२१ बैशाख २०८१, शुक्रबार 1714784668
Banner

मदन भण्डारीको सपना र एमालेको जपना

जननेता मदन भण्डारीले अवसर पाएर पनि इमान्दार हुनुपर्छ भन्नुभयो तर एमालेका मन्त्री, माननीय र पार्टी र सरकारबाट विभिन्न पदमा नियुक्त नेता, कार्यकर्ता र बुद्धिजीवीहरु नै आर्थिक भौतिक तथा नैतिक अनियमिततामा जानीजानी पनि मुछिन्छन् । इमान्दार पनि नभएका चाहिँ होइनन् । ओली नेतृत्वले पार्टीलाई पुरानै लयमा फर्काउन खोज्नु भएको देखिन्छ । तर कतिपय मन्त्री र माननीय आफ्नो बानी को छाड्छ भनेझैँ अटेरीपारा गरिरहेको देखिन्छ ।

मदन कमरेड तपाईँले जनताको मन जितेर राजनीति र राजकीय नेतृत्व हासिलगर्नुपर्छ भन्नुभयो । तपाईँले आर्थिक, भौतिक, नैतिक,विकास निर्माण,जनराहत तथा जनमैत्री भावनाका साथ मन जित्ने कुरा गर्नु भएको हो तर एमालेका अधिकांश नेताका उक्त बेहोराका अभावमा नै पार्टीलाई अलोकप्रिय बनाउन पर्याप्त भएको छ । तपाईको राप,ताप र प्रताप रहेसम्म अन्य पार्टीका तुलनामा एमाले ठीकै भए पनि पछि भाइकांग्रेस सरह भएको छ । तपाईँको शिक्षा त परको कुरा भयो । पार्टी अध्यक्ष ओलीकै शिक्षा लिन अधिकांश नेता सकिरहेका छैनन् ।

ओलीले केही दिन अघि मोरङ पार्टीले विराटनगरमा आयोजना गरेको वृहत् सभामा समेत नेता र कार्यकर्तालाई असल सोमत र संस्कार बारे गम्भीर शिक्षात्मक प्रवचन दिनु भयो । उहाँले बारबार संस्कृतको एक श्लोक उधृत गर्दै मित्रलाई मित्रको आँखाले हेर्नुपर्छ भन्नु हुन्छ । उहाँले शत्रुका लात सहने तर मित्रका बात पनि नसहने उग्र अराजक खालको कम्युनिस्ट नामधारी जुनसुकै नेतालाई अर्तीबुद्धि गरिरहनु हुन्छ तर अधिकांश एमाले नेताको ध्यान कमाउ,जमाउ, खूव खाउ र मोज मनाउका लागि अपहत्ते गर्ने भएकाले उपर्युक्त खालका असल सन्देश सुन्ने र मनन गर्ने तिनलाई फुर्सदै छैन । ओलीले नै एक कार्यक्रममा हामी कति भलाद्मी भनेर आम नेता र कार्यकर्तालाई नरम व्यङ्ग्य गर्नु भयो । उहाँले एमालेलाई समूल समाप्त पार्ने गुरु योजनाका नानाओली फतुर फलाकी रहँदा प्रतिवाद नगरी मौन बस्ने प्रवृत्तिलाई औँल्याउनु भएको हो । ओलीले संसद् विघटन गर्न वाध्य भएको नदेख्ने तर परमादेशी वा टीके सरकार बनाएको गम्भीर षडयन्त्रपूर्ण अन्तर्य नबुझ्ने उपल्ला तहका नेतालाई ओलीले बारबार सम्झाउनु परेको देख्दा अचम्म लाग्छ ।

