२२ माघ २०७९, आईतवार 1675579013
Banner

खाना, पर्यटन अनि समृद्धि

विश्वमा विज्ञान, संस्कृति र धर्मसँग खाद्य पदार्थ अभिन्न रूपमा गाँसिएको छ । सुखद परिवेश र संयोग नै मान्नु पर्छ न्यूटनले रुखबाट जमिनमा खसेको स्याउ देखेपछि नै गुरुत्वाकर्षणको नियम पत्ता लगाए । वैदिक कालमा खानामा दूध र फलफूल बढि प्रचलनमा थियो । पेय पदार्थको लागि ‘सोमरस’ लोकप्रिय बन्यो । यहाँ खाना देवतालाई ‘चढाउने’ र भूतलाई ‘मन्साउने’ पदार्थ हो । कसैलाई देखाएर खाँदा ‘चोखे’ लागेर बिरामी परिन्छ भन्ने मान्यता यहाँ छ । पाहुनलाई केही न केही खुवाएर विदा गर्नु हाम्रो परम्परा बनेको छ । खाना समाजलाई बाँध्ने र जोड्ने संयोजक हो । त्यसैले खाना जीवन हो । जीवन सभ्यता हो । खाना प्रतिष्ठाको विषय हो । खाना समृद्धि हो । समृद्धि खुशी हो । खुशी प्रकृतिको वरदान हो । खाना तथा पेय पदार्थ भौतिक विषय मात्र होइन, भावनात्मक चिज पनि हो । मुखमा नपर्दा नै पनि खाना देख्दा जीब्रो रसाउनु त्यसैको द्योतक हो ।

खाना र पेय पदार्थ कुटनीति र राजनीतिसँग गहिरोसँग जोडिएका छन् । खाना र पेय कुटनीति भन्ने अवधारणा विश्वमा चलेको छ । लन्च बैठक र डिनर बैठकले स्वदेश तथा अन्तर्राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने गरेका छन् । स्वाभाविकरूपमा लिनुपर्ने यस्ता विषयहरु कहिलेकाहिँ अलि धेरै चर्चाको विषय पनि बन्ने गरेका छन् । विश्व राजनीतिमा वाइन डिप्लोमेसी प्रचलनमा छ । बोटल डिप्लोमेसी शब्दावली समकालीन कुटनीति र राजनीतिमा प्रयोगमा छन् । प्राचीनकालमा विशिष्ट पाहुनालाई स्वागत गर्ने परम्परा र हाल कुटनीतिक मर्यादाभित्र पर्ने ‘टोस्ट’ प्रस्ताव र स्वीकार कसरी गरियो भन्ने कुराको विश्लेषण नै हुने गर्दछ । खानाको अभिन्न अंगको रूपमा रहेको पानीको कुटनीति र राजनीतिले विश्वमा तरंग नै ल्याइरहेको छ । जलवायु परिवर्तनको कारणले पानीको संकट चिन्ताको विषय बनेको छ । अन्तर्राष्ट्रिय सम्मेलन तथा गोष्ठीहरूमा खाद्यान्न र पानीको विषयमा सघन रूपमा छलफल भइरहेका छन् । उर्वर भूमि र पानीमा समृद्ध हामीले यसको सदुपयोग गर्दै समृद्धिको यात्रालाई सहज बनाउनु पर्दछ ।

खाद्यान्नका दुई स्रोत छन्ः वनस्पति र जीवजन्तु । त्यसैले खानाका निम्ति प्रकृतिप्रदत्त वनस्पति र जीवजन्तुको संरक्षण गर्नु पर्दछ । समाजमा विस्तारै पाक कला र पाक विज्ञानबाट आर्जित ज्ञानलाई कुशलतापूर्वक पस्किने कार्य खाद्य पर्यटनको रूपमा विकास भयो । आर्थिक रूपमा विकसित मुलुक र त्यसका नागरिकले खाद्य तथा पेय पदार्थमा ठूलो लगानी गर्न थाले । खानामा अर्थोपार्जन देखे, खानामा आनन्द भेटे । सञ्चारमाध्यममा सबैभन्दा बढि विज्ञापन खाना र पेय पदार्थकै हुन्छ । विभिन्न मुलुकहरू पर्यटकलाई कसरी स्वदेशी खाद्य तथा पेय पदार्थले सेवा गर्ने भन्नेमा दत्तचित्त बने । जहाँ स्वस्थ खाना तथा पेय पदार्थ प्रवद्र्धन भयो त्यहाँ पर्यटकको घुइँचो लाग्न थाल्यो ।

