२३ बैशाख २०८१, आईतवार 1714968280
Banner

जसपाबाट सरकारमा सहभागि भएका मन्त्री फिर्ता हुने, नयाँ मन्त्री छान्ने अधिकार उपेन्द्रलाई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार साँझ बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव समूहको बैठकले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बैठकमा उपेन्द्र पक्षका कार्यकारिणी सदस्यहरू मात्र सहभागि थिए। उक्त बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका पक्षका कुनै कार्यकारिणी सदस्यलाई बोलाइएको थिएन। बैठकले सरकारमा अब कसलाई मन्त्री बनाउने भन्ने अधिकार उपेन्द्रलाई दिने निर्णयसमेत गरेको छ । जसपामा पछिल्लो समय विवाद चरण उत्सर्गमा देखिएको छ । कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षका सदस्यको बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहितका नेताहरुलाई कारबाही गर्ने अधिकार पनि यादवलाई दिइएको छ। पछिल्लो समय जसपाका बाबुराम र उपेन्द्र गरी दुई गुटमा विभाजित भएको छ।

भट्टराई र यादवले पार्टी फुटाउन सांसद तथा कार्यकारिणी सदस्यहरुको हस्ताक्षर संकलन गरेको र निर्वाचन आयोगमा परामर्श समेत गरेको आरोप यादव पक्षले लगाएको छ । यसअघि एकीकृत समाजवादीले प्रेमबहादुर आलेलाई संस्कृतिमन्त्री, रामकुमार झाँक्रीलाई सहरी विकासमन्त्री, कृष्णकुमार श्रेष्ठलाई श्रममन्त्री र विरोध खतिवडालाई स्वास्थ्यमन्त्रीबाट हटाएर जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकासमन्त्री, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।