६ बैशाख २०८१, बिहीबार 1713499466
पर्यटन

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा शर्मा निर्वाचित

सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित हुनुभएको छ । परिषद्को शनिबार भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनामा शर्मा अर्का अध्यक्षका उम्मेदवार धुव्र अधिकारीलाई पराजित गर्दै अध्यक्ष बन्नुभएको हो ।

अध्यक्ष शर्माले ७७२ मत प्राप्त गर्नुभयो भने अधिकारीले ५६८ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा प्रश्रय राजभण्डारी (६९६), गीता गुरुङ (५७८) र सहदेव धमला (६८३), महासचिवमा राजीव पाण्डे (६८१), सचिवमा रामचन्द्र गिरी (६५३) र कोषाध्यक्षमा पुण्यराम लगेजु (६३४) मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत पुष्पराम पौडेलले राससलाई जानकारी दिनुभयो । यस्तै आठ सदस्यमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला शिङ्खडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, तेञ्जिन लामा र लालबाबु चौधरी विजयी हुनुभएको छ ।

कूल १५ सदस्यका लागि भएको निर्वाचनमा एक हजार ५९८ मतदातामध्ये झण्डै एक हजार ४०० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नुभएको थियो । मतगणना सम्पन्न भएसँगै सञ्चारकर्मीसँग कुरा गर्दैै नवनिर्वाचित अध्यक्ष शर्माले समग्र ठमेल क्षेत्रको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले हाम्रो ठमेल, राम्रो ठमेल निर्माणका लागि आफू कटिवद्ध भएर लाग्ने बताउनुभयो । एक कार्यकाल आमन्त्रित केन्द्रीय सदस्य, एक कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भइसक्नुभएका शर्माको स्थायी घर बाग्लुङ हो । उहाँ लामो समयदेखि ठमेलमा स्पा, होटललगायत पर्यटकीय गतिविधिमा सङ्लग्न हुनुहुन्छ ।