१३ बैशाख २०८१, बिहीबार 1714095809
Banner

पाँचदलीय गठबन्धनलाई कायम राख्ने जसपाको निर्णय

काठमाडौं । विभाजित जनता समाजवादी पार्टीको संस्थापन पक्षले सत्तारुढ पाँचदलीय गठबन्धनलाई आगामी संघीय र प्रदेश चुनावसम्म निरन्तरता दिने निर्णय गरेको छ । वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि बढाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए । स्थानीय चुनावका केही तिता अनुभव भए पनि मुलुकका लागि गठबन्धन अझै आवश्यक रहेको यादवको भनाई छ । छआगामी निर्वाचनमा तालमेल गरेरै जाने हाम्रो निष्कर्ष छ,’ उनले भने ।

यादवले पार्टीको हितविपरीत काम गरेकाले डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरिएको बताए । आफूहरुसँग पार्टीको दुईतिहाइ शक्ति रहेको उनको दाबी छ । उनले आफूहरुले चाहेजस्तो नागरिकता विधेयक संसदबाट पारित हुन लागेको भन्दै खुशी व्यक्त गरे । बाबुआमाले जुनसुकै नागरिकता पाएको भए पनि छोराछोरीले वंशजकै नागरिकता पाउने व्यवस्था यस विधेयकले गरेको यादवको भनाइ छ ।