४ बैशाख २०८१, मंगलवार 1713267969
Banner

प्रचण्डको ‘भत्काउने’ राजनीतिबाट प्रताडित नेपाल

सूचना प्रेस बिश्लेषण – ‘पार्टी माओले भनेजस्तो जमेको पोखरी होइन, गड्गडाउने याङ्कसी नदीजस्तो हो, जसले भत्काउँदै हिड्छ । मैले जीवनकालमा धेरैपटक पार्टी भत्काइदिएको छु । किनभने म आउनेबित्तिकै मैले मशाल सिध्याइदिएको हो । मोटो मशालको दाहसंस्कार गरेपछि एकताकेन्द्र बनाएँ । एकताकेन्द्र पनि भत्काइदिएँ र माओवादी बनाएँ । फेरी माओवादी भत्काएँ, एकीकृत माओवादी बनाएँ । भोलि के हुन्छ हेर्दै जानु होला ।’

प्रचण्डले २०६९ सालमा आफू को हुँ भन्नेवारेमा पत्रकार शुभशंकर कँडेललाई यस्तो बयान गौरवबोधका साथ दिएका रहेछन् । कँडेलले ‘अवतरण’ शिर्षकको आफ्नो पुस्तकको पेज (६५–६६) यो उल्लेख गरेका छन् । भोलि के के हुन्छ हेर्दै जानुहोला भन्ने प्रचण्डले त्यसपछि एकीकृत माओवादी केन्द्र सिध्याएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोश्रो अध्यक्ष बने र तीन बर्ष पुग्दानपुग्दै नेकपा पनि भत्काएर फेरी ‘लिलिपुट’ माओवादी केन्द्रकै अध्यक्षमा फर्के । यो चाँही नवनिर्वाण नभएर स्खलन थियो । आफू भत्काउन माहिर रहेको उनले पछि कान्तिपुरका प्रधानसंपादक सुधीर शर्मासँगको संवादमा समेत बडो खुशीपूर्वक सुनाएका थिए ।

अहिले ५ सय मिलियन अमेरिकी डलर (करिव ६० अर्व नेपाली रुपैयाँ) को अमेरिकी एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोग परियोजना स्वीकार गर्ने वा नगर्ने भन्नेमा प्रचण्डको भत्काउने यो चरित्रको स्मरण गरिएको हो । प्रचण्ड जहाँ प्रवेश गर्छन्, त्यहाँ उनले भत्काउँछन्, ध्वंश पार्छन् र सिध्याउँछन् । तर उनी आफ्नो असफलता छोप्न रणनीतिक प्रयोग गरिएको भारी भरकम शब्दजाल बुन्छन् । एमसीसी कुनै पनि हालतमा नेपालले लिनुहुँदैन भनेर कार्यकर्ता र नेतालाई ठग्छन, ढाँट्छन् र बेवकुफ बनाउँछन् तर खुत्रुक अमेरिकी राजदूतलाई भेटेर एमसीसी जसरि पनि पास गर्ने हो भन्छन् । पार्टीका कार्यकर्ता नेताको हैसियत र भावना बुझेर उनी एमसीसीको विरोधमा उत्तेजित भाषण दिन्छन् तर वासिङटनतिर पत्र पठाएर पारित गर्ने प्रतिवद्धता जनाउँछन् ।

यस्तै गरे प्रचण्डले । २९ सेप्टेम्बरमा एमसीसीलाई प्रधानमन्त्री देउवासहित गठवन्धनको ‘किङमेकर’ बनेको हैसियत देखाउन संयुक्त पत्र पठाएर पाँचमहिना भित्र एमसीसी पारित गर्ने लिखित प्रतिवद्धता जनाए तर पत्र पठाएको छैन भनेर यता देशभित्रका नागरिक र पार्टी कार्यकर्तालाई ढाँटीरहे । जव पाँचमहिना पुग्दै गरेको स्मरण गराएर एमसीसीले ४ फेब्रुअरीमा २९ सेप्टेम्बरको पत्र सम्झाएर एमसीसी अनुमोदन हुने विश्वास राख्यो, प्रचण्डले त्यसलाई पनि छल्ने भरमग्दुर प्रयास गरे । तर त्यसैबीचमा पत्र नै सार्वजनिक भएपछि मात्र उनले धर्ती टेकेका हुन्, जुन उनको दोहोरोपन, दोग्ला चरित्रको एउटा वलियो ऐतिहासिक प्रमाणका रुपमा उनकै अघिल्तिर थियो । त्यसैलाई बाबुराम भट्टराइले ‘भित्रभित्र खाओवादी, बाहिरबाहिर माओवादी, सर्प देख्दा दुलाबाहिर हात, माछा देख्दा दुलाभित्र हात’ भनेर सटिक ट्वीट गरे । बाबुराम आफैं भने ‘कम्युनिष्ट बिग्रदा बाबुराम हुन्छन्’ भने नयाँ कथ्यका सर्जक हुन् ।

