१९ माघ २०७९, बिहीबार 1675319432
राजनीति

आगामी निर्वाचन, माझण्डहरूको मनोविज्ञान र काँग्रेसको रणनीति

नेपालका राजनीतिक दलका नेताहरूले पार्टीभित्र पार्टी चलाउने खराब अभ्यास गरेका कारणले दलहरूमा विचार र विधिले भन्दा गुटको प्रभावले प्राथमिकता पाएको छ । विधि र पद्धतिको राग अलापेर माधव नेपालले बुर्जुवाहरूको स्वार्थमा एमालेमा विभाजन गर्न नेतृत्वदायी भूमिका मात्र खेलेनन् शेरबहादुर देउवाको नेतृत्वमा कम्फर्टेबल सरकार बनाउन पनि सघाए । नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याउन माझण्डहरूलाई बाह्य पक्षले सबैखाले सहयोग पनि गरेका थिए भन्ने कुरा तिनका गतिविधिहरूले पुष्टि गरेको छ । आज त्यहि विभाजनको बलमा कम्फर्टेबल गठबन्धनले केन्द्रदेखि प्रदेशमा सरकार बनाएको छ । अनि प्रदेशमा भाग शान्ति मिलाउन मन्त्रालयको सङ्ख्या पनि बढाइएको छ ।

यसरी अस्वाभाविक रूपमा मन्त्रालयको सङ्ख्या बढाउँदा एकातिर राज्यको प्रशासनिक खर्च बढेर विकास बजेट घटाउनुपर्ने बाध्यता छ भने अर्कोतिर सङ्घीयताप्रति जनधारणा नकारात्मक बन्दैछ । तर कम्फर्टेबलवादीहरू नै नेकपा एमालेलाई सङ्घीयता विरोधी भनेर आरोप लगाउँदै जनमत एमालेका विरुद्ध बनाउने प्रयास गर्दैछन् । नेकपा हुँदै नेकपा एमालेमा विभाजन गर्नु पछाडिको मुख्य उद्देश्य नेपालमा नियन्त्रित अस्थिरता बढाउन नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाएर राष्ट्रिय स्वार्थ कमजोर बनाउनु थियो ।  त्यसमा एक हदसम्म कम्फर्टेबलवादीहरू सफल देखिएका छन् । यसको राजनीतिक लाभ आफूहरूलाई हुने नेपाली काँग्रेसका नेताहरूको बुझाई छ । यसबीच एकातिर माधव, झलनाथ र प्रचण्ड (माझण्ड) हरू चुनावी गठबन्धन चाहने अर्कोतिर नेपाली काँग्रेस एक्लै चुनावमा जाने चर्चाले बजार पाएको छ ।

माझण्डहरूले नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याउन खेलेको खलनायकी अराजनीतिक भूमिकाको प्रगतिशील जनमतले स्वाभाविक ठानेको छैन । त्यहि जनमनोविज्ञान देखिसकेपछि उनीहरू आफ्नो राजनीतिक धरातल जोगाउन नेपाली काँग्रेससँग चुनावी गठबन्धन बनाउने तर्क गरिरहेका छन् ।  किनभने अबको चुनावमा २०७४ को जनमत खण्डित गरेकाले माझण्डहरू दण्डित हुनेवाला छन् । 

जबकि नेपाली काँग्रेसका नेताहरू कम्युनिष्टहरू विभाजित भएका बेलामा चुनाव जित्न सजिलो हुने आँकलनका साथ एक्लै चुनावमा जाने रणनीति बनाउँदै छन् । गगन थापा भन्दैथे, “काँग्रेसले कम्युनिष्ट पार्टी मिलेनन् भने मात्रै निर्वाचन जित्न सक्छ।” आमनिर्वाचन जित्नका लागि मात्र होइन आफ्नै पार्टीभित्रको राष्ट्रिय महाधिवेशनको चुनावी प्रतिस्पर्धामा अब्बल देखिन पनि शेरबहादुर देउवादेखि गगन थापाहरूले नेकपा एमाले अर्थात् केपी शर्मा ओलीको विरोधमा उत्तेजक भाषण गरेका थिए । त्यसैले त नेपाली काँग्रेसका नेताहरूले माझण्डहरूलाई आफूबाट टाढा पनि हुन नदिने अनि चुनावी गठबन्धनमा पनि नराख्ने रणनीतिका साथ राजनीति गरिरहेका छन् ।

उता आफूलाई वैकल्पिक शक्तिको अब्बल नेता ठान्ने रवीन्द्र मिश्र सामाजिक सञ्जालमा लेख्छन्, “मतदाताको मन र मत परिवर्तन नभएसम्म देश परिवर्तन हुँदैन ।” मिश्रको जोड पनि वामपन्थी जनमतलाई विभाजित बनाएर त्यसको प्रत्यक्ष लाभ नेपाली काँग्रेसलाई पुर्‍याउनु  नै हो । यसरी हेर्दा बुर्जुवा दक्षिणपन्थी दल तथा तिनका नेताहरू अघोषित रूपमा मिलेर कम्युनिष्टलाई आगामी निर्वाचनहरूमा हराउने राजनीतिक रणनीतिका साथ गतिविधिहरू अगाडि बढाउँदै छन् । तर दुर्भाग्य नेपाली काँग्रेस कै रणनीति सफल बनाउने गरी माझण्डहरूले कम्न्युनिष्ट झण्डाको दुरुपयोग गरिरहेका छन् ।

