७ बैशाख २०८१, शुक्रबार 1713582056
प्रदेश

जग्गा दान गर्ने पाँच दाजुभाइ सम्मानित

 सखुवानन्कारकटि गाँउपालिकामा १० शैयाका आधारभूत अस्पताल निर्माणको लागि एक करोड मूल्य बराबरको १० कठा जग्गा दान गर्ने पाँच दाजुभाइ लाई सखुवा नन्कारकटि गाँउपालिकाले दोसल्ला ओढाई सम्मान गरेको छ ।

आमा शङकरियादेवी यादव, पिता पतासी यादव र काका फुसयाही यादवका सम्झनाका लागि एक करोड मूल्य बराबरको जग्गा दान गरेको रामप्रसाद यादवले बताउनुभयो । जग्गा दान गरेपछि सखुवानन्कारकटि गाँउपालिकाले दोसल्लार र सम्मानपत्रसहित सम्मान गरेको उहाँले बताउनुभयो । पाँच जना दाजुभाइ सम्मानबाट खुसी भएका छौं, उहाँले भन्नुभयो ।

सखुवानन्कारकटि गाँउपालिकामा आधारभूत अस्पताल नभएकाले अस्पताल निर्माणका लागि जग्गा दान गर्ने दोरिक यादव, बद्री नारायण यादव, रामप्रसाद यादव, रामविलास यादव र रामकुमार यादवको योगदानको कदर गरी सम्मान गरेको गाँउपालिका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो ।
१० शैयाको अस्पताल निर्माणका लागि संघीय प्रदेश सरकारसँग आवश्यक बजेटको लागि पहल थालिसकेको उहाँले जानकारी दिनुभयो । अस्पताल नभएपछि स्थानीयलाई उपचारका लागि १० किलोमिटर टाढा लहान जानुपर्ने बाध्यता रहेकाले अस्पताल निर्माणपछि ग्रामीण भेगका जनतालाई राहत हुने उहाँले बताउनुभयो ।