२०७९ आश्विन १६ आईतवार 1664772360
Banner

घनश्याम भुसालका देउवा—देउता ?

माओत्सेतुङले झैँ श्रीमान् देउवाले योग्यताका साथ संयुक्त मोर्चाको प्रयोग गरेका छन् ।
घनश्याम भुसाल,कान्तिपुर २०७९ असार २४
उक्त वाक्य नेकपा एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले वाम मोर्चा, एकता र पुनर्गठनको रोडम्याप शीर्षक लेखमा अभिव्यक्त गरेका महान् वाणी हुन् । भुसालले लेखमा माओले झैँ प्रमुख विपक्षीका विरुद्ध क्रान्तिका सबै सहयोगीहरुलाई एकत्रित गर्नु नेतृत्वको योग्यता हो भनेका छन् । यही योग्यता कुशलतापूर्वक पूरा गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई भुसालले अनुकरणीय र उदाहरणीय योग्य नेता ठहर गरेको देखिन्छ । माओको अग्रगामी क्रान्तिकारी संयुक्त मोर्चासित देउवाको भ्रान्तिकारी देशघाती तथा जनघाती चरम भ्रष्ट गठजोडलाई तुलना गर्दा प्रबुद्ध पाठक समाज के भन्छ ?

भुसाल किन हलुवामा बालुका मिसाउँछन् ? घिउमा अलकत्रा घोलेझैँ किन गर्छन् भुसाल ? माओले नयाँ जनवादी क्रान्तिका लागि निर्माण गरेको संयुक्त मोर्चासित तुलना गर्ने भुसालको सैद्धान्तिक वैचारिक मान्यतामा यतिबिघ्न र चरम स्खलन किन आएको हो कि होइन विज्ञ पाठकले छानवीन गर्नु होला । भुसालका लागि औपचारिक कार्यक्रममा ¥यालसिँगान चुहाउने नेता वा प्रधानमन्त्री महान् हुँदारान् । बोल्दा हुतुतु गर्ने र बोलेको एकरत्ति नबुझिने पार्टी अध्यक्ष भुसालले खोजेका रहेछन् । बोल्दा उ गरेर उ गर्ने भन्ने वाकवटु नेतालाई भुसाल योग्य ठहर गर्दा रहेछन् ।

देउवाको संयुक्त मोर्चा सरकारका अभूतपूर्व गतिविधिहरु र त्यसका प्रतिफलहरु जनसमक्ष नाङगै रुपमा उजागर भएका छन् । उपर्युक्त गतिविधिहरुलाई भुसालले उत्तम ठहर गरेकाले देउवालाई योग्य देखेका रहेछन् ।

सुरक्षाको तालाचाबी लिएको देउवा सरकार २४ लाख कारोना खोप आफैँँ हरायो भन्छ । ओलीले कम्तीमा चोरले त झ्यालढोका भत्काएर र सुरुङ खनेर चोथ्र्यो तर यो सरकार आफैँ तालाचाबी नै लिएर खुल्ला चोरी गरेको देखीदेखी भुसालको समर्थन देख्नेलाई लाज जस्तो भएको छ । महाकाली नदीमा भारतीयका कारण मारिएका जयसिंह धामीका बारेमा मौन बस्ने गठबन्धन सरकारका नायकलाई भुसाल किन सलाम गर्छन् ? महाकाली नदीमा भारतीय सरकारले एक तर्फी तटबन्ध बनाएको बारे चुपचाव बस्ने देउवा भुसालका आराध्यादेव हुन् ? महाकालीको आकासमा भारतीय सैनिक हेलिकेप्टरले बारबार फन्का मार्दा मुखमा ताल्चा लगाउने देउवा भुसालका देवता हुन् ? हालै अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा प्रवेश गराएर करका दरमा व्यापक फेरबदल गरेको जस्तो संगीन विषयका कारण देशको सिर निहुरिएको छ । यति निकृष्ट खालको देशघाती संयुक्त मोर्चा वा गठबन्धन गर्ने देउवा माओ बराबर महान् नेता हुन भुसालजी ? समग्रमा भारत अनुकूल कन्फर्टेबल सरकारका पक्षमा खुलेर किन प्रशंसा किन गर्छन् भुसाल ? केही न केही शुभलाभ बिना यत्ति साह्रो लवस्तरो पाराले देउवा सरकारको समर्थन गरिन्न ।