यसरी चारैतिरबाट नेकपा एमालेमाथि आक्रमणहरू भइरहँदा भीमबहादुर रावल अनि घनश्याम भुसालहरू त्यसको प्रतिरक्षामा उभिनुभन्दा पनि विरोधीहरू कै मनोबल बढ्ने गरी अभिव्यक्ति दिने काम गर्दैछन् । रावल र भुसालहरूले लोकतान्त्रिक विधि र लोकतन्त्रको गलत व्याख्या गरेर आफ्नै पार्टीको हित विरुद्ध हुने गरी अन्तरवार्ता दिने र सामाजिक सञ्जालमा लेख्ने काम गरिरहेका छन् । यसलाई विपक्षीहरूले नेकपा एमाले विरुद्ध लेख्ने र बोल्ने मुद्दा बनाएका छन् । अचम्मको कुरो गगन थापाहरूको बोलीमा भीमबहादुर रावलहरूको लय मिल्न पुगेको छ ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा देउवा पक्ष हुन कि देउवा इतर सबैले नेकपा एमाले अर्थात् केपी ओलीको त्रास देखाएर मतदाता अर्थात् महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए । अझै पनि उनीहरू त्यो त्रास र डर देखाएर आफ्नो र पार्टीको भावी राजनीति बलियो र सुरक्षित बनाउन चाहन्छन् । उनीहरूमा अझै पनि आफ्नो असल र सबल पक्ष देखाएर कार्यकर्ता तथा जनतामा जाने साहस देखिएको छैन । देउवा इतर समूहले त देउवाका विरुद्ध पार्टीमा आफू बलियो हुन पनि केपी शर्मा ओलीको हौवा कार्यकर्तालाई देखाएका छन् । त्यतिमात्र कहाँ हो र, समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सम्पन्न नेपाल सम्मानित नेपालीको नारामा परिणत गरेर गगन थापाले आफूलाई नेपाली काँग्रेस पार्टीभित्रको वैचारिक नेता भएको देखाउन खोज्दैछन् ।

कम्युनिष्ट पार्टी फोरेर होस् कि नारा चोरेर जसरी भएता पनि आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने अभिष्टका साथ नेपाली काँग्रेसका मुख्य नेताहरू कार्यशील हुन खोजेको देखिन्छ । नेकपा एमालेलाई माधव नेपालमार्फत अपेक्षित रूपमा कमजोर बनाउन नसकेपछि बुर्जुवा मिडियाहरूमार्फत भीमबहादुर रावलहरूलाई प्रोभोक वा प्रयोग गर्न खोजिँदै छ । यदि समय मै भीमबहादुर रावलहरूले आफूलाई सच्याएनन् भने त्यसको राजनीतिक लाभ नेपाली काँग्रेसलाई नै हुनेछ । नेपाली काँग्रेसका नेताहरूले माधव नेपालले झैँ भीमबहादुर रावलले पनि विद्रोह गरिदिउन् भनेर अपेक्षा गरेका छन् । किनभने नेपाली काँग्रेस आफ्नो असल र सबल पक्ष देखाएर जनमतबाट श्रेष्ठता हासिल गर्ने क्षमता राख्दैन । त्यसैले त नेपाली काँग्रेसका नेताहरू कम्न्युनिष्ट जनमत विभाजित गराएर आफू र आफ्नो पार्टीलाई आगामी निर्वाचनमा जिताउन चाहन्छन् ।

आफूलाई स्वतन्त्र विश्लेषक भन्न रुचाउने नेपाली काँग्रेसका नेता पुरञ्जन आचार्य भन्छन्, नेपाली काङ्ग्रेसको नयाँ टिमको परीक्षण आगामी निर्वाचनहरूमा आउने परिणामले गर्नेछ । त्यसैले सभापति शेरबहादुर देउवालाई नवनिर्वाचित पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूसँग सुमधुर सम्बन्ध राखेर सहकार्य गरेर नयाँ इतिहास बनाउने अवसर आएको छ । आचार्यको भनाइमा शङ्का धेरै अपेक्षा कम देखिएको छ । यसर्थ नेपाली काँग्रेसको रणनीति आगामी चुनावहरूमा जित्नमा केन्द्रित हुनुपर्छ भनेर आचार्य जस्ता विश्लेषकहरूले पैरवी गर्न थालेका छन् । कम्युनिष्टहरूसँग सहकार्य नियमित गर्नु भनेको काँग्रेस सकिने बाटोमा जानु हो भन्दैछन् । यसले माझण्डहरूको चुनावी गठबन्धन बनाउने सपना तुहिने परिस्थिति बन्दा उनीहरूको छटपटी बढेको हुनुपर्छ ।