७ बैशाख २०८१, शुक्रबार 1713505915
समाचार

पहिरोले फेदीका १० घर जोखिममा, सार्ने तयारी

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा पहिरोले १० घर जोखिममा परेका छन् ।

शुक्रबार रातको अविरल वर्षापछिको पहिरोले फेदी शुक्रबारेका बुद्धिराज राईको घरमुनिबाट पहिरो गएको छ । सर्नका लागि तयार पारिएको घरको पेटीभन्दा मुनिबाट पहिरो गएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताए । बुद्धिराजको पेटीबाट झरेको पहिरो केहीमुनि रहेको दुजयन्ती राईको घरमाथि सडकमा थुप्रिएको छ ।

माथिबाट झरेको पहिरोले तीन ओटा गोठ बगाएको छ । घरभन्दा केहीमाथि रहेको तपसी–दामलुङ सडकको नयाँ ट्रयाकबाट पहिरो जाँदा गोठ पुरिएको हो ।

यस्तै, चिलिंखाका नविन राईको घरमुनि पहिरो गएको छ । पहिरोले घर लच्काएको छ । पहिरोले घर जोखिममा परेपछि समाक्षमा राई, नविन राई, लाखमनी राई, रत्नमणी राई, मतीराज राई, इन्द्रमनी राई, धनकुमार राई र बडामनी राईको परिवारलाई तपसीडाँडामा सार्ने तयारी गरिएको छ । केही स्थानीय शनिबार रातीदेखि नै घर छाडेर तपसीडाँडाका पसल तथा छाडिएका रित्तो घरमा बास बस्न पुगेको वडाध्यक्ष राईले बताए ।