हुनत चरम अन्धविश्वासका कारण जीवित देवता वा जनतालाई भन्दा ढुङ्गालाई पूजा गर्ने मनुवा पनि हुन्छन् । मानव समाजलाई चेतनशील, जागृत तथा समृद्ध पार्ने दर्शन, सिद्धान्त र पार्टीलाई भन्दा पश्चगामी चिन्तनको दास बन्ने नामका मनुवा संसारमा नभएका होइनन् । यस्ता मनुवा चरम अन्धविश्वासको डोरीमा झुण्डिएर मृत बराबरको जीवन बाँच्ने मनुवा पनि कम्युनिस्ट नेता हुँदारान् । चन्दनका वृक्षवरिपरि लठारिएर बसे पनि गोमन सर्पको स्वभाव विषालु नै हुन्छ ।

एमालेको दसौँ महाधिवेशनलाई सौराहा काण्ड जस्तो अत्यन्त तुच्छ बोली बोल्ने भुसाल माओवादी र नेकाको अझै पूरा नभएको पार्टी महाधिवेशनको प्रशंसा गर्छन् । भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवाले भारतस्थित नेपाली राजदुत भवनमा बुच्चे नक्सा सजाउँदा भुसाल मनमनै खुसी भएका होलान् नत्र किन बोल्दैनन् ?

देउवाको संयुक्त मोचाको तारिफ र स्तुतिगान गर्ने भुसाल तीन महिने मन्त्री खान किन देउवा सरकारमा नगएका हुन् यो भने धेरै नमिल्दो विषय लागेको छ । भुसाल देउवा कालको प्रदेश सरकारका चरम बेथिति नदेखेझैँ गर्छन् । अहिले सबै प्रदेश सरकारको मन्त्री मण्डल ७ बाट १७ बनाएको देखिन्छ । एउटा मन्त्रालय थपिँदा ५ लाख भन्दा बढी आर्थिक भार बढ्छ । के यी सब देउवाका योग्यताकै प्रतिफल हुन् भुषालजी ? यस्ता देश र जनता विरोधी तमाम गतिविधिप्रति भुसाललाई एकथोपो चिन्ता रहेनछ ।

विगत एमाले पार्टीको ओली सरकारका तुलनामा मात्र होइन सबै पूर्व सरकारका तुलनामा सबभन्दा नालायक सरकारको प्रशंसा किन गर्छन् भुषाल ? अझ त्यसमा पनि विगत कालमा ०४६ सालका प्राप्त उपलब्धिलाई पूर्व राजा ज्ञानेन्द्रका हातमा सुम्पने देउवा भुसालका महान् नेता ? सदासर्वदा आफ्नै पार्टी र यसका बहुआयामिक, दुरदर्शी तथा प्रभावशाली अध्यक्षलाई धारेहात नलगाइ भुसाललाई भात पनि रुच्दो रहेनछ । तर भुसालका ओली विरोधी राँडेरुवाइ,रोइलोधाइलो,सत्तोसराप र धारेहातलाई ओलील रौँ बारबार पनिे महत्व दिनुहुन्न । जननेता मदन भण्डारी यस्ता प्रवृत्तिलाई कुकुर भुक्तै गर्छ हात्ती लम्किँदै गर्छ भनेर सम्झाउनु हुन्थ्यो । प्रकृति पदार्थ र जीवमा पनि नकारात्मक वा बिसालु प्रवृत्ति हुन्छ । त्यस्तै भुसालको बेहोरा हेर्दा उनको जिन र डिएनएमा नै समस्या होला जस्तो यस लेखकलाई लागेको छ । झिँगालाई झिँगाकै संगत मात्र मन पर्छ । रछानमा रमाउने बानी परेपछि ओछ्यान कहिल्यै मन ङगल पर्दैन ।