ओली सरकारले भारतीय नाकाबन्दी विरुद्ध चट्टानी अडान लिँदा र चीनसित पारवहन तथा वाणिज्य सन्धि गर्दा र देश तथा जनताको बहुआयामिक उत्थान र विकास गरेको देखेर देशी विदेशी प्रतिक्रियावादीहरु मुर्छा परेको देखीदेखी एमाले नेताले यति सामान्य कुरा नबुझ्नु अचम्मकै बात हो । पहिलो पटक नै माकुनेको साथ लिएर प्रचण्डले छापामार शैलीमा ओलीलाई प्रमबाट अपदस्थ गरेको देख्नेले प्रचण्ड गोटी बनेर लागेको स्पष्ट हुन्छ । पुष्पकमल दाहालले जुन फतुर आरोप ओलीलाई लगाएका थिए । तिनै आरापेमा टेकेर प्रधानमन्त्री भएर दाहालले ओलीको राजनीतिक जीवनमा कृत्रिम नै भए पनि गम्भीर धक्का पार्न खोजेको देखिन्छ । एमालेको प्रचार सामग्री,मिडिया वा पत्रिका आम जनता हुन् । पार्टीले देशव्यापी अभियान सुरु गरे मात्र भ्रान्तिपुरका सबै भ्रम समाप्त पार्न सकिन्छ । सामाजिक सञ्जाललाई चेतना विस्तार गर्ने विषयमा तमाम कार्यकर्ता लाग्ने हो सयथुकी नदीझैँ तमाम भ्रम र फरेबहरु सजिलै मिल्काउन सकिन्छ । यो विषय पार्टीको निर्णय अनुसार लागु गर्नुपर्छ । भारतका विरुद्ध कहिल्यै केही पनि नगर्ने लिखित सर्त गर्ने पुष्पकमल दाहाल नेपालका विरुद्ध जे पनि गर्न सक्छन् भन्ने बुझीबुझी पनि नबुझ्ने घनश्याम भुसालहरुको नियत बुझिन्छ ।

आखिर भारतले नेपाली नागरिकको हत्या गर्दा र देशको सीमामा अतिक्रमण गर्दा ,चुच्चे नक्सा बुच्चे पार्ने परमादेशी वा टिके सरकारको देश,जनता र जनजीविका विरुद्धका गतिविधि सबका सामु छर्लङ्ग भएको छ । त्यसैले यस्ता दुष्प्रवृत्ति विरुद्ध दृढ रुपमा प्रतिवाद गर्नेपर्छ । मदनले पनि जस्तालाई त्यस्तै गर्नुपर्छ भन्नु भएकै हो । तर एमाले अधिकांश नेता ब्वाइलरजस्ता छन् । पार्टी र अमुक प्रमुख नेताको आदेशमा मात्र चल्ने र चटपटाउने समस्याबाट ती नेता र कार्यकर्ता पीडित छन् । धेरैजसो नेतालाई विरोधी वा विपक्षका कुविचारलाई कलात्मक रुपमा प्रतिवाद गर्न पनि आउँदैन । सभामा उपस्थित श्रोता र सहभागीको अवस्था हेरी धेरैलाई बोल्न पनि आउँदैन । भाषण गर्न पनि ज्ञान र गुदी चाहिन्छ । त्यसै कहाँ बोल्न सकिन्छ र ? ओली रातरात भर पढ्नु हुन्छ र कुनै पनि विषय वस्तु तथा घटनालाई सूक्ष्म रुपमा तथा सिर्जनात्मक रुपमा नियाल्नु हुन्छ र न परिस्थिति अनुसार विपक्षीलाई समेत हँसाइहँसाइ रोचक घोचक, प्रभावशाली तथा मर्मान्तक अभिव्यक्ति दिनुहुन्छ । सामान्य स्तरका महिलाबहुल भेलामा दर्शन छाटेर तीन तमास गर्ने नेता पनि देखियो । तर त्यही भेलामा महिला राष्ट्रपति विरुद्धका तथानाम गर्ने गठबन्धनको टीके सरकार र तिनका मतियारलाई राम्ररी छाँस्दा आम महिलाहरु प्रभावित हुन्थे जिल्लाभरि त्यसको चर्चा हुन्थ्यो । एउटा नेताले बोलेको कुरा तीनसम्म पनि चिया पसलमा चर्चामा रहेन के अर्थ ? प्रभावशाली नेताका जुनसुकै भाषणले समाजमा महत्वपूर्ण सन्देश दिनसक्नु पर्छ । माक्र्स,लेनिन,माओ र मदन भण्डारी बोल्दा श्रोता तथा पाठकमा उर्जा थपिन्थ्यो । उहाँहरुका बोली र वचनमा माक्र्सवादी सार र सूत्र जनभाषामा प्रकट हुन्थ्यो । उहाँहरु आवश्यकता अनुसार जोसिलो, रसिलो, कसिलो, रासिलो, तापिलो मन्तव्य दिनु हुन्थ्यो ।

