२०७९ भाद्र २ बिहीबार 1660839383
Banner

जबजका तीनदशकः बहुदलीय नयाँ जनवाददेखि सिद्धान्तसम्म

तत्कालीन नेकपा (माले) र पछि नेकपा (एमाले) का महासचिव, कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नवीनविचारक एवम् सिद्धान्तकार जननेता मदन भण्डारीको अगुवाईमा जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादित भएको थियो । यतिबेला यो विचार बहुदलीय नयाँजनवादबाट नेपालीक्रान्तिको कार्यक्रम, मार्गनिर्देशक विचार र सिद्धान्तको रूपमा विकसित भएको छ । यो विचारको रक्षा, प्रयोग र विकास गर्ने सन्दर्भमा यसबीचमा थुप्रै समृद्ध अनुभवहरू आर्जन भएका छन् । तत्कालीन नेकपा (माले) को वि.स. २०४६ मा सम्पन्न चौथो राष्ट्रियमहाधिवेशनले पार्टीले लिँदै आएको नयाँजनवादको कार्यक्रमलाई परिमार्जित गरी बहुदलीय नयाँजनवाद कार्यक्रमको रूपमा पारित ग¥यो ।

त्यसयता तत्कालीन नेकपा (एमाले) को वि. स. २०४९ सालमा आयोजना गरिएको पाँचौँ राष्ट्रियमहाधिवेशनले नेपालीक्रान्तिको कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादलाई स्वीकार ग¥यो । त्यसैगरी वि. स. २०५४, वि. स. २०५९, वि. स. २०६५ वि. स. २०७१ म क्रमशः छैठौँ, सातौँ र आठौँ राष्ट्रियमहाधिवेशनहरूले जबजलाई मार्गदर्शक विचार र सिद्धान्तको रूपमा स्वीकार गरिसकेका छन् । पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनले उक्त विचारलाई अघिल्ला महाधिवेशनहरूले सिद्धान्तकै रूपमा स्वीकार गरेको अवस्थामा यो विचारमार्फत ०६२÷६३ सालको जनक्रान्तिका उपलब्धिलाई संस्थागत गर्दै यही विचारमार्फत समाजवादमा सङ्क्रमण गर्न सकिने र समृद्ध समाजवाद निर्माण गर्दासम्म यसले मार्गनिर्देशन गर्नसक्ने निष्कर्ष निकाल्यो । जुन ज्यादै महत्वको विषय हो । जनताको बहुदलीय जनवादको रक्षा, प्रयोग र विकास गर्ने सन्दर्भमा यहाँसम्म आइपुग्दा यो विचार बहुदलीय नयाँ जनवादबाट शुरु हुँदै नेपाल क्रान्तिको सिद्धान्त बन्नेको छ ।

जबजको आलोकमा तत्कालीन नेकपा (माले)ले ०४६ सालको जनआन्दोलनमा सहभागी भई त्यसलाई सफल बनाउन निर्णायक भूमिका खेलेको थियो । आन्दोलनको सफलतासँगै संविधान निर्माणमा सहभागी भई संविधानलाई सक्दो जनपक्षीय बनाउन सफल भयो । संविधानमा जननेता मदन भण्डारीले विभिन्न २७ बंँदामा असहमति रहेको विषय उठाउनु भएको थियो । जननेता मदन भण्डारीका साेंच र विचारहरू महत्त्वपूर्ण थिए । जुन विचारहरू दोस्रो जनआन्दोलनका विषय बने र अन्त्यतः वर्तमान संविधानमा समेत सामेल भए ।