कानून सामाजिक मूल्य, रितिरिवाज, मान्यता र परम्पराका आधारमा निर्माण भएको हुन्छ । मानव अधिकार मान्छेलाई सम्मान प्रदान गर्न र संरक्षण गर्नका लागि नै हो । मानिसको आधारभूत आवश्यकता बोलिचालिको भाषामा भन्नुपर्दा गास, वास र कपास हुन् । यी तीन भौतिक वस्तुमा सर्वप्रथम गास पर्नु खाना नहुँदा मान्छे नबाँच्ने भएर नै हो । नेपालको संविधानले पहिलोपटक खुलेरै खानाको अधिकारलाई मौलिक मानव अधिकारको रूपमा स्वीकार गरेको छ । यो भनेको नेपालले मानव सभ्यताप्रति दृढरूपमा समर्थन र सम्मान गरेको अवस्था हो । मानवीय प्रतिष्ठाप्रति जनाइएको निष्ठा हो ।

नेपाल पर्यटन क्षेत्रमा ठूलो संभावना बोकेको देश हो । यहाँको प्राकृतिक सुन्दरता र अद्वितीय साँस्कृतिक विविधतासहितको सकारात्मक परिवेशलाई आत्मसात गर्दै मुलुक पर्यटनको विकासमा लम्किरहेको छ । देशको राष्ट्रिय नीति, योजना तथा कार्यक्रममा लामो समयदेखि नै पर्यटन क्षेत्रले प्राथमिकता पाउने गरेको छ । कार्यान्वयन तहमा देखिएका कतिपय कमिकमजोरीले पर्यटन उद्योगको यथोचित विकास हुन सकिरहेको छैन । पर्यटन उद्योग देशको विकास तथा समृद्धिसँग गाँसिएको विषय भएकाले पर्यटन प्रवद्र्धनका निम्ति कुनकुन क्षेत्रमा सम्बद्ध पक्षले ध्यान पु¥याउनु पर्दछ भन्ने कुरा स्वतः आउने नै भयो । संसारमा पर्यटकहरूको रुचीलाई हेर्दा खाद्य पर्यटनले ठूलो क्षेत्र ओगटेको पाइन्छ । पर्यटनका विभिन्न आयामहरूमध्येको एक महत्वपूर्ण आयाम खाद्य पर्यटनलाई सुदृढ तुल्याएर चालु पर्यटन वर्षलाई सफलतापूर्वक सम्पन्न गरी अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रूपमा रहेको पर्यटन उद्योगमा नयाँ आयाम थप्नु पर्दछ । देशको खाद्य उद्योगलाई स्थानीय रैथाने कृषि बालीसँग जोड्दै स्वस्थ खाद्य तथा पेय पदार्थ उत्पादन गर्न जोड दिनु पर्दछ । कृषिको आधुनिकीकरण एवं व्यापारीकरण गरी स्वस्थ खाद्य पदार्थहरू स्थानीय हाटबजार, शहर र डिपार्टमेन्टल स्टोरहरूमा पु¥याउनु पर्दछ । गुन्द्रुक र सिन्कीलाई ब्रान्डेड अचार र सुपका रुपमा प्रवद्र्धन गर्नसके खाद्य संस्कृतिमा नेपाली पहिचान हासिल हुनेछ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित नापा भ्याली वाइनरी, वेलायतको स्कटल्याण्ड ह्वीस्की र जर्मनी वियरका लागि विश्वप्रसिद्ध बन्न सक्छन् भने अरु देशका खानाहरू कुनै दिन विख्यात हुँदैनन् भन्ने हुन्छ र ? विकास र समृद्धिका लागि आकांक्षा त सबैले राख्नै पर्छ ।

