जित्ने खेलाडीलाई रु १९ लाख ५० हजार र कास्यपदक जित्नेलाई रु १३ लाख प्रदान गर्ने जानकारी दिनुभयो । एशियाली खेलकुद प्रतियोगिता आगामी २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तरिखसम्म हुने तय भएको छ । यसैगरी मन्त्री गहतराजले उक्त प्रतियोगिता तयारीमा केही कमी नरहने भन्दै खेलाडीे प्रशिक्षणका लागि थप आवश्यक रकम विनियोजन गर्न पछि नहट्ने बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १९औँ एशियाली खेलकुद प्रतियोगिता तयारीका लागि आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो ।

यसैगरी राखेप सदस्य सचिव टङ्कलाल घिसिङले एशियाली खेलकुद प्रतियोगिता तयारीका लागि खेलाडीले निकै मेहनत गरिरहेको भन्दै उक्त प्रतियोगिताका लागि सरकारले रु १० करोड बजेट छुट्याएको बताउनुभयो । एशियाली खेलकुद प्रतियोगिताको पहिलो चरणको ४० दिनको प्रशिक्षण सम्पन्न भएको छ । अबको केही दिनपछि दोस्रो चरणको प्रशिक्षण सुरु गर्ने राखेपले जनाएको छ ।