उक्त संविधानले राज्यले अवलम्वन गर्ने राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रणालीहरू समाजवाद—उन्मुख हुने भन्ने व्यवस्था गरेसँगै अब समाजवादतर्फको यात्रा स्पष्ट भएको छ । राजनीतिक अधिकारप्राप्तिको चरण आधारभूत रूपमा पूरा भएको अवस्था छ । अब आर्थिकक्रान्ति र समृद्धिको यात्रालाई पूरा गर्नुपर्ने अभिभारा कम्युनिष्ट क्रान्तिकारीको काँधमा आएको छ । समृद्धिको यो यात्रामार्फत जनताको जनवादी व्यवस्थाको सुदृढीकरण गर्न जरूरी छ । वर्तमान संविधानलाई कार्यान्वयन गर्दै मुलुकलाई समाजवादसम्म पु¥याउन सकिने अवस्था सिर्जना हुनु कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको सर्वथा महत्त्पूर्ण उपलब्धि हो । यो उपलब्धि जबजको आलोकमा प्राप्तभएको हो ।

यतिमात्र हैन संविधानमा राज्यका निर्देशक सिद्धान्त र नीतिहरू तथा अन्य विभिन्न प्रावधानमार्फत मुलुकको समाजवादतर्फका हाम्रा हरेक कदमहरूमा मार्गनिर्देशन गर्न सक्ने अवस्थामा रहेका छन् । राज्यले अवलम्वन गर्ने ऐन, कानुन, नीति, रणनीति र कार्यक्रमहरू पनि संविधानले मार्गनिर्देशन गरेअनुसार हुँदै जानेछन् । त्यसैगरी वर्तमान संविधानले राज्यले अवलम्वन गर्ने मार्गनिर्देशक सिद्धान्त तथा नीतिहरू तय गरेको छ । यी मार्गनिर्देशन र नीति समग्रतामा र विभिन्न क्षेत्रगत तथा विषयगत रहेका छन् । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा न्यायपूर्ण व्यवस्था अवलम्वन गर्ने, लोककल्याणकारी राज्यव्यवस्था निर्माणमा ध्यान दिने, समानुपातिक समावेशीकरण, स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको माध्यमबाट शासनव्यवस्था सञ्चालन गर्ने, राष्ट्रिय एकता र सुरक्षासम्बन्धी नीति, राजनीतिक तथा शासन व्यवस्थासम्बन्धी नीति, आर्थिक तथा सामाजिक रूपान्तरण सम्बन्धी नीति, अर्थ, उद्योग, सेवा, श्रम, रोजगार, वातावरण, पर्यटन, कृषिसमेत विभिन्न क्षेत्रगत तथा विषयगत नीतिहरू मार्फत राज्यलाई नीतिगत मार्गनिर्देशन गरेको छ ।

जबजले सिद्धान्तलाई जडको रूपमा हैन गतिको रूपमा बुझ्न सिकाएको छ । माक्र्सवादलाई आफ्नो मुलुकको वस्तुगत धरातलीय यथार्थमा बुझ्न, विश्लेषण र लागू गर्न सिकाएको छ । जननेताले सिद्धान्तका लागि जीवन हैन, जीवनका लागि सिद्धान्त भने जस्तै जीवनको आवश्यकता अनुसार सिद्धान्त प्रतिपादन गर्नु पर्ने विषयमा जोड दिइएको छ । जीवनका निम्ति आवश्यक नपर्ने, नहुने सिद्धान्त फेर्नु पर्दछ र जीवनका लागि आवश्यक पर्ने सिद्धान्तको प्रतिपादन गर्नु पर्दछ । जबजको प्रयोग र विकास गर्नेक्रममा यसको सारलाई राज्यसत्ता र रूप शासनप्रणालीको रूपमा बुझ्ने काम भएको छ । जबजको प्रयोगमार्फत जनताका मौलिक अधिकारहरूको प्रत्याभूति भएको अवस्था छ ।

कम्युनिष्ट आन्दोलनमा विगतमा प्रतिस्पर्धाविहीन राजनीति, संविधानविहीन राज्य र कानुन विहीन शासन सञ्चालनको अभ्यासलाई उल्टाई प्रतिस्पर्धात्मक राजनीति, संविधानको सर्वोच्चता र कानुन् िशासन सञ्चालनको अभ्यासलाई कार्यान्वयनमा ल्याएको छ । जनवादी व्यवस्थाको सुदृढीकरणका तीन चरणहरूको कार्यान्वयन गरेरमात्र जनसमर्थन सहित समाजवादमा सङ्क्रमण गर्ने स्पष्ट दृष्टिकोणको निर्माण भएको छ । जबजका कारण राजनीतिमा विचारको नेतृत्वदायी भूमिका स्थापित भएको छ । जसले कम्युनिस्ट आन्दोलनलाई जड सूत्रवादबाट मुक्त गरिदिएको छ ।