अन्तर्राष्ट्रिय रूपमा नेपाललाई एक आकर्षक र भरपर्दो पर्यटकीय स्थलको रूपमा विकसित गरेर राष्ट्रिय उत्पादन, विदेशी मुद्रा आर्जन र रोजगारीका अवसरहरूको सिर्जनामा अधिकतम बृद्धि गर्नका निमित्त नेपाल पर्यटन बोर्डको स्थापना गर्न र त्यसको कार्य सञ्चालन सम्बन्धी व्यवस्था गर्न नेपाल पर्यटन बोर्ड ऐन जारी भएको छ । यस ऐनले रेष्टुराँ सेवालाई पर्यटन व्यवसाय भनेबाट रेष्टुराँ तथा होटलमा तयार हुने खाद्य तथा पेय पदार्थ पर्यटकले सेवन गर्नसक्ने गरी गुणस्तरको हुनुपर्ने कुरा स्पष्ट छ । पर्यटन नीतिले नेपालका प्राकृतिक, साँस्कृतिक, जैविक एवं मानवनिर्मित सम्पदाहरूको संरक्षण तथा प्रवद्र्धन गर्दै नेपाललाई विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलको रूपमा विकास गर्ने कुरा उल्लेख छ । पर्यटन विकासका लागि निर्धारण गरिएका ग्रामीण क्षेत्रहरूमा खुलेका होटल, रेष्टुराँ, होमस्टे तथा रिजोर्टहरूलाई आवश्यकता अनुसार तोकिएका सुविधा तथा सहुलियतहरू प्राथमिकताका साथ उपलब्ध गराउने व्यवस्था छ । फलस्वरूप देशका विभिन्न भागमा होमस्टे सेवा लोकप्रिय बनिरहेका छन् । पर्यटकीय गतिविधि हुने यस्ता स्थलहरुमा खानाका मौलिक परिकारहरु पस्किनु पर्दछ ।

तराई, पहाड र हिमालसहितको दुर्लभ भौगोलिक विविधता नेपालको विशेषता हो । फरकफरक हावापानी हुने तीन प्रकारको भौगोलिक अवस्थितिमा अलगअलग खाद्य बालीले स्थान पाउनु प्राकृतिक विषय हो । साथै ३ वटै क्षेत्रमा विविध जातजातीसहित अकेकौँ साँस्कृतिक विशेषता र रहनसहन यहाँको अद्वितीय सम्पदा हुने भए । यस्तो परिवेशमा हरेकका भिन्नभिन्न खाद्य परम्परा र खाद्य संस्कृति चाडपर्वमा झन प्रष्टसँग प्रष्फुटित हुनु स्वाभाविक हो । विभिन्न जातजातीमा विविध प्रकारका खाना तथा पेय पदार्थ भएकाले पर्यटन प्रवद्र्धनमा यसको सदुपयोग गर्नु पर्दछ ।
हाम्रो देशमा परम्परागत रुपमा रहेका विभिन्न परिकारहरू आन्तरिक तथा बाह्य पर्यटनका निम्ति उर्वर क्षेत्र हुन् । यसको यथोचित प्रचार प्रसार र सुदृढीकरण गर्नसके रोजगारी प्रवद्र्धनसहित आय आर्जनमा ठूलो प्रगति हुन सक्छ । आजकल शहरबजारमा विशिष्टिकृत खाना पस्कने होटल तथा रेष्टुराँहरू पाउनुले खाद्य पर्यटनको अवधारणाको महत्व दर्शाउँछ । बजारमा नेवारी फुड, थकाली फुड, इन्डियन फुड, चीनियाँ फुड, थाइफुड, जापानी फुड, कोरियन फुड, इटालियन फुड, कन्टिनेन्टल फुड आदि प्रचलनमा छन् ।

खर्च गर्न इच्छाशक्ति भएकाहरू नै पर्यटक बन्ने हो । भिन्न परिवेश अनुभव गर्न र स्वाद लिन नै पर्यटक हुने हो । घुम्ने र डुल्नेले खानु त पर्छ नै । यस्तो अवस्थामा रैथाने स्वाद लिन पर्यटक आकर्षित हुनु स्वाभाविक हो । यस्ता पर्यटकलाई लक्षित गरी खाना तथा पेय पदार्थ विकास गर्नु व्यवसायीहरूको कुशलता हो । पाकशिक्षाको माध्मबाट सिर्जनशील भएर नयाँ मेनु बनाउन सक्नु होटल, रेष्टुराँ, होमस्टे, रिजोर्टको व्यावसायिक कुशलता हो । यसबाट साना व्यवसायिहरू पनि पछि ठूला पर्यटन उद्योगीको रुपमा विकसित हुने संभावना हुन्छ ।

