१३ बैशाख २०८१, बिहीबार 1714106851
पर्यटन

त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला सुरु

खोटाङ । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा ‘बोलबम’ मेला सुरु भएको छ । साउन महिनाभर हलेसीमा लाग्ने बोलबम मेलाको पहिलो दिन आज (सोमबार) बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

साउनको पहिलो सोमबारदेखि सुरु भएको बोलबम मेलाका अवसरमा पैदल तथा यातायातका सवारीसाधनमार्फत गेरुबस्त्रधारी दर्शनार्थी हलेसी आउने गरेका छन् । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा लाग्ने बोलबम मेलामा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलामसहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भूटान, चीनको तिब्बतलगायतबाट दर्शनार्थी आएका छन् । 

मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ । हलेसीमा देश तथा विदेशबाट आएका हिन्दू धर्मावलम्बीले नुहाएर व्रत बस्नुका साथै महादेव, पार्वती र गणेशलाई जल चढाउने गर्छन् । 

हलेसीमा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकाङ्क्षा पूरा हुने र सुखशान्ति मिल्ने विश्वास छ । 

 बोलबमका अवसरमा हलेसी आएका दर्शनार्थीका कारण अहिले हलेसीका साना तथा ठूला होटल भरिएका छन् । साउन लागेयता हलेसी र जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाराहा पोखरीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रङको पहिरनमा सजिएका पुरुषकोसमेत चहलपहल बढेको छ । 

हलेसी र हलेसी ओहोरदोहोर गर्ने बाटोमा सामूहिकरुपमा ‘बोलबम’ उच्चारण गर्दै घुमफिर गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै देखिन्छ । स्थानीयका अनुसार हलेसी र बराहा पोखरीमा बोलबम मेला लाग्ने प्रचलन भने पाँच÷छ वर्षअघिदेखि मात्र सुरु भएको हो । 

तराईबाट हलेसीसम्म आउने र जाने सडक बिस्तार भएपछि मात्र हलेसीमा बोलबम मेला लाग्न थालेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो । तराईबाट सिधै कटारी–घुर्मी–जयराम हुँदै हलेसीसम्मको यातायात सेवा बिस्तार भएपछि बोलबमका अवसरमा दर्शन गर्न र मेला भर्न जिल्ला आउने दर्शनार्थीको सङ्ख्या बर्सेनि बढ्दो रहेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।