त्यसैगरी कम्युनिष्ट आन्दोलनमा एक दलीय अधिनायकवादको अन्त्य भएको छ । उत्पादक शक्तिको हितको पक्षपोषण र यसको पर्याप्त विकास र सशक्तीकरणमा जोड दिई समाजवादमा पु¥याउने सङ्कल्प जबजले गरेको छ । जननेताले भने जस्तै मुलुकको मूलधारको कम्युनिस्ट आन्दोलन शास्त्र र सूत्रका निम्ति जीवनको बलिदान दिने होईन, जीवनका निम्ति सूत्र र शास्त्रको रचना गर्ने पार्टीको रूपमा विकसित भएको छ ।

जबज प्रयोग गर्दै यहाँसम्म आईपुग्दा कम्युनिष्ट आन्दोलनले समानता र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक प्रणालीमा जोड दिन पुगेको छ । परम्परागत कम्युनिष्ट पार्टीहरू समानता र सामाजिक न्यायका पक्षमा मात्र केन्द्रित हुन्थ्ये । अर्कोतर्फ पुँजीवादी पक्षधरहरू बुर्जुवा प्रजातन्त्रमा । तर, जबजको प्रयोगमार्फत तत्कालीन नेकपा (एमाले) ले यी दबैैलाई आत्मसात गरी परम्परागत लोकतान्त्रिक मूल्यमान्यतामा आधारित पूर्ण लोकतन्त्र र सामाजिक न्याय र समानताका नीतिहरू अंगिकार गरिरहेको छ । “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाँक्षा पूरा गर्न लागिरहेको छ ।

कम्युनिष्ट पार्टीहरूले विगतमा र कतिपय देशहरूमा हाल पनि एकतन्त्रीय गणतन्त्रको अभ्यास गरिरहको परिस्थिति थियो र छ । संसदीय राजनीतिमा सहभागी भएका कम्युनिष्टहरूले परम्परागत बुर्जुवा गणतन्त्रकै सेरोफेरोमा रूपलिएका छन् । नेपालमा अपनाइएको र अवलम्वन गर्न खोजेको गणतन्त्र परम्परागत लोकतान्त्रिक मूल्यमान्यतामा आधारित लोकतान्त्रिक गणतन्त्र हो । जनताको बहुदलीय जनवादले जनताको प्रतिष्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीमा विश्वास गर्ने भएकोले यसलाई आत्मसात गर्दै गणतन्त्रको यो प्रणालीमा विश्वास गरेको हो । जबजको प्रादुर्भाव हुँदा मुलुक एकतन्त्रीय निरङ्कुश राजतन्त्रको छत्रछायाँमा पञ्चायतीव्यवस्था कायम थियो । त्यसयताका करिब तीनदशकमा गणतन्त्र स्थापना र यसको स्वरूप निर्धारणमा जबजले मार्गदर्शन गरेको छ ।

नेकपा एमाले)ले जनताको बहुदलीय जनवाद अवलम्वन गरेपश्चात मुलुकमा दुई ठूला जनआन्दोलनहरू सम्पन्न भए । यी दुबै आन्दोलनहरू शान्तिपूर्ण ढङ्गले सञ्चालित थिए । ०४६ सालको जनआन्दोलनमा एउटा कार्यनीतिक सम्झौताको रूपमा संवैधानिक राजतन्त्रलाई स्वीकार गरिएको अवस्था थियो । तर त्यो राजतन्त्रकै महत्वकांक्षाले शान्तिपूर्ण ‘कु’ को माध्यमबाट भङ्ग भयो । परिणाम दोस्रोजनआन्दोलनको प्रादुर्भाव भयो । राजतन्त्रका विरूद्धमा युगान्तकारी शान्तिपूर्ण आन्दोलन भयो । यसले राजतन्त्रको अन्त्य गरी मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना ग¥यो । यही आन्दोलनकाक्रममा सशस्त्र सङ्घर्ष गरिरहेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र आन्दोलनरत दलहरूबीच १२ बुंदे सहमति भई जनआन्दोलनलाई सफलतामा प¥याउने काम भएको थियो । यही जनआन्दोलनमार्फत तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिको मूलप्रवाहमा ल्याउन सफल भएको अवस्था थियो ।

