११ बैशाख २०८१, मंगलवार 1713906483
राजनीति

कसैलाई प्रधानमन्त्री बन्छु भनेर भन्न जान्नँ, पदको लोभ पनि छैन : अध्यक्ष नेपाल

बुटवल : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्री बनाइदिन भनेर कसैकहाँ नजाने बताएका छन् । त्यस्तै उनले स्थानीय तह निर्वाचनमा केही बेफाइदा र कमीकमजोरी रहे पनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायमै रहने दाबी गरेका छन् ।

समाजवादी प्रेस संगठन, रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धन सरकार बनाउने बेलामा आलोपालोमा आफूलाई प्रधानमन्त्री बनाउने सहमति भएको संकेत गरेका हुन् । यद्यपि दलीय गठबन्धन राजनीतिक मात्र नभएर विश्वासको संगम भएकाले पदका लागि आफूले मरिहत्ते नगर्ने उनको भनाई थियो । ‘कसैलाई प्रधानमन्त्री बन्छु भनेर भन्न जान्नँ, पदको लोभ पनि छैन । अहिले सरकारमा कसरी जाने भन्ने भन्दा निर्वाचनमा कसरी जाने भन्ने तयारी आवश्यक छ,’ उनले भने । अहिले सरकारभन्दा पार्टी विस्तार, संगठन निर्माण र जनताको जनजिविका परिवर्तन आफ्ना लागि महत्त्वको विषय भएको उनले बताए ।त्यस्तै, कमीकमजोरी रहेपनि गठबन्धन समयको माग भएको बताए । ‘पाँच दलीय गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा समाजवादी पार्टीले सफलता प्राप्त गरेको छ । जिल्ला समन्वय समितिमा पनि पुग्न सकिएको छ,’ उनले भने, ‘राम्रो कुरालाई राम्रो भन्न सक्नुपर्छ । गठबन्धन आवश्यक छ ।’

स्थानीय तह निर्वाचनमा मतपत्रका कारण धेरै मत बदर भए पनि समाजवादीले ९ लाख २७ हजार मत प्राप्त गरेको अध्यक्ष नेपालको भनाइ थियो । गठबन्धन कुर्दा स्थानीय तहमा ४० प्रतिशत स्थानमा मात्रै उमेदवारी दिएको बताउँदै आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन हुन नसक्ने क्षेत्रमा समाजवादी एक्लै चुनावमा होमिने उनले बताए ।

त्यस्तै, जनताबाट जनमत लिएर जितेका जनप्रतिनिधि जनतामुखी र जवाफदेही हुनुपर्ने नेपालको भनाइ थियो । जनप्रतिनिधि बन्ने तर, जनताप्रति उत्तरदायी नहुने, मन्त्री पद लिने तर दायित्व पूरा नगर्ने यस्तो परिवर्तन हटाउन संस्कारमै परिवर्तन आवश्यक रहेको उनले बताए । ‘पद लिएका व्यक्तिको आनीबानी, संस्कार र काम गराइको शैली परिवर्तन आवश्यक छ,’ उनले भने, ‘हाम्रोमा सुरु भएको छ ।’गठबन्धन आवश्यकता अनुसार भएता पनि स्थानीय तहमा एकीकृत समाजवादी आफ्नै बलमा निर्वाचन लडेको बताउँदै अबको निर्वाचनमा पनि सोही अनुसार हुने नेपालले बताए । अध्यक्ष नेपालले निर्वाचनमा आफूहरूमाथि षडयन्त्र गरिएकोसमेत बताए । उनले भने, ‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं, गठबन्धन माध्यम थियो, निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।’