८ बैशाख २०८१, शनिबार 1713634933
अर्थ

वैदेशिक रोजगार बोर्डको बजेट स्वीकृत

काठमाडौँ, असार ३१ गते । वैदेशिक रोजगार बोर्डको आव २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ७४औँ नियमित बैठकले उक्त नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । आव २०७९/८० का लागि बोर्डको कल्याणकारी कोषको स्रोत परिचालन हुनेगरी एक अर्ब ५८ करोड १६ लाख रुपियाँको बजेट तथा कार्यक्रम स्वीकृत भएको जनाइएको छ । 

मन्त्रालयका अनुसार बोर्डबाट गरिने अनलाइन प्रणालीबाट प्रवाह गरिने आर्थिक सहायता वितरण, अलपत्र श्रमिकको उद्धार तथा राहत, निःशुल्क सीप तालिम, सुरक्षित, मर्यादित एवं लाभदायी वैदेशिक रोजगारसम्वन्धी अभिमुखीकरण, सरोकारवालासँगको सहकार्य र संस्थागत क्षमता अभिवृद्धिलगायतका नौवटा कार्यक्रमका लागि बजेट विनियोजन गरिएको हो ।