पत्रको कथा र कहानीतिर अहिले नलागौं किनकि प्रधानमन्त्री देउवा र प्रचण्डले कूटनीतिक प्रोटोकल विपरित अमेरिकाको एउटा सहसचिवस्तरको व्यक्ति प्रमुख भएको एजेन्सीलाई पत्राचार गरे, जसले स्वतन्त्र र सार्वभौम नेपालको छवी ध्वस्त पारेको छ । यहाँभन्दा कूटनीतिक लज्जा अर्को हुँदैन । तर अमेरिकी शिविरका देउवा र जता हात हाल्यो त्यतै ध्वस्त पार्ने नीति भएको सगौरव बताउने प्रचण्डलाई अलिकति पनि लज्जा महसुस भएको देखिदैंन ।

जनयुद्धकालमा भारतविरुद्ध लड्न सुरुङ खन्ने नीति ल्याएको प्रोपोगाण्डा गरी कार्यकर्ता र सोझा नागरिकलाई कथित् राष्ट्रियताको युद्धमा लाग्न उक्साए तर आफूभने भारतीय संस्थापन र खुफियाको मेजमानी खाएर भारतकै बिभिन्न शहरमा आरामदायी जीवन बिताइरहे । दशबर्षको जनयुद्धका क्रममा आठबर्ष प्रचण्ड भारतमै बसे, यता भारतविरोधी राष्ट्रवादको आलकारिक जेहाद् छेडे, उता तिनै भारतीयको आतिथ्यता स्वीकारेर बसे । २०६४ सालको संविधानसभाको निर्वाचनमा पहिलो पार्टी बनेपछि प्रधान सेनापति प्रकरण मच्चाए, सेनाभित्र पनि उनको त्यही ध्वस्त पार्ने नीति छिर्यो । रुक्मागंद कटवाललाई हटाएर कुलमान खड्कालाई प्रधान सेनापति बनाए तर त्यही प्रकरणमा सत्ताच्यूत पनि भए । जव प्रधानमन्त्रीबाट हटाउने संकेत पाए, उनले तुरुन्तै भारतीय दूतावासमार्फत् दिल्लीमा सन्देश पठाएर ‘प्रधान सेनापति हटाउने वा नहटाउनेवारेमा निर्णय गर्न भारतीय प्रधानमन्त्रीसँग सम्पर्क गर्न खोजेको तर समय नमिलेको बयान’ दिए, जो सार्वजनिक भइसकेको हो । तर त्यतिगर्दा पनि उनको प्रधानमन्त्री पद जोगिएन । त्यसपछि बल्ल त्यसपछिका प्रधानमन्त्री माधवकुमार नेपाललाई ‘नोकर’ को संज्ञा दिंदै यस्ता नोकरसँग होइन, मालिक (भारत)सँग सिधै लड्ने र तर्सेर बेलाबेला वार्ता गर्ने बाहिरबाहिर धम्कीको भाषा प्रयोग गरेका हुन् । अहिले त्यसबेलाका उनको भाषाका ‘नोकर’सँग उनको मिलिभगत गजवको छ, मायाँपिरती झाँगिएको छ ।
राजनीति युनानी दार्शनिक प्लेटोले सोचेजस्तो आदर्शवादी हुँदैन । राजनीति आफ्नोमात्र स्वार्थको लागि जस्तोसुके जालझेल, षड्यन्त्र न्यायिक हुने मेकियाबेली सिद्धान्तबाट मात्र पनि निर्देशित हुँदैन । राजनीतिमा अलिअलि झुट र बेइमानी त नागरिकले सहेकै हुन् तर प्रचण्डले जस्तो दिनलाई नै रात पार्ने तहको बेइमानी र झुटलाई सहनु हुँदैन । प्रचण्डको प्रकडभित्रका अत्यन्तै राष्ट्रवादी दावी गर्ने नारायणकाजी र त्यस्तैहरुका लागि प्रचण्डको एमसीसी प्रकरण माओवादी नीतिकै अंग हुनसक्ला तर त्यहाँभित्रका सच्चा राष्ट्रवादी र इमान्दार नेता –कायर्कर्ताका लागि प्रचण्डबाट मुक्त हुने एउटा अवसर पनि हो । अर्थात् प्रचण्डलाई माओवादीबाट मुक्त गर्ने । प्रचण्डले एकीकृत माओवादी केन्द्र सिध्याएकै छन् तर त्यसका बाछिटाबाट देशसमेत पिंडा भोग्दैछ । देशलाई प्रचण्डरुपी ध्वँशको प्रयोगशालाबाट जतिछिटो मुक्त गर्यो, त्यति राष्ट्र जीवित हुन्छ ।