कुसंस्कारमा बानी परेपछि संस्कारी जीवन धेरै असहज हुन्छ । यही लेखकलाई अमेरिकाको दुई महिने बसाइमा बाटाघाटामा फोहोर नदेख्दा असहज जस्तो भयो । यस्ता भावना मनमा आउँदा आफैँ अचम्ममा परियो । अमेरिकाका धेरै फराकिला सडकहरु देखेर सडकमा तमाम जनतालाई उतारेर भाषण गर्ने जस्तो मन पनि आयो । घरमा सदादिन झगडा र कचिङ्गल गर्ने बानी हुँदा र त्यसैमा बानी पर्दा मात्र रमाइलो हुन्छ । नत्र घरमा एक दिन झगडा र कचिङ्गल नहुँदा के के नभएको जस्तो हुन्छ । भुसाल आफैँ कुन घरायसी परिवेश र वातावरणमा हुर्किएका हुन् ? यो त नबुझी भन्न सकिन्न तर मोदनाथ प्रश्रितले भनेझैँ एकवाक्य वा एक बोलीबाट नै मानिसलाई जान्न र चिन्न सकिन्छ । यसरी मनन गर्दा भुसाल रोगग्रस्त मानव हुन् । यो व्यवहारजन्य रोग हो ।

लगभग ६० वर्षका उमेरमा पनि नआएको बुद्धि अब आउला भन्न सकिन्न । कतिपय एमाले नेतालाई घरपरिवारले पनि सहजीकरण गरेर सच्याएको यस लेखकलाई थाहा छ । भुसाललाई पनि सही सल्लाह दिने सच्चा मित्र घर परिवार र इस्टमित्रहरुमा छन् भने राम्रै हुन्थ्यो । सच्चा मित्रले मात्र अप्रिय भए पनि सही सल्लाह दिनसक्छन् । आरती मात्र उतारुले भने बेलामा सही सल्लाह नदिएर खाल्टामा पुर्न बेर लगाउँदैनन् ।

भुसालले पार्टीमा एक समय यस्तो स्वर्ग नै थियो भनेझैँ गरेर अक्षरका ताँती लगाएका छन् तर त्यो समयका बारेमा भुसालले कुनै खुलासा गरेका छैनन् ।

भुसालका अनुसार त्यो स्वर्णिम समय हरि रोक्काको नेतृत्वमा कि बामदेवको माले कालमा कि देवेन्द्रराज पाण्डे प्रमुख रहेको नेतृत्वमा थियो ? जहाँ भुसाल काम गर्थे । तर उनले त्यो कुन कालखण्ड हो त्यो चाहिँ उल्लेख गरेका छैनन् । किनभने जननेता मदन भण्डारी र जबजको च्याप्टर क्लोज गर्न आतुर भुसालले लेखमा अयोग्य नेताले भएकै वैभव पनि रित्याएर जान्छ भनेर आफूले आफैँलाई झटारो हानेको चाहिँ थाहा पाएनन् । जननेता मदन भण्डारी र जबजको च्याप्टर क्लोज गर्ने चाहनाका सशक्त बाधक ओली हुनुभयो । त्यसैले ओली विरुद्ध भुसाल जेहाद छाडिरहेका छन् । तर यस खालका नग्न नृत्य खुला मैदान र सार्वजनिक मञ्चमा गर्दा आफैँ सर्वाङ्ग नाङ्गो भएको भुसालले कहिले देख्ने हुन् भन्न सकिन्न ।

भुसाल जस्ता नेताले आवेश र उत्तेजनाका लेखेका लेखौटहरु परस्परमा आर्फैँ बाझिएका र अल्झिएका हुन्छन् । यस्ता लेखमा अघिल्लो र पछिल्लो वाक्यमा नै विचार र मान्यताको बेमेल स्पष्ट हुन्छ । त्यसैले ओली विरोधी उग्र उत्तेजनामा लेखिएको यस लेखोटमा माओ र उहाँद्वारा प्रतिपादित संयुक्त मोर्चासित देउवाको राष्ट्रघाती, र जनघाती मौर्चासित तुलना गर्न भुसाल पुगे । लेखोटमा यस्तो बेथितिको मूल कारण मनका अनावश्यक भँडास फोख्दा हुने गर्छ । आफू आफ्नै कारण रिसाउँदा मानिस बर्बराउँछ र यस्तो बर्बराहट नितान्त मनोगत हुन्छ । यस्ता लेखोटहरुमा कुनै दर्शन,विचार विश्लेषण र विवेचना हुँदैन । भुसालले यस लेखमा संसद् विघटनको विषय फेरि उठाएका छन् । संसदीय अभ्यासमा कुनै पनि प्रधानमन्त्रीलाई विशेष परिस्थितिमा संसद् विघटन गर्ने सार्वभौम संवैधानिक अधिकार हुन्छ । देश र जनताको सर्वाङ्गीण विकास निर्माणमा जनताले अनुृभूत गर्ने गरी सञ्चालित ओली सरकारका विरुद्ध सुरुदेखि नै माकुने र प्रचण्ड लाग्नु र वाह्य शक्तिको आड र आदेशमा पदच्यूत गर्न खोजेको घाम जत्तिकै छर्लङ्ग कुरा भुसाल देख्दैनन् तर सर्वोच्च अदालतले बनाइदिएको प्रधानमन्त्रीलाई स्वागत र सम्मान गर्ने बेसरम भुसाललाई के भन्ने ?। देउवा सरकारले संसदीय मूल्यमान्यताको धज्जी उडाइरहेका छन् । एमालेले कार्यवाही गरेका १३ जना सभासद्लाई मात्र कार्यबाही प्रक्रिया अघि नबढाएर तमासा गरिएको छ । यस्ता विषयमा भुसाल मौन बस्छन् र यही विषयमा एमालेले न्यायका लागि संसद् अवरुद्ध गर्दा भुसाल ओली विरुद्ध आक्रोषपूर्ण रोइलो गर्छन् । परिणामले नै यो सरकार भारत अनुकूल हो भन्ने स्पष्ट भए पनि भुसाल ओलीलाई नसरापी बस्नै सक्तैनन् ।