त्यसैगरी यस्तै प्रकृतिका सशस्त्र संघर्षमा लागेका अन्य पार्टीहरुलाई पनि जबजको मान्यता शान्तिपूर्ण आन्दोलनबाट समाजको रूपान्तरण सम्भव छ भन्ने कुराको बोध भएको छ । यस हिसाबले यी आन्दोलनहरूमा जबजको वैैचारिक नेतृत्व थियो । त्यसैगरी कम्युनिष्ट आन्दोलनमा रहेको उग्रवामपन्थी विचार जसले क्रान्ति भन्नु नै सशस्त्र युद्धद्वारा राज्यसत्ता कब्जा गरी सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नु हो भन्ने मान्यता राख्छ उक्त प्रवृतिलाई पनि कमजोर बनाएको छ । जनताको बहुदलीय जनवादले मुलुकको कम्युनिष्ट आन्दोलनलाई हिंसात्मक राजनीतिबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गराएको छ ।

जबजले समाजका सबै पक्षहरूको लोकतान्त्रीकरणमा जोड दिन्छ । यसले नेतृत्व पहलकदमीबाट स्थापना गर्ने विचार अगाडि सारेको छ । राज्यसत्ताको नेतृत्व गर्दा पनि निर्वाचनमा प्रतिष्पर्धा र पहलकदमीको माध्यमबाट जनताको मन जितेर मात्र विजय हाँसिल गर्न सकिन्छ भन्ने मान्यतामा आधारित छ । पार्टी जीवनको लोकतान्त्रीकरणको सार भनेको पार्टीमा आमसदस्यहरूको सार्वभौतिकताको स्थापना हुनु हो । पार्टी नीतिनिर्माण र निर्णय प्रक्रियामा पार्टी सदस्यहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चिता हो । पार्टी कार्यकर्ताहरूको स्वेच्छिक चयनका आधारमा नेतृत्वको निर्माण हुनु हो । पार्टीभित्र हुने राजनीतिक, सैद्धान्तिक र नीतिगत बहसमा नेता कार्यकर्ताहरूले आफूलाई लागेको विषयमा स्वतन्त्रतापूर्वक विचार दिने विषयमा कुनै बन्देज नहुनु हो । अर्थात विचारकै आधारमा कसैलाई विभेद नहुने विषयको प्रत्याभूति हो । जबजमार्फत कम्युनिष्ट पार्टी एकदलीय व्यवस्थाको अन्त्य गर्दै बहुदलीय व्यवस्था र बहुलवाद लागू गर्न पुगेको छ । यस्तो पार्टी सैनिक वा राजकीय पार्टी हैन, जनपार्टी निर्माण गरिनुपर्ने विषयमा जोड दिईएको मात्र हैन यसलाई आत्मसाथ पनि गरिएको छ ।

जबजका विभिन्न विशेषताहरूमध्ये कम्युनिष्ट पार्टीमा नीति निर्धारण गर्दा र नेतृत्व निर्माणमा कार्यकर्ताको भूमिका महत्वपूर्ण रहेको छ । यसक्रममा नेकपा (एमाले)का सबै राष्ट्रिय महाधिवेशनमा यो अभ्यास गरिएको छ । यो प्रक्रियाले पार्टीलाई वैचारिक सङ्गठनात्मक हिसाबले उन्नत र विकसित बनाएको छ । चाहे कम्युनिष्ट पार्टी होस् वा अन्य बुर्जुवापार्टी नै किन नहुन जसले जनताको सेवा निष्ठापूर्वक गर्दछ त्यसैले निर्वाचनमा विजय हाँसिल गर्दछ भन्ने मान्यताका आधारमा जबजले जनसेवालाई आत्मसाथ गर्दछ । अझ आजको दुनियाँमा जनताको चेतनास्तर अत्यन्त उन्नत अवस्थामा रहेको र नेपालको सन्दर्भमा उनीहरूको राजनीतिमा देखिएको सक्रियताको कसीमा कम्युनिष्ट आन्दोलनले पटक–पटक परीक्षित हुन अतिआवश्यक छ । यी काम पार्टी, राज्य र समाजको लोकतान्त्रीकरणको प्रक्रियामार्फत पूरा गर्न सकिन्छ ।

