८ बैशाख २०८१, शनिबार 1713637025
Banner

एकैदिन ४५७ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो समयमा एकजना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार चार हजार ६५१ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४५७ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा दुई हजार ३४१ जनाको आरटी पीसीआर गर्दा ३८६ जनामा र दुई हजार ३१०  जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा सङ्क्रमण देखिएको छ ।

परीक्षण गरिएकामध्ये ९.८२ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी १६३ जना काठमाडौंमा रहेका छन् । त्यसैगरी, भक्तपुरमा १० र ललितपुरमा ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

२४ घण्टामा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ९८ हजार नौ सयजनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७७६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

शून्य सङ्क्रमित भएका जिल्ला आठ छन् । काठमाडौंमा एक हजार १३, भक्तपुरमा २८,ललितपुरमा ९२ जना सक्रिय सङ्क्रिमत रहेका छन् ।