१३ बैशाख २०८१, बिहीबार 1714063141
Banner

जनताको बहुदलीय जनवादको मार्गदर्शन : समृद्ध नेपाल सुखी नेपाली

नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद(जबज)को प्रतिपादन, समसामयिक सहि दृष्टिकोण एवं विचारहरू, २०४६ सालको सफल ऐतिहासिक जन–आन्दोलन उठान तथा बैठानमा महत्वपूर्ण योगदान, राष्ट्र एवं राष्ट्रियताप्रति अगाध प्रेम, प्रखर वक्तृत्वक्षमता तथा क्रान्तिकारी नैतिकता एवम् इमान्दारिता जस्ता विशिष्ट गुणहरूले गर्दा नै जननेता मदन भण्डारी अमर हुनुभएको हो । जबजको आलोकमा राज्यका विभिन्न अङ्ग तथा निकायहरूमा लोकतान्त्रीकरण प्रक्रियाले गति लिँदैछ भने मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्न, सामाजिक आर्थिक रूपान्तरण प्रक्रियालाई तीब्रता दिन र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा साकार तुल्याउन अघि बढिरहेको छ । यसबाट आत्मनिर्भर र स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र विकास गर्न सहयोग मिल्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा ठूलो मद्दत पुग्नेछ । नेपालको इतिहासमा पहिलो पटक बृहत्रूपमा सर्वसाधारण, राजनीतिक वृत्त, उद्योग, बाणिज्य र व्यापार क्षेत्र, अर्थविद् र योजनाविद् तथा बौद्धिक समुदाय मुलुकको आर्थिक विकासमा केन्द्रित भएर विमर्शमा जुट्दै यसबारेमा थप स्पष्टता हासिल गरेर देश विकासको पथमा अग्रसर बनिरहेको छ । मानव विकास सूचकाङ्कमा नेपाल पाँच स्थानमा फड्को मार्न सफल भएको कुरा हालै सार्वजनिक भएबाट पनि समृद्धिको यात्रामा नेपालले सफलता हासिल गर्दै गएको स्पष्ट देखिन्छ ।

नविन विचारक जननेताले “सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हो” भन्ने दृष्टिकोण प्रस्तुत गर्दै कुनै सन्दर्भ, परिवेश र ऐतिहासिक कालखण्डमा विकसित भएको आर्थिक, सामाजिक र राजनीतिक सिद्धान्त अन्तर्राष्ट्रिय परिवेश तथा मुलुकको राजनीतिक परिस्थितिमा फेरबदल आएपछि समृद्ध गरेर नै सामाजिक जीवनलाई अगाडि बढाउन सफल हुने विश्वास प्रकट गर्नुभयोे । सोभियत मोडेलको समाजवादले धक्का खाएपछि कम्युनिष्ट आन्दोलनमा देखा परेको जनसूत्रवादी र विसर्जनवादी दुबै प्रकारका आत्मघाति समर्पणवादी पथ र प्रवृत्तिका विरुद्धमा जुध्न माक्र्सवादको सिर्जनात्मक प्रयोग अनिवार्य भएको निष्कर्षका साथ जननेताले वस्तुवादी दृष्टिकोण अगाडि सार्नुभएको थियो । बदलिएको परिस्थिति अनुरुप प्रगतिशील मूल्य, मान्यता र सिद्धान्तलाई मानव समाजले विकसित गर्दै गएकाले त्यसलाई अवलम्बन गरेर मात्र समाज रूपान्तरणको सिद्धान्तलाई आमजनताले अपनाउने हुँदा कम्युनिष्ट पार्टीेले त्यस पक्षमा ध्यान दिनुपर्ने कुरा जननेताले अगाडि सार्नु भयो ।

