१२ बैशाख २०८१, बुधबार 1713944152
पर्यटन

गड्डाचौकीमा पर्यटन सहायता कक्ष

पश्चिमी सीमानाका गड्डाचौकीमा आज पर्यटन सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षको सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले उद्घाटन गर्नुभयो ।

सहायता कक्षको उद्घाटन गर्नुहुँदै मन्त्री धामीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणसँगै पर्यटन प्रवद्र्धनका योजना अघि सारिएको बताउनुभयो । उहाँले पर्यटकको सहजताका लागि महाकाली करिडोर निर्माणमा जोड दिइएको बताउनुभयो । उत्तरमा चीन र दक्षिणमा भारतसँग जोड्नका लागि करिडोर निर्माण भइरहेको धामीले बताउनुभयो । सुदूरपश्चिम क्षेत्रका महत्वपूर्ण पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधारसँगै पहुँच मार्ग निर्माणका लागि कार्य भइरहेको उहाँको भनाइ थियो । पश्चिमी सीमानाका गड्डाचौकी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको चर्चा गर्नुहँुदै मन्त्री धामीले यसको स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग पहल गर्ने बताउनुभयो । कार्यक्रममा भीमदत्त नगरका नगर प्रमुख पदम बोगटीले भारतबाट आउने पर्यटकलाई पर्याप्त सूचना प्रवाह गरेर सेवा दिनुपर्ने बताउनुभयो । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले गड्डाचौकी नाका भएर नेपाल प्रवेश गर्ने पर्यटकलाई सहजता प्रदान गर्नका लागि कार्य अगाडि बढाइनुपर्ने बताउनुभयो ।

प्रदेश पर्यटन विकास कार्यान्वयन इकाइको सहयोग, अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकीको समन्वय एवं होटल व्यवसायी सङ्घ कञ्चनपुरको सहकार्यमा पर्यटन सहायता कक्ष स्थापना गरिएको छ । पर्यटन सहायता कक्षमा सुदूरपश्चिमका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिइने व्यवस्था गरिएको छ । पर्यटकीय सूचनासँगै होटेल, सडक, यातायात, लाग्नु शुल्कलगायत बारेमा कक्षमा रहने कर्मचारीले जानकारी दिइने भएको छ । पर्यटकीय गन्तव्यकाबारे कक्षमा जानकारी पुस्तिकासमेत राखिएका छन् ।