नभएको र खाटा बसेको घाउ कोट्याई कोट्याई घाउ बल्झाउने एउटा प्राणी हुन्छ,त्यसको नाम विज्ञ पाठक थाहा छ । भुसाल त्यही प्रवृत्तिका व्यक्ति हुन् । ठाउँ न कुठाउँ अर्थ न बर्थका कुरा कथुरेर केही हुनेवाला छैन । भुसाल त आफूलाई सच्याउन पटक्क ध्यान दिँदैनन् तर पार्टी अनुशासन आयोगले कार्यवाहीको सिफारिस गरेपछि भने उनी अलि मत्थर भएको जस्तो देखिएको छ । आसन्न देशव्यापी पार्टी प्रशिक्षणमा पार्टी अध्यक्ष ओलीलाई क्षमा सप्ताह लगाउन सुझाउँछन् । ओलीको अरु कुनै दोष नदेखी उहाँलाई अहङ्कारीको फतुर आरोप लगाउँछन् । यो मरीतरी टिमटिम र धिप्पधिप्प बल्ने जुनकिरीले झलमल्ल जूनलाई अहङ्कारी देखे जस्तो चरम हीनताबोध ग्रस्त भुसाल लगायतको मानसिकता हो ।

भुसाल पार्टीका समस्याको अन्तर्यलाई पूरै ढाकछोप गर्छन् । ओलीले ठूलै चुनौतिका साथ पार्टी एकता गर्नु भएको स्पष्ट हुन्छ । एकता पछि झण्डैझण्डै दोस्रोपटक किट्नी फेर्दा र एपेण्डिसाइड फुटेर जीवन मरणको दोसाँधमा ओली पुग्नु भएको ओलीको यो फाउ जिन्दगी हो । यत्तिको प्रभावशाली नेता विपक्षीले पाएको भए के कति इज्जत र सम्मान हुन्थ्यो होला अनुमान मात्र गर्न सकिन्छ । माधव नेपालले ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गरेका होइनन् र ? तर ओलीले सकेसम्म नेपाल दाहाललाई कमजोरी स्वीकार गरेर वा सच्चिएर आउन आग्रह गर्नु भएको होइन र ? यसका लागि केही समय प्रतिक्षा पनि गरिएको होइन ? चित र पट दुवै मेरो भन्ने खोटी चिन्तनका कारण बेलाबेला काम पटक्क नगरी भ्साल बेसुरा बात गरिरहेका छन् । लप्फाजी गरेर दिन व्यतीत गर्नु सजिलो होला । बाम मोर्चा, बाम एकता वा बाम पुनर्गठनको नारा कति मीठो छ तर देउवाको टाङ्मुनि छिर्ने बाम हुन् कम्युनिस्ट हुन् र ? आफ्नो छँदाखाँदाको घरमा आगो झोस्ने र खरानी पार्ने कम्युनिस्ट हुन् ? यत्ति सामान्य कुरा भुसालले आफ्नै घरका सावालिग लालाबालाई सोधे पनि स्पष्ट हुन्छ । के तिनले चाहिँ पश्चाताप गर्नु पर्दैन कमरेड ।