‘जीवनको रङ सधैँ हरियो हुन्छ’ भन्ने दृष्टिकोण अघि सार्दै सिद्धान्तले जीवनलाई खुसी प्रदान गर्न सक्नु पर्दछ र अपनाइएको सिद्धान्त त्यस्तो हुन सकेन भने त्यो असान्दर्भिक र असफल हुने कुरा जननेताले बताउनु भयो । यस अर्थमा पनि जबज समृद्धि र सुखलाई मार्गदर्शन गर्ने राजनीतिक, आर्थिक र सामाजिक सिद्धान्त हो । आमूल सामाजिक परिवर्तन अर्थात् क्रान्ति पछि मात्र निर्माणको प्रक्रिया थाल्ने रुढीवादी नेपाली वामपन्थी परम्पराका विरुद्धको संघर्षमा विजयी बनिसकेको माक्र्सवादमा आधारित मौलिक सिद्धान्त जबजको माध्यमबाट प्रगतिशील सुधार र विकास निर्माणका कार्यहरू क्रान्ति अभियान सँगसँगै लैजानु पर्दछ भन्ने जननेताद्वारा प्रवद्र्धित सामयिक विचार व्यवहारमा कार्यान्वयन हुँदै गएकाले नै नेपाली कम्युनिष्ट आन्दोलनले वर्तमानको सफलता हासिल गरेको हो । आर्थिक विकास, लोककल्याणकारी तथा सामाजिक सुरक्षाका प्रवन्धहरू विस्तारित र सुदृढ हुँदै गएका हुन् । बृद्ध भत्ता, विधवा भत्ता, फरक क्षमता संरक्षण भएकाको तथा बेरोजगारी अन्त्यका लागि विशेष कार्यक्रमहरु सञ्चालनमा आएका छन् ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सामाजिक–आर्थिक अधिकारको पक्षमा बढी जोड दिने तथा नागरिक तथा राजनीतिक अधिकारमा कम ध्यान दिने प्रकृति र प्रवृत्ति प्रभावी बन्दै गएको परिवेशमा जननेताले नागरिक राजनीतिक अधिकार मानव समाज पोषित महत्वपूर्ण विशेषता भएकाले सामाजिक आर्थिक परिवर्तनको अभियानमा त्यसको प्रयोग गर्नु उपयुक्त हुने निष्कर्ष निकाल्नु भयो । प्रतिकूल परिस्थितिमा आन्दोलनभित्रको जडतालाई चिरेर अघि बढ्नु र विपक्षीका आरोपहरूलाई जनताले बुझ्ने भाषामा विश्वास जित्ने ढङ्गले विचार प्रवाह गरेर मात्र हुँदैन थियो, अपनाइएका दृष्टिकोणहरूलाई व्यवहारको कसीमा जाँच्नु पर्ने आवश्यकता पनि थियो । सिद्धान्तका पोथाहरू पढेर र पढाएर मात्र कम्युनिष्ट आन्दोलनका विरुद्धमा फैलाइएका भ्रमहरूलाई निवारण गर्न सकिने अवस्था थिएन । जबज त्यही व्यावहारिक सिद्धान्त हो जसले दृष्टिकोण र व्यवहारलाई सँगै लैजानु पर्दछ भन्ने सहि नीति अंगिकार ग¥यो र आम जनतामा विकास प्रतिको आकांक्षा, आशा र भरोसा बढायो ।

२०४६ सालको जन–आन्दोलनले हासिल गरेको ऐतिहासिक उपलब्धीलाई आत्मसात गर्नुपर्ने, बलिदानको अवमूल्यन गर्नु नहुने, कम्युनिष्ट पार्टी जनताप्रति उत्तरदायी बनाउनु पर्ने, कम्युनिष्ट पार्टीले प्रतिष्पर्धालाई स्वीकार गर्नुपर्ने, जनमतबाटै कम्युनिष्ट पार्टी राज्यसत्ताको नेतृत्वमा पुग्नु पर्ने र आवधिक निर्वाचनमा अनुमोदित हुनुपर्ने, नेता तथा कार्यकर्ता जनताको मूल्याङ्कनको दायराभित्र पर्नुपर्ने जस्ता दृष्टिकोण अगाडि सार्दै जननेताले आफ्नो मान्यतालाई स्थापित गराउनु भयो र कम्युनिष्ट पार्टीकै नामबाट राजनीतिमा क्रियाशील हुने टुङ्गो लाग्यो । यो निर्णयले एकातिर कम्युनिष्ट पार्टीले लोकतन्त्रलाई आत्मसात गर्नुपर्दछ र सधैँ गर्दछ भन्ने सन्देश प्रवाह भयो भने अर्कातिर कम्युनिष्ट पार्टीलाई देशभर विस्तार गर्न, विकास निर्माणमा जनताको सहयात्री बन्न र जनउत्तरदायी रहिरहन मद्दत पुग्दै गयो ।

