१२ बैशाख २०८१, बुधबार 1713997725
अपराध

५० हजार घुससहित गाउँपालिकाका इन्जिनियर पक्राउ

रोल्पा : पश्चिमी रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियरलाई ५० हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
सडक निर्माण योजनामा सेवाग्राहीसँग रकम मागेको अवस्थामा इन्जिनियर नवीन डाँगीलाई अख्तियारको बुटवल कार्यालय अन्तर्गत नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले शुक्रबार गाउँपालिका कार्यालय जिनाबाङबाटै पक्राउ गरिएको जनाएको छ ।

सेवाग्राहीबाट उक्त योजनाको नापी किताब, बिल तयार पारिदिएको सट्टामा घुस रकम मागेको आधारमा परेको उजुरी अनुसार अख्तियार टोलीले उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

आयोगका तर्फबाट विज्ञप्ति सार्वजनिक गर्दै भण्डारीले ५० हजार घुस र रिसवत लिइसकेको प्रमाणसहित घुस रकम पनि जफत गरिएको जनाएका छन् । उनलाई गाउँपालिकाको वडा नं २ स्थित स्वास्थ्य शाखाको कार्यालयबाट नियन्त्रणमा लिएर त्यसै दिन बुटवल पुर्‍याइएको छ । घटनाबारे थप अनुसन्धान गर्ने आयोगले जनाएको छ ।स्रोतका अनुसार इन्जिनियर डाँगीमाथिको उजुरी परेपछि अख्तियारको टोली सिधै जिनाबाङ आएको थियो । टोलीले उनको निवासमा समेत खानतलासी गर्दा करिब ४ लाख रकम भेटिएको स्थानीयले जनाए ।

स्रोतका अनुसार स्थानीयले प्राविधिक शाखाका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न आग्रह गरे पनि अख्तियारको टोलीले चासो देखाएको थिएन । स्थानीय एक सेवाग्राहीका अनुसार त्यसै दिन इन्जिनियरसहित सबै कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको भए करिब ३५ लाख रकम फेला पर्ने सूचना दिइएको भए पनि कसैले वास्ता गरेको थिएन ।

पक्राउ परेका इन्जिनियरलाई अघिल्लो कार्य अवधिका जनप्रतिनिधिले अख्तियार दुरुपयोगको आरोप लगाउँदै घटुवा गरेर उनीभन्दा तल्लो दर्जाको कर्मचारीलाई विभागीय नेतृत्व दिइएको थियो ।