विगतमा जबजप्रति असहमत कम्युनिष्ट आन्दोलनका कतिपय नेता–कार्यकर्ताहरू समयक्रममा यसको सच्चाईलाई आत्मसात गर्नुभएको छ । सबै कम्युनिष्ट क्रान्तिकारीहरू यो विचारको पक्षमा उभ्याउनु आजको आवश्यकता हो । यो विचार र सिद्धान्तले मुलुकको कम्युनिष्ट आन्दोलनलाई यो उचाईमा पु¥याएको छ, कम्युनिष्ट आन्दोलनले अनेक उपलब्धि र सफलताहरू प्राप्त गरेको छ । यो विचारलाई सर्वस्वीकार्य सिद्धान्तको रूपमा लिई यसलाई अझ उन्नत, विकसित र सुदृढ बनाउनु आजको आवश्यकता हो ।

जबज प्रतिपादनपश्चात अत्यन्त छोटो समयमा जननेता मदन भण्डारीको रहस्यमय ढङ्गबाट हत्या भयो । उहाँले जबजको मूलपक्ष कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिको प्रवाहमा ल्याउनु भयो । जबजमार्फत तीन चरणमा जनताको जनवादी व्यवस्थाको सुदृढीकरण गरेर समाजवादमा सङ्क्रमण र समृद्ध समाजवाद निर्माण गर्ने सम्वन्धमा व्याख्या विश्लेषणहरू छन् । तर कतिपय विषयहरूप्रति जननेताले सङ्केतमात्र गर्नुभएको थियो । आज हामीले तिनलाई आजको परिवेशमा बुझ्न जरूरी छ । अर्थात जबजका सबैपक्षमा विषद् व्याख्या गर्न जननेताले भ्याउनु भएन । उहाँले जबजको आरम्भमात्र गर्नुभएको थियो । यसको कार्यदिशा निर्धारण गर्नुभएको थियो । तर विगत तीनदशकमा मुलुकभित्र र बाहिर परिस्थितिमा व्यापक फेरबदल आएको छ । यसलाई समयक्रमसँगै विकसित राष्ट्रिय/अन्तराष्ट्रिय परिवेशमा थप व्याख्या, विश्लेषण र प्रयोगमा जोड दिन जरूरी छ ।
हाम्रो पार्टीपंक्तिभित्र वैचारिक राजनीतिक प्रशिक्षणमा कमजोरीहरू देखिन्छन् । विचार, सिद्धान्त, दर्शन, राजनीति र दैन्नदिन घटेका घटनाहरूको गहिरो अध्ययन नगरी प्रतिक्रियामुखी हुने प्रवृत्ति देखिन्छ । यस्ता विषयमा एक त अध्ययन नै नगर्ने गरेपनि सतही अध्ययनको आधारमा कुनै विषयप्रतिको धारणा बनाउने प्रवृत्ति देखिन्छ । त्यसैगरी सिद्धान्त र व्यवहारमा तालमेल हुनुपर्दछ । कम्युनिष्ट पार्टीभित्र वर्गीय पक्षधरता कमजोर हुँदै गएको छ । कम्युनिष्ट पार्टीलाई आम सर्वहारा श्रमजीवी वर्गको पार्टीको रूपमा विकास गर्न जरूरी छ । त्यसैले पार्टीभित्र नीति निर्माणमा र निर्णय गर्ने थलोमा श्रमिक, किसान र सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व र सहभागितमा सुनिश्चित गर्न जरूरी छ । जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन ।