२०७९ आश्विन १२ बुधबार 1664367868
Banner

बालकोटमा ओली–कोइरालाबीच के कुराकानी भयो ?

काठमाडौं – मंगलबार साँझ बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

चर्कदै गएको राजनीतिक माहोलमा ओली र कोइरालाबीचको भेटलाई महत्वका साथ हेरिएको छ । ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ कोइराला बालकोट पुग्नुभएको थियो । ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो ।

पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् ।

थपलियाका अनुसार बालकोटमा ओली र कोइरालाबीच अढाइ घण्टा कुराकानी भएको हो । छलफल एमसीसी अनुमोदन, स्थानीय चुनाव र संसदमा जारी अवरोध हटाउने विषयमा केन्द्रित थियो ।

लामो तयारीपिछि निर्वाचन आयोगले वैशाख ३० मा स्थानीय निकायको निर्वाचन एकसाथ गर्ने घोषणा गरिसकेको छ । कोइरालासँगको भेटमा ओलीले तोकेकै समयमा चुनाव हुनुपर्नेमा जोड दिनुभयो ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेट गर्नुभएको थियो ।

त्यस्तै एमालेले प्रतिनिधि सभा निरन्तर अवरुद्ध गर्दै आएको विषयमा पनि दुई नेताबीच कुरा भएको छ । थपलियाका अनुसार दुई नेताबीचको छलफल सकारात्मक रुपमा सकिएको छ ।

काँग्रेसभित्र १४ औं महाधिवेशनपछि दरिलो उपस्थिति देखाएका कोइरालाले राजनीतिक भेटघाटलाई तीव्रता दिँदै आएका छन् ।