जबजले मानव अधिकार र लोकतन्त्रका आधारभूत मान्यताहरूलाई आत्मसात गर्दै न्याय र समानतामा आधारित शोषणरहित समाजको परिकल्पना गरेको छ । यस सिद्धान्तले वर्गीय, जातिय र लैङ्गिक लगायत सबै प्रकारका विभेद र अन्याय अन्त्य भएको तथा सामाजिक विकृति एवं विसंगति समाप्त भएको वैज्ञानिक समाजवाद निर्माणको लक्ष्य साकार तुल्याउने प्रगतिशील र आधुनिक दृष्टिकोण अपनाएको छ । जबजका १४ वटा विशेषताहरू मानवजातिले व्यवहारको सिलसिलामा आर्जित ज्ञान र परीक्षणको कसीमा हासिल गरेका राजनीतिक सामाजिक सिद्धान्तका महत्वपूर्ण आयामहरू हुन् । बहुलवादी खुल्ला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष, कानुनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पूँजी र प्रविधि, नेतृत्व र अधिनायकत्व, जनताको बहुदलीय जनवाद, क्रान्तिका शत्रु र मित्रहरू तथा क्रान्तिको बाटो हुन् । मानव अधिकार र लोकतन्त्रका आधारभूत मान्यताहरू कुनैपनि राजनीतिक धारका पेवा हुन सक्दैनन् । वास्तवमा यी अवधारणाहरु प्रतिष्पर्धा, सुशासन, जनउत्तरदायित्वलाई आत्मसात गर्दै आर्थिक उन्नतिलाई प्रवद्र्धित गर्ने प्रेरणाका स्रोतहरू हुन् ।

तत्कालिन नेकपा (एमाले) को २०४९ सालमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज सार्वजिनक रुपमा लैजाने कि नलैजाने भन्ने बारेमा विमर्श हुँदा जननेताले क्रान्तिको मार्गचित्र अर्थात् सामाजिक आर्थिक रूपान्तरणको नीति तथा दृष्टिकोण बनाउन कम्युनिष्ट पार्टीले जनतालाई पनि सँगै लिएर अघि बढ्नु पर्दछ भन्ने धारणा अघि सार्दै नीति निर्माणमा सरोकारवाला सबैको ध्यान आकृष्टसहित सहभागि बनाउने लोकतान्त्रिक परिपाटिको पक्षपोषण गर्दै त्यसलाई व्यवहारमा लैजानु भयो । यस्तो प्रक्रियाले एकातिर पार्टी विस्तारमा मद्दत ग¥यो भने अर्कोतिर देशको समृद्धि र जनताको सुखका निम्ति पार्टीको नीतिबारे जनताको अपनत्व जागृत गर्न ठूलो सहयोग पु¥यायो ।

पहिले क्रान्ति गर्ने त्यसपछि मात्र निर्माणमा लाग्नु पर्छ भन्ने मान्यताले नेपाली कम्युनिष्ट आन्दोलनलाई लामो अवधिसम्म जकडेको थियो र सुधारका कामबाट जनताको जीवनस्तरलाई माथि उठाउने कुराबाट बञ्चित गरिएको थियो । तर जननेता यसको विपक्षमा हुनुभयो र क्रान्तिअघि पनि अत्यधिक प्रगतिशील सुधारका कार्यहरू गर्न सकिन्छ र यसबाट अगाडि बढ्न थप शक्ति आर्जन हुन्छ भन्दै विकास निर्माणमा सहभागी बन्दै जनतालाई राहत र सहुलियत दिन सदैव क्रियाशील बन्नु पर्दछ भन्ने मान्यता अघि सार्नुभयो । हुनत यस चिन्तनको बिजारोपण २०४३ सालमै तत्कालिन नेकपा (माले) त्यसबेला पनि जसको प्रभावशाली नेता जननेता हुनुहुन्थ्यो स्थानीय निकायदेखि सदनसम्म जनपक्षीय उम्मेद्वारहरूलाई निर्वाचनमा जिताउने र तानाशाही पञ्चायती व्यवस्थाको भण्डाफोर गर्दै विकासको पहलकदमी गरेर जनतालाई साथै लिएर हिँड्ने नीतिमा नै भएको थियो ।