वर्तमान विश्वमा भूमण्डलीकरणले खाद्य संस्कृति मौलाएको छ । विदेशी पर्यटकले प्रायः जुनसुकै मुलुकमा आफ्नो देशको खाना तथा पेय पदार्थ प्राप्त गर्न सक्दछ । यो एउटा यथार्थता हो । आफ्नो परम्परागत भन्दा स्थानीय खानाका लागि पर्यटकहरू इच्छुक हुने कुरा अनुसन्धानले देखाएका छन् । नेपालको लोकपृय खाना दाल, भात, तरकारी र अचार हो । नेपालको टे«किङबाट फर्किएर आउने विदेशीहरू दालभातबाट राम्रैसँग परिचित हुनेगरेको तथ्य जगजाहेर छ । यसमा पनि थकाली खानाले आजकल अलि बढि लोकपृयता आर्जन गरेको छ । विगतमा मूल्यहीन ठानिएका फापर, कोदो, मकैको च्याँख्ला, रोटी र ढिँडो आज लोकप्रिय बन्दैछन् । परम्परागत साधन ढिकी, जाँतो, सिलौटामा पिँधेर तथा पिसेर बनाइएका खाद्य परिकारहरु स्वादिलो मानेर खाइन्छ । मःमः देशैभर पाउने खानाको कोटीमा परिसकेको छ । काठमाडौँ उपत्यकामा नेवारी खाना सन्तुलित खानाको रूपमा रहेको मानिन्छ । हिमाली भेगमा तिब्बतीयन प्रभावको खाना प्रचलनमा रहेको छ । थारु समुदायमा चिचर प्रख्यात छ । राजवंशी समुदायमा भक्का लोकप्रिय छ । साँस्कृतिक खानाका नाममा दिवस मनाउने र फुड फेस्टिभल आयोजित भइरहेका छन् । चिया आतिथ्य सत्कारको पेय पदार्थका रुपमा बुझिन्छ । अर्गानिक खाद्य पदार्थ सेवन गर्न पर्यटक आकर्षित हुन्छन् । किनकी पर्यटक हुनु भनेकै नयाँपन अनुभव गर्न हिँड्नु हो । यसर्थ फरक स्वाद उत्पादन गर्न लागिपर्ने हो भने पर्यटकलाई आकर्षित गर्न सजिलै सकिन्छ । गुणस्तरीय खाना छ भने साथमा कसैले खाना लिएर हिँड्दैन र स्थानीयस्तरमा उपलब्ध खानेकुरा नै पर्यटकले सेवन गर्ने अवस्था हुन्छ ।

सर्वसाधारणको स्वास्थ्य तथा सुविधा कायम राख्न खाद्य पदार्थमा कुनै अवान्छनीय मिसावट रोक्न वा खाद्य पदार्थमा रहेको स्वाभाविक कुनै गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने गर्न र खाद्य पदार्थको उचितस्तर बनाई राख्नको निमित्त कानुनी व्यवस्था गर्न खाद्य ऐन आएको छ । परिणाम प्रतिकूल आए विश्वासको संकट आउँछ र पर्यटन प्रवद्र्धनमा प्रतिकूल प्रभाव पर्दछ । यस प्रावधानको कत्तिको कार्यान्वयन भइरहेको छ, सम्बन्धीत निकायले समीक्षा गर्नु पर्दछ । ऐनको कार्यान्वयन प्रभावकारी भए नभएको अनुगमन तथा रेखदेख गर्नुपर्दछ ।

विदेशी पर्यटक भित्रिने हवाई मार्गबाट भएपनि यहाँ आएपछि पैदल तथा सडक यातायात नै बढि प्रयोग हुन्छ । खानाका निम्ति पर्यटकहरूले स्ट्रिट फुड, होटल तथा रेष्टुराँको उपयोग गर्नुपर्ने हुन्छ । त्यसैले खाना उत्पादन गर्ने सबैले वरीपरिको वातावरण सफा र आकर्षक राख्ने, सेवा दिने व्यक्ति सफाईसहित चिटिक्क हुने, हँसिलो र फुर्तिलो भएर सेवा उपलब्ध गराउने हुनुपर्दछ । पाहुनलाई देवता सरह मान्ने नेपाली असल परम्परालाई कायम राख्न सम्बद्ध सबै पक्ष जागरुक बन्नु पर्दछ । पर्यटन उद्योगको विकासका निम्ति यस्तो सभ्य र भव्य संस्कृति सधैँ प्रबद्र्धन गर्दै अघि बढ्नु आम नेपालीको दायित्व हो ।