प्रायः एमाले नेताले फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा कुनै किताव,पत्र, पत्रिका लगायत कुनै ज्ञानगुन सामग्री र सूक्ति सेयर गरेको यस लेखकले देखे सुनेको छैन । प्यारीसित गाला जोडेका,े जन्मउत्सव मनाएको,. कार्यक्रममा मन्चासीन मात्र भएका,े सभामा मुख देखाएको, शुभकामना दिनेलाई बधाइ ज्ञापन गरेको नै अधिकांश नेताको बौद्धिक र वैचारिक क्रियाकलाप हो । धेरै जसो नेताले फेसबुकमा सतही टीकटिप्पणीलाई नै मेरो महान् लेख भनेझैँ गरेको देख्दा यस लेखकलाई भारी सरम हुन्छ । मानौँ ती नेता कहिल्यै कुनै किताव पढ्दैनन् । पढेको भए तिनका भाषणमा केही न केही गुदी कुरा आउँथ्यो होला । माक्र्सवाद,लेनिनवाद,माओवाद र जबज जप्ने र यसैसित सम्बन्धित राजनीतिक प्राविधिक शब्दावली मात्र बारबार पुनरुक्ति गर्ने बाहेक सिर्जनात्मक भाषण प्रायः नेता गर्दैनन् ।

जुनसुकै विषय,क्षेत्र र विधाका कार्यक्रममा समेत तिनै प्राविधिक शब्दावली बाहेक सिर्जनात्मक रुपमा बोल्ने भाँती पनि कमैमा पाइन्छ । यस खालको बानी र बेहोरा तलतलसम्म फैलिएको छ । माथिबाट आएको पानी र बानीका कारण पार्टी औपचारिकतामा सीमित हुन पुगेको छ । मात्रात्मक रुपमा पार्र्टी फैलिँदो छ तर गुणात्मक अवस्था अत्यन्त दयनीय देखिन्छ । पार्टीमा सैद्धान्तिक वैचारिक तथा अझ सांगठानिक सुदृढीकरणमा पार्टी अध्यक्षले नै विशेष ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ । धेरैजसो नेताको सैद्धान्तिक वैचारिक स्तर खस्कँदो देखिन्छ ।

एमाले पार्टी नाक,नश्ल,जात,जाति,धर्म,भूगोलका आधारमा मात्र होइन थर,गोत्र र सम्प्रदायका आधारमा विभाजित हुन थालेको देखिन्छ ।

एकताका मदन भण्डारीका सहकर्मी कमरेड कहलिएका प्रदीप नेपाल समेत नेपाल दाजु पार्टीमा आँखामा पट्टि लगाएर गए । यसपछि तिनको बेहोराप्रति मलाई दया लागेर आयो । तीनपुस्तादेखि उच्च शिक्षित संस्कारयुक्त परिवारबाट निर्मित लामो समय कम्युनिस्ट आन्दोलनमा लागेको ख्याति कमाएको ब्राम्हण भइसकेको एउटा नेपाल बाहुन रछयानमा रमायो भने अरुहरु कतिखेर कहाँ जान्छन् केही भन्न सकिएन । त्यसैले पार्टीलाई धम्क्याइ, घुक्र्याइ, नाक बजाइ, नश्ल देखाई बारबार पार्टी र सरकारमा जान मरिहत्ते गर्ने नेता अभर परेका बेला कुनै भरका हुँदैनन् । जता नाकमुख बजाएर खान पाइन्छ ती त्यहीँ जान्छन् । प्रदीप नेपाल ओलीले कुनै पनि पद नदिएर वैराग्गिएको बताउँथे । तीन तीन महिने मन्त्री खान जाने नेपाल र न्यौपानेको हालत अहिले देखिँदैछ । तैपनि कुनै पनि नेता अझै पनि सप्रिएर आउँछन् र भोलिका दिनमा एउटा सम्मानित जीवन बाँच्न चाहन्छन् भनेँ मरेमाथि कात्रो गर्नुपर्छ भन्नेमा यो लेखक सहमत छैन । माधव नेपाल वा बामदेव गौतम वा अरुहरु मति सुधारेर आउँदा र ल्याउँदा हुन्छ ।

तीनवटा लालबाला छोडेर पोइल वा जोइल भएका पत्नी वा पतिलाई फर्काएर घरबार अरु ध्वस्त हुन नदिएका उदाहरण समाजमा पाइन्छन् । पार्टी भनेकै पनि घरबार जस्तै त हो ।

