५ बैशाख २०८१, बुधबार 1713332779
प्रदेश

भृकुटी कागज कारखाना बन्द भएको १२ बर्षपछि सार्न सरोकार समितिको आग्रह

नवलपुर- चीन सरकारको सहयोगमा पूर्बी नवलपरासीको गैंडाकोटमा ४२ बर्ष अघि संचालनमा आएको नेपालको सबै भन्दा ठुलो कागज कारखाना भृकुटी कागज कारखाना बन्द भएको झण्डै १२ बर्ष भयो ।

लामो समयसम्म बन्द अबस्थामा रहेको यो चर्चित कागज कारखाना संचालनमा आउने अझै कुनै छनक छैन ।

अब त यसका संरचनाहरु पनि खण्डहरमा परिणत हुँदै जान थालेका छन ।  कुरुप र खण्डहर बनेको भृकुटी कागज कारखानाका मेशिनसँगै सबै सामानहरु अहिले लथालिंग अबस्थामा छन ।

२०३७ सालदेखि संचालित यो कारखाना २०४८ सालमा सरकारले निजीकरण गर्ने नाउँमा गोल्छा अर्गनाईजेशनलाई रु ३० करोड ९८ लाखमा बिक्री गरेको थियो ।

निजीस्तरमा संचालनामा आएको भृकुुटी कागज कारखाना २०६७ सालमा बन्द भएको हो ।

बन्द भएपछि यसका करोडौंका सामानहरु नष्ट भएर जान थालेका छन ।

अहिले भृकुटी कागज कारखाना खण्डहर जस्तै बनेको भृकुटी कागज कारखाना सरोकार समितिका संयोजक सामाजिक अभियन्ता बेदप्रसाद गौडेल बताउनुहुन्छ ।

गैंडाकोट नगरपालिकाको वडा नं २ मा राजमार्गसँगै रहेको यो कारखाना २०६७ देखि बन्द भएपछि स्थानीयले चासो राख्दै आएका छन तर उनीहरुको चासोलाई सरोकारवाला कसैले पनि वास्ता गरेका छैनन ।

खण्डहर बनेको यो कारखानाको दीर्घकालिन समाधान खोज्न भृकुटी कागज कारखाना सरोकार समिति गठन गरिएको छ ।

अहिले यो सरोकार समितिले कारखानाको स्थानान्तरणमा ध्यान दिन स्थानीय सरकार ,नेपाल सरकार ,प्रदेश सरकार र गोल्छा अर्गनाईजेशनलाई ध्यानकर्षण गराएको छ ।