जनतालाई सुखी र मुलुकलाई समृद्धिमा लैजाने कार्यमा कम्युनिष्ट पार्टीले आफ्ना प्रयासहरूमा कहिल्यै पनि विश्राम लिनु हुँदैन भन्ने मान्यता मुलुकमा विकास गर्न जननेताको ऐतिहासिक योगदान रहेको छ । केहीमात्रामा नै सहि जनतालाई सेवा र सुविधा दिन सकिन्छ भने त्यसतर्फ कम्युनिष्ट पार्टीले क्रान्तिअघि पनि ध्यान दिनु पर्दछ भन्ने मान्यतालाई उहाँले स्थापित गरिछाड्नु भयो । यसबाट जनताको बीचमा कम्युनिष्ट पार्टी लोकप्रिय बन्दै गयो, स्थानीय तथा आम चुनावहरूमा विजयी बनेर सामाजिक आर्थिक रूपान्तरण र लोककल्याणकारी कार्य गर्दै आफ्नो फैलावलाई टोलटोल र घरघरसम्म पु¥यायो ।

क्रान्ति सम्पन्न भएपछि यदि कुनै जमिन्दार क्रान्तिको पक्षमा हुन्छ भने हदबन्दी भन्दा बढि जमिनमा क्षतिपूर्ति दिनुपर्छ भन्ने दृष्टिकोण उहाँले अघि सार्नुभएको थियो । जडसूत्रवादी उग्रवामपन्थी परम्परागत सिद्धान्तबाट प्रभावित व्यक्तिहरू यस दृष्टिकोणको विरुद्धमा थिए । तर उहाँ कत्तिपनि आफ्नो मान्यताबाट विचलित हुनुभएन र मुलुकलाई वर्गीय शोषण उत्पीडनबाट मुक्त पार्नु पर्दछ भन्ने मान्यतामा अडिग रहनु भयो । कसैमा जबर्जस्ती अरुको विचार लाद्नु हँुदैन, सकेसम्म व्यक्ति र परिवारको खुसीमा ठेस पु¥याउँनु हुँदैन बरु पार्टीको सहि दृष्टिकोणलाई बुझाएर मात्रै विकासको अभियानमा जनतालाई सामेल गर्नु पर्दछ भन्ने जबजले अपनाएको अत्यन्त लोकतान्त्रिक दृष्टिकोण स्थापित गर्न जननेता सफल बन्नुभयो ।

पार्टीले जबजलाई अवलम्बन गरेपछि नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी मनमोहन अधिकारीको नेतृत्वमा २०५१ सालमा गठन भएको नेपालको पहिलो कम्युनिष्ट सरकारले विकास र स्वावलम्बनका लागि ‘आफ्नो गाउँ, आफै बनाऔँ’ भन्ने दृष्टिकोणलाई आत्मसात गर्दै पारदर्शीतासहित आ–आफ्नो स्थानबाट कार्यान्वयन गरेको थियो । यस कार्यक्रमले विकास प्रक्रियामा जनता परिचालित हुनैपर्दछ भन्ने मान्यतालाई स्थापित गर्न ठूलो मद्दत पु¥याएको थियो । लोककल्याणकारी कार्यक्रमले समाजलाई पार्टीप्रति आकर्षित गरी समृद्धि अभियानमा अगाडि बढ्न प्रभावकारी भूमिका निर्वाह गर्दोरहेछ भन्ने कुरा छर्लङ्ग पारेको थियो । विगतका यस्ता कार्यक्रमहरूबाट वर्तमानमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गरी समृद्ध समाज निर्माण गर्ने साझा लक्ष्य हासिल गर्न मार्गदर्शन र प्रेरणा मिलिरहेको छ ।

जबजलाई कुशलतापूर्वक कार्यान्वयन गर्ने भनेका कम्युनिष्ट पार्टीबाट जननिर्वाचित प्रतिनिधिहरू हुन् । सिद्धान्त व्यवहारमा नलगी त्यसको उपादेयता हुँदैन । सिद्धान्त ठिक हो कि बेठिक हो त्यो देखिने र पुष्टि हुने प्रयोगबाट नै हो । जबज बहुदलीयतामा रमाउने हो, हराउने सिद्धान्त होइन । दलीय प्रतिष्पर्धामा सामेल भएर अरु दलको सिद्धान्त र व्यवहार गलत हो त्यसैले सही सिद्धान्त अवलम्बन गर्न आव्हान र आग्रह गर्ने सिद्धान्त जबज हो । जबजका दूत र द्रष्टा भनेका इमान्दार र सक्रिय जनप्रतिनिधिहरू हुन् । राजनीतिक अवसर प्राप्त गरेर त्यसमा भुल्ने होइन बरु लोककल्याण र जनसेवामा लगाउँदै सहि सिद्धान्तप्रति जनताको विश्वास बढाएर त्यसको सुदृढीकरणमा योगदान गर्नु नै हो । साझा खुशी र हितका पक्षमा जनप्रतिनिधिहरू सधै तल्लीन बन्नु पर्दछ । कम्युनिष्टहरू एकपटक सत्तामा पुगेपछि पुनः जन परीक्षणमा जानु आवश्यक छैन भन्ने सर्वसत्तावादी सोच, चिन्तन र मान्यताका विरुद्ध जबज भएकाले जनप्रतिनिधिहरूको ध्येय नै जनसेवा गर्ने हुनु पर्दछ ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै विकासप्रतिको जनचाहना तीब्र बनेको हो । २०७४ साल फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकारद्वारा संविधानले तोकेको समयसीमाभित्र नागरिकका मौलिक हकको कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन तर्जूमा भइसकेको छ भने अन्य ऐनहरू समेत जारी भएका छन् । संविधानको प्रभावकारी कार्यान्वयन तथा लोकतन्त्रलाई सुदृढीकरण गर्दै सन्तुलित विकास, सामाजिक न्याय र न्यायोचित वितरणको मान्यतालाई कार्यान्वयन गर्न सरकार अग्रसर छ । समानतामा आधारित समाज व्यवस्था स्थापनार्थ सरकार अगाडि बढिरहेको छ । सरकार समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि विभिन्न आर्थिक नीति तथा योजना बनाएर त्यसको कार्यान्वयनमा दत्तचित्त बनेको छ ।

जबजले विकासप्रतिको जनताको सहभागिताको बारेमा अवलम्बन गरेको सोचलाई उजागर गर्न जननेताले तत्कालिन संसदमा गाउँ विकास समितिको व्यवस्था गर्न बनेको विधेयक–२०४८ मा संशोधन राख्नु हुँदा व्यक्त मन्तव्य स्मरण गर्नु सान्दर्भिक हुन्छ । त्यसबेला उहाँले स्थानीय निकायहरू भविष्यमा विस्तारै आफ्नो विकास, निर्माण र आफ्नो क्षेत्रका समस्याहरू हल गर्नका निम्ति आफै स्वावलम्बी हुन सकुन्, आफै निर्णायकढङ्गले जान सकुन् र आफ्नो ठाउँको बौद्धिक प्रतिभा, मानवीय श्रमशक्ति र अरु जे साधनस्रोत छ, त्यो साधनस्रोतलाई ठीकढङ्गगले प्रयोग गर्नसक्ने बनुन् भन्नका निम्ति स्थानीय निकायहरूलाई स्वायत्त शासनको निकायका रूपमा स्थापित गर्न चाहेको बताउनु भएको थियो । यसका निम्ति उहाँले संसदमा ठूलो संघर्ष समेत गर्नुभएको थियो । अहिले स्थानीय तहलाई जननिर्वाचित संविधान सभाद्वारा जारी संविधान र संघीय संसदबाट निर्मित कानूनले अधिकार सम्पन्न बनाएको परिवेशमा जननेताको त्यो दूरदृष्टिले साकार रूप लिएको कुरा बुझ्न सकिन्छ ।

अहिले नीजि, सहकारी, सामुदायिक क्षेत्रहरू समेत मुलुकलाई विकसित बनाउने अभियानमा जुटेका छन् । यो साझा र सामयिक राष्ट्रिय संकल्प साकार पार्न सम्बद्ध सबै पक्ष थप सक्रिय हुनु आजको विशिष्ट कार्यभार हो । विकासप्रति सम्पूर्ण देशवासीको आकांक्षा, मनोविज्ञान र साझेदार अन्तर्राष्ट्रिय समुदायको सहानुभूति विकास र लगानीमैत्रीका ठूला आधारहरू हुन् । यहाँको लगानीमैत्री नीति, संवैधानिक र कानुनी व्यवस्था तथा नेपाल सरकारको योजना तथा कार्यक्रम स्वदेशी तथा विदेशी लगानीका ठोस संरचना र आधारहरू हुन् । नेपालको संविधानले राज्यको नीति अन्तर्गत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने, अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्व दिँदै उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गरी आर्थिक समृद्धि हासिल गर्ने विषय समाविष्ट गरेको परिवेशमा सम्बद्ध सबै पक्षले ढुक्क भएर लगानी गर्न सक्ने अवस्था सिर्जना भएको हो ।

चीनसँग ‘हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल’ मार्फत नयाँ विकास साझेदारी निर्माण गर्न नेपाल सरकार सफल भएको छ । नेपालले चीनका ४ वटा समुद्री र ३ वटा सुख्खा बन्दरगाह उपयोग गर्न पाउने गरी पारवहन प्रोटोकलमा हस्ताक्षर गरेको छ । यसबाट दुईपक्षीय मात्र होइन बहुपक्षीय व्यापार प्रवद्र्धन गर्न र ढुवानी व्यवस्था सुदृढ तुल्याउन समेत ऐतिहासिक सफलता मिलेको छ । नेपाल सरकारले सडक बालबालिका मुक्त राष्ट्र बनाउने दिशामा उल्लेख्य प्रगति हासिल गर्दै यसको घोषणा गर्ने दिशामा अगाडि बढिरहेको छ । आधारभूत शिक्षालाई सर्वव्यापि बनाएर विद्यालय भर्ना र त्यसको अनुगमनलाई प्रभावकारी बनाउन प्रयास भइरहेको देखिन्छ । अनाथ बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिन सुरु गरिएको छ । सुधार गृहमा रहेका बालबालिकालाई सजाय मिनाहा दिँदै त्यहाँबाट बाहिर निकालेर पारिवारिक मिलन गराउने कार्यमा ध्यान दिइएको छ ।

प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योगग्राम विकास गर्न सरकार अग्रसर बनेको छ । निर्यातमूलक उद्योग स्थापनाको लागि विशेष आर्थिक क्षेत्र र अन्तर्देशीय आर्थिक क्षेत्र स्थापना एवं विकास गर्ने सरकारको प्रतिबद्धता रहेको छ । प्रत्येक स्थानीय तहमा खाद्यान्न, औषधि र अत्यावश्यकीय वस्तुको संकटकालिन मौज्दातको विशेष व्यवस्था गर्नका लागि शीतभण्डार र गोदामको व्यवस्था गर्ने सरकारी लक्ष्य रहेको छ । जबजको श्रेष्ठताले नै हिंसात्मक द्वन्द्वमा फसेको मुलुक र उग्रवापन्थी भासमा फसेको माओवादी आन्दोलनलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सफलता हासिल गरेको हो भन्ने कुरामा दुईमत हुन सक्दैन । जबजको सफल प्रयोग सँगै ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माण हुने र नेपाली विशेषताको समाजवाद निर्माण गर्ने लक्ष्य हासिल हुनेछ । मुलुकको विकास र आर्थिक समृद्धि तथा जनताको सुख र खुसी हासिल गर्न जबजले मार्गदर्शन गरिरहेको छ । जननेताले सिद्धान्त गतिशील हुन्छ भन्नुभएकाले जबज आफै गतिशील सिद्धान्त हो त्यसैले नेपाली क्रान्तिको व्यवहारका क्रममा यो विकसित र समृद्ध हुँदै जानेछ ।