मदन कमरेड तपाई योग्य मध्ये योग्यतम नेतृत्व निर्माण गर्ने काममा लागि पर्नु भयो । तर तपाईँ पछिको नेतृत्वले योग्य नेतृत्व निर्माण गर्नै चाहेन । बल्ल ओलीले नवौँ महाधिवेशन पश्चात् मदनकै लयमा पार्टी परिचालन गर्न थाल्नु भयो । यसले पार्टीका सुकेलुताहरु चिलबिलाउन थालेका हुन् । लामो समय गलत संस्कार शैलीमा बानी परेका नेताहरु त्यही बानीमा रमाउने स्थिति बनेको देखियो । ओलीले चन्द्रमाले झैँ नेता र कार्यकर्तालाई अब सम्झाएर हुँदैन । उहाँले घामलेझैँ अवस्था अनुसार तापिलो, रापिलो र आवश्यक पर्दा डँडेल्नो पोल्ने गरी सम्झाउनुपर्छ । मदनले सुकला भएँ भन्ने नेतालाई खरो रुपमा अर्जापेको यस लेखकलाई थाहा छ तर अनेक संस्कार र स्वभावका नेताहरुलाई अलग अलग तरिकाले एकान्तमा भए पनि घैँटामा घाम लाग्ने गरी सम्झाउनु पर्छ ।

एमाले पार्टीका नेताहरु नै फेरिएको परिस्थिति अनुसार आफूलाई बदल्न सकिरहेको देखिन्न । अधिकांश नेतामा अझै ठालुपन अनुभूत हुन्छ । अझ लेखक,कवि,स्रष्टा,कलाकार र बुद्धिजीवीलाई अधिकांश नेताले गर्ने गरेको अनुचित व्यवहार बारे यही लेखकको तीतो अनुभूति छ । तिनले गरेको हेपाहा व्यवहारप्रति यस लेखकले धेरै ठाउँमा एकान्तमा प्रतिवाद गरेको छ । केही दिनअघि प्रदेश नं. १ का वरिष्ठ पार्टी नेतासित प्रतिवाद गर्न बाध्य हुनुप¥यो । प्रहरीले मुस्कान सेवा सुरु गरेको छ तर अधिकांश नेता ठस्कान सेवामै रमाइरहेका छन् । मदन भण्डारीले जबजमा प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गर्नु भएको छ । तर नेताका कमजोरी सुझाव स्वरुप उल्लेख गर्दा नेताले सातजुनि लखेट्न सक्छ । आलोचना ओखती हो भन्ने माओको उक्ति कण्ठ पार्नेहरु नै सदा आफ्नो आरती उतारु कार्यकर्ताकै खोजीमा रमाउँछन् । भण्डारीले जबजमार्फत् माक्र्सवादको पुनः सृजन गर्नु भयो ।

जननेता मदन भण्डारीले राजनीति र राजकीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धाको विषयलाई स्थापित गर्नुभयो । आवधिक निर्वाचनबाट जनताको मत र मनबाट निर्वाचनमा जित हासिल गर्दा मात्र सरकार र सत्ताको स्थायित्व हुनसक्छ । एकपटक सरकार र सत्तामा गएपछि जनताको भावना नबुझी जोरजवर्जस्ती सत्तामा टाँसिइरहने कुरा जाती होइन यही जबजको सौन्दर्य हो ।

कार्यनीतिक रुपमा भिन्न भएका कम्युनिस्ट पार्टीका बीच पनि स्वस्थ्य प्रतिस्पर्धालाई मदनले स्वीकार र समर्थन गर्नु भएको छ । जबजले वर्गसंघर्षलाई आत्मसात् गरे पनि यसलाई रहर र लहडको विषय बनाएको छैन । माओले भनेझैँ सिद्धान्त सही भएर पनि त्यस अनुसार पार्टीलाई सञ्चालन गर्न सकिएन भने सिद्धान्तको दोष हुँदैन । सिद्धान्तलाई सिरानी लगाएर मात्र हुँदैन । मदन कमरेड तपाईँले समाजको गुणात्मक रुपान्तरण गर्ने ध्येय राख्नु भएकाने थियो तर धेरैजसो नेताहरुलाई यस सम्बन्धमा खासै जानकारी पनि छैन चासो पनि छैन । त्यसैले राजसा महासंघ,नेपाल र यससित सम्बन्धित कलाकार र नेतालाई पार्टीले र आफ्नै नेतृत्वको सरकारले खासै वास्ता गर्दैन । त्यसैले कमरेड अब यस भन्दा तल नझर्ने गरी बेलैमा जबज अनुसार पार्टीलाई सतही रुपमा मात्र होइन वैचारिक,सैद्धान्तिक र व्यावहारिक रुपमा अगाडि बढाउन अपरिहार्य देखिन्छ । जबज अनुसार पार्टीलाई सबल,सक्षम तथा सबै हिसावले प्रभावशाली बनाउन नसकिने होइन । किनकि असंम्भव केही छैन । एउटा मानिस प्रहरीको तालिममा पर्दा उसको शरीर सखुवाको काठ सरह सबल हुन्छ भने सेनाको तालिममा पर्दा उही मानिसको ज्यान फलाम सरह प